राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : प्रधानमन्त्री ओली – Nepal Press

राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका-टिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । गणतन्त्रप्रति वैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको उनको विश्लेषण छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रलाई गाली गर्ने प्रतिष्पर्धा चलेको बताए ।

उनले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ । हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए ।

उनले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोज्ने । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि… । अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’

ओलीले नेपालको संसदमा खुर्सानीको धुलो बोकेर जाने र संसदको लडाईं माईकले हानेर गर्नेहरूसँगको लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘राजनीतिमा भ्रम फिँजाउन खोजिएको छ । त्यसकारण संसदमा खुर्सानीको धुलो बोकेर जानेहरू, संसदको लडाइँ माईकले हानेर गर्नेहरूसँगको यो लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौं भन्ने मैले विश्वास लिएको छु । त्यसकारण चिन्ता गर्नु पर्दैन भन्ने पनि म साथीहरूलाई आश्वस्त पार्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर