कांग्रेसमा नेतात्रयको अवधारणा धान्लान् त पुत्रत्रयले ? – Nepal Press

कांग्रेसमा नेतात्रयको अवधारणा धान्लान् त पुत्रत्रयले ?

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामूहिक नेतृत्वलाई कुनैबेला कांग्रेसमा नेतात्रयका रुपमा चिनिन्थ्यो । नेतात्रयको अवधारणा कुनै मूर्त विषय नभएपनि कांग्रेसको आन्तरिक राजनीतिमा यसको महत्व बेग्लै छ । वीपीको निधनपश्चात गिरिजाप्रसाद कोइरालाले उनको स्थान लिएको र कांग्रेस पुनः नेतात्रयकै अवधारणमा अगाडि बढेको देखिन्छ ।

२०४६ सालको जनआन्दोलनबाट संसदीय लोकतन्त्र पुनःस्थापित भएपछि कांग्रेसमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यलाई नेतात्रयको उपमा दिन थालियो । कांग्रेसवृत्तमा आरएसएस भनिने नेतात्रयको उपमाभित्र नअटेका सुशील कोइराला चाहिँ शैलजाको निष्क्रियतापछि आरएसएसमा भित्रिएका थिए । यद्यपि राजनीतिक रुपमा रामचन्द्र र शेरबहादुरलाई सुशीलले पहिल्यै उछिने ।

सुशीलको निधनपश्चात कांग्रेसमा नेतात्रयको अवधारणा हरायो । महाधिवेशनमा प्रतिस्पर्धा त्रिपक्षीय भए पनि कांग्रेसको आन्तरिक राजनीतिमा संस्थापनको नेतृत्व देउवा र विपक्षीको नेतृत्व पौडेलले नै गरे । विगतदेखि चर्चा हुँदै आएको नेतात्रयको अवधारणा फेरी कांग्रेसमा बहसको विषय बनेको छ । वीपी, गणेशमान र महेन्द्रनारायण निधिका पुत्रत्रय राजनीतिक सहकार्यका लागि अग्रसर भएपछि कांग्रेसमा फेरी नेतात्रयको अवधारणाबारे चर्चा सुरु भएको छ ।

एक ठाउँ उभिने आधार

२०१५ सालको आम निर्वाचनपश्चात वीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बने भने सोही सरकारमा गणेशमान सिंह निर्माण तथा यातायात मन्त्री बने । त्यति नै बेला संसदको उपसभामुख थिए महेन्द्रनारायण निधि । उनै कोइरालाका पुत्र डा.शशांक कोइराला, सिंहका पुत्र प्रकाशमान सिंह र निधिका पुत्र विमलेन्द्र निधि यतिबेला नयाँ समीकरणको तयारीमा छन् । कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदमा दावेदारी घोषणा गरेर यी तीन नेताबीच बढ्दो घनिष्ठताले नै नेतात्रयको अवधारणा बहसमा आएको हो ।

सोमबार निधि निवासमा भेला भएर औपचारिक संवाद थालेका तीन नेता शुक्रबार कोइराला निवासमा जम्मा भए । आसन्न महाधिवेशनमा साझा एजेण्डा र उम्मेदवार बनाउन आफूहरु सक्रिय हुने तीनै जनाको भनाई छ । तीनमध्ये को अगाडि बढ्ने भन्नेमा सहमति नबनेको भएपनि महाधिवेशनसम्म एकतावद्ध भएर जाने तीनै नेताको दावी छ ।

शुक्रबार एकसाथ पत्रकार सम्मेलनमा प्रस्तुत भएका उनीहरुले पार्टीको नेतृत्वबारे साझा धारणा बनाउने र त्यसमा अन्य नेताहरुलाई पनि सहमत गराउने बताए ।

‘पार्टीलाई एकतावद्ध बनाउन र कार्यकर्तामा सकारात्मक सन्देश दिन हामीले संवादको थालनी गरेका छौं । यसमा सबैलाई समेटेर जान्छौं,’ महामन्त्री कोइरालाले भने ।

आफूहरुबीच भएको संवादले पार्टीभित्र उत्साह सञ्चार गरेको तीन नेताको बुझाई छ ।

‘अस्ति हामी पहिलोपटक छलफलमा बसेपछि देशभरका धेरै साथीहरुले तपाईहरुको एकता कांग्रेसको हितमा हुन्छ भनेर उत्साहित बनाउनुभएको छ । पार्टीलाई सकारात्मक दिशामा लैजान हाम्रो सामुहिक प्रयत्न रहन्छ’, पूर्व महामन्त्री सिंहको भनाई छ ।

आफ्नो ५ दशक लामो राजनीतिका दौरान सभापति देउवाको मुख्य राजनीतिक सहयोगी रहेका उपसभापति निधि यसपटक आफै सभापति लड्ने तयारीमा छन् । देउवाको सहयोग निश्चित नभएपछि सिंह र कोइरालासँग नियमित संवादमा रहेका निधि आफूहरु महाधिवेशनमा एकै ठाउँ उभिने बताउँछन् ।

‘हामी अलग-अलग गुटमा थियौं । अलग गुटमा भएका मान्छे एकै ठाउँमा आउने भनेको गुट तोड्नकै लागि हो । हामी विद्यमान गुट तोडेर कांग्रेसलाई नयाँ शिराबाट अगाडि लैजान साझा धारणा बनाउँदैछौं । हाम्रो साझा धारणामा शेरबहादुरजी, रामचन्द्रजी लगायत सबैलाई सहमत गराउने प्रयास गर्छौ,’ निधिले भने ।

तीन नेताको सामुहिक प्रयत्नलाई कांग्रेसवृत्तमा परिवारवादको आरोप पनि लाग्ने गरेको छ । यद्यपि यस्तो आरोप स्वीकार्न उनीहरु तयार छैन ।

‘राजनीतिमा योगदान नगरेको मान्छेलाई पिताको नाममा टपक्क टिप्यो भने परिवारवाद हुने हो । हामी त सबै राजनीतिक उतारचढाव, जेलनेल र संघर्ष भोगेर आएका छौं । यो परिवारवाद हुँदै होइन,’ पूर्व महामन्त्री सिंहले भने ।

आ-आफ्नै धरातल

१४ औं महाधिवेशनमा सभापतिको दावी गरिरहेका तीनै नेताको पृष्ठभूमी बेग्लै छ । उपसभापति निधि विद्यार्थी राजनीतिबाट नेविसंघ अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । पूर्वमहामन्त्री सिंह नेपाली कांग्रेस काठमाडौंको राजनीतिबाट जिल्ला सभापति हुँदै केन्द्रमा स्थापित भएका हुन् । महामन्त्री कोइराला चिकित्सक पेशा छाडेर राजनीतिमा होमिएका हुन् ।

तीनै नेतासँग कांग्रेसको महामन्त्रीका रुपमा काम गरेको अनुभव छ । पार्टी विभाजनका बेला नेपाली कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री रहेका निधि एकतापछि एकीकृत पार्टीको महामन्त्री रहेका थिए । विभाजन र एकतापश्चात उपसभापति रहेका सिंह सुशील कोइराला सभापति छदाँ निर्वाचित महामन्त्री थिए । कोइराला गत महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका हुन् ।

निधि र सिंह दुवै पूर्व उपप्रधानमन्त्री हुने भने कोइराला ३ पटक आम निर्वाचन जिते पनि शासकीय जिम्मेवारीमा पुगेका छैनन् । एकले अर्कालाई सहज ढंगले छाड्न गाह्रो भए पनि तीन नेताबीचको संवादले कांग्रेसभित्र तरंग भने पैदा गरेको छ । महाधिवेशनसम्म एकतावद्ध रहनसके यो समूह महाधिवेशनमा शक्तिशाली सावित हुनसक्छ ।

पिताहरु मिलेनन्, पुत्र के मिल्लान् ?

नेपाली कांग्रेसको स्थापनाकाल देखि नै वीपी र गणेशमानबीच राजनीतिक सहकार्य भएपनि कतिपय सन्दर्भमा विवाद बढेको देखिन्छ । राजनीतिक जीवनकालमा गणेशमानले वीपीलाई अगाध सहयोग गरेको तथ्य वीपीले आत्मकथामै स्वीकारेका छन् । यद्यपि राजनीतिक संघर्ष, पार्टीका कार्यक्रम र अवसर वितरणका विषयमा बेलाबखतमा मतभेद हुने गरेको थियो ।

वीपीको शेषपछि गिरिजाप्रसादसँग गणेशमानको सम्बन्ध राम्रो रहेन । महेन्द्रनारायण निधि र गिरिजाप्रसादको सम्बन्ध पनि राजनीतिक रुपमा सुमधुर हुन सकेको थिएन । पिताहरुको राजनीतिक इतिहास बुझेकाहरु यहीकारण पुत्रहरुको प्रयत्न पनि खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् ।

‘पिताहरु त मिल्न सकेनन् पुत्रहरु कसरी मिल्लान् ? अझ अहिले त कसले कसलाई छोड्ने भन्नेमै समस्या छ । यथास्थितिमा पुत्रत्रयको एलायन्स सफल हुनेमा शंका छ,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन् । पारिवारिक विरासतको लाभ तीनै जनालाई भए पनि एकले अर्कालाई स्वीकार्न नसक्दा तीन नेताबीचको छलफल राजनीतिक उपलब्धीभन्दा ‘लञ्च मिटिङ’ मै सीमित हुनसक्ने आचार्यको बुझाई छ ।

‘नेतात्रयका रुपमा मिलेर आउँदा कांग्रेसमा सन्देश दिन त सक्छन् । तर उहाँहरुको अहिलेको दौडधुप एकले अर्कालाई प्रयोग गर्ने रणनीतिमा मात्रै सीमित हुनसक्छ,’ आचार्यले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर