दलित सेलेब्रिटीका डेरा अनुभव : कतै सत्कार, कतै तिरस्कार – Nepal Press

दलित सेलेब्रिटीका डेरा अनुभव : कतै सत्कार, कतै तिरस्कार

काठमाडौं । जातीय छुवाछुतलाई कानूनले बर्जित गरेको धेरै भइसक्यो । तर, समाजका यसमा अवशेषहरु बाँकी छन् । देशकै राजधानीमा दलितहरुले कोठा पाउन सास्ति झेल्नुपर्ने अवस्थाको अन्त्य भएको छैन ।

सञ्चारकर्मी रुपा सुनारले एक घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दिएपपछि यो विषय अहिले बहसमा छ । अझै पनि समाजले आफूहरुलाई मानिसको रूपमा अंगाल्न नसकेको गुनासो दलित समूदायका व्यक्तिहरुले गरेका छन् । सामाजिक सञ्जालमा जातीय छुवाछुतको विषयमा राम्रै बहस चलिहरेको छ ।

यद्यपि, जातका कारण कोठा नपाएका घटनाहरू यसअघि पनि सार्वजनिक हुँदै आएका थिए । कतिपय कर्मचारी प्रशासन र राजनीतिमा नाम चलेका व्यक्तिहरुदेखि लोकप्रिय कलाकारहरुसम्मले यो समस्या भोगेका छन् । कोठा पाइसकेपश्चात पनि आफूहरुलाई फरक व्यवहार हुने गरेको उनीहरुको भोगाइ छ । त्यही भएर कतिपयले जात लुकाएर पनि बसिरहेको पाइन्छ ।

यहाँ हामी केही दलित समुदायका कलाकारहरूको अनुभव प्रस्तुत गर्दैछौं । उनीहरुले काठमाडौंमा कोठा पाउन र बस्न कति समस्या भोग्नुपर्‍यो त ? उनीहरूकै शब्दमाः

जात थाहा पाएपछि कोठा छोड्नुपर्‍यो

पूर्णकला विसी गायिका

म आफ्नो जातकै कारण कोठा नपाएपछि पूर्णकला विकबाट पूर्णकला विसी लेख्न थालेकी हुँ । पहिले अनामनगरमा एकजना नेवारको घरमा बस्थेँ । हामीलाई घरबेटीले पानी भर्दा पनि धारा नछुनु है भन्थे । हामीले धारा छोयो भने छोरी काम्छिन् पनि भने ।

एकदिन घरबेटीको छोरी अफिसबाट फर्केदै थिइन् । मेरो दिदीले धारामा पानी चलाइराख्नुभएको थियो । उनी गेटमै बङ्लङ्गै लडिन् । के भयो भनेको त कामीले धारा छोएर यस्तो भएको रे । हामी दिदी, भिनाजु, दिदीको छोरा ४ जना कोठामा बस्थ्यौ । भिनाजु प्रहरी हुनुहुन्थ्यो । प्रहरीको ठूलो ओहोदामा भएपछि त जातपात केही हुँदैन नि त । ठूलो पहुँचमा भएपछि त जात हेर्दैनन् । त्यही भएर यिनीहरु पनि ठूलै जात होलान् भन्ने सोचेर उनीहरुले हामीलाई कोठा दिए ।

पछि तपाईहरुको थर के हो भनेर सोधे । हामीले ‘कामी हौं’ भनेर भन्यौ । त्यसपछि हामीले कोठा छाड्नुपर्ने भयो । त्यसैको कारणले हो मैले मेरो थर नै परिवर्तन गर्नुपर्यो । म आफ्नो जातमा एकदमै गर्व गर्ने मान्छे हो । तर त्यही कारणले गर्दा थर फेरेको हुँ ।

मैले एउटा एल्बम निकालेको थिएँ । गीत चल्न थालेपछि पुर्णकला विसीकै रुपमा चिनिएँ । थर फेरेपछि भने जातको कारणले कोठा नपाएको अवस्था छैन । अरु खाले विभेद पनि भोग्नु परेको छैन । त्यसपछि एकजना मुसलमानको घरमा बसेको हो । त्यहाँ जातभातको कुरा हुँदैनथ्यो । अहिले बाहुनकै घरमा बस्छु । तर घरबेटी यहाँ हुनुहुन्न ।

कतै सहृदयी व्यवहार, कतै हेलाहोचो

प्रकाश सपूत

काठमाडौं आइसकेपछि मैले पनि जातकै कारणको कोठा नपाएको थुप्रै घटनाहरु भोगेँ । को कस्तो समाजमा हुर्केको छ भन्ने यसले देखाउँछ ।

म बल्खुमा एक जना नेवारको घरमा बस्दा मेरी छोरी पनि त्यहीँ जन्मिइन् । उहाँहरुले एकदमै सर्पोट गर्नुभयो । तल–माथि आउने–जाने सँगै खाने-बस्ने भयो ।

यता सामाखुसीमा एक जना नेवारकै घरमा बस्दा उहाँले हामीलाई पानी लगाउन दिनुहुन्थेन । छुट्टै धारा बनाइएको थियो । यस्तो खालको अप्ठयारो त धेरै ठाउँमा भोगेको छु ।

अहिले त म आफ्नै घरमा बसेको छु । तर पनि अनौपचारिक रुपमा दलित समुदायका साथीहरुले कोठाभाडामा बस्दाको अप्ठेराहरु सुनाइरहेका हुन्छन् । कोठामै बसे पनि कतिपय ठाउँमा आत्मियता नहुने, माथिल्लो तलामा बस्न नपाउने, धारा छुट्टै बनाइदिने, त्यस्ता खालको गुनासो सुनिरहनुपरेको छ ।

सुकुम्वासी बस्तीमा जातपातको समस्या भएन

यसकुमार , गायक

मैले जातकै कारणले कोठा नपाएको अनुभव भोग्न परेन । म त एउटा सुकुम्बासी न थिएँ । आएर पंशीघाटको सुकुम्बासी बस्तीमा बसेँ । त्यहाँ जातपातको कुरा आएन । किनभने त्यो त आफनो घरजस्तै भयो नि त । सरकारको जग्गामा छाप्रो बनाएर बसेपछि कसैले हेप्ने कुरा भएन ।

पछि आफ्नै घर बनाएर सरेँ । त्यही भएर मैले जातकै कारण कोठा नपाएको तितो अनुभव भोग्न परेन । फेरि मैले त पहिलेदेखि नै जातको विषयमा बोल्दै आइरहेको छु । एउटा स्कुलिङ र संस्कारमा हुर्किएको एउटा वर्गमा अझै पनि त्यो विचार छ । जातपातका कुराहरु छन् । मान्छेले पहिलादेखि नै गर्दै आइरहेको बानी हो ।

४ वर्षसम्म थर ढाँटेर कोठामा बसेँ

बाबुकृष्ण परियार, गायक

मैले जातको कारण काठमाडौंमा कोठा खोज्ने क्रममा एकदमै दुख पाएँ । सुरुमा एक महिना त मैले कोठा नै पाइनँ । त्यतिबेला म दोहोरी साँझमा काम गर्थेँ । एक महिना कोठा नपाएपछि दोहोरी साँझमै बसे । १२ बजेसम्मै दोहोरी हुन्थ्यो । अरु गइसकेपछि म चाहिँ त्यहीँ सुत्थेँ । त्यहाँ सुत्नु मेरो रहर होइन, बाध्यता थियो ।

मैले सँधै त्यहाँ बसेर पनि हुँदैनथ्यो । जातकै कारणले काठमाडौंमा बस्न गाह्रो भयो । कति प्रयास गर्दा पनि कोठा नपाएपछि मैले आफ्नो जात लुकाएँ । लगभग ४ वर्ष मैले थर ढाँटेरै कोठामा बसेँ । ढाटेरै बस्नुपर्ने मेरो बाध्यता बन्यो । कोठा खोज्न जाँदा पहिल्यै जात सोध्नुहुन्थ्यो । मैले आप्mनो जात भनिदिन्थे । घरधनीले तुरुन्तै ‘दिन्न’ भन्नुहुन्थ्यो । तर म कहिले पनि मुखमुखै लागिनँ ।

विस्तारै गीत–संगीतले पनि चिनाउँदै लग्यो । त्यसपछि चाहिँ मलाई ढाँट्नुपरेको छैन । मलाई जातको विषयमा के लाग्छ भने मान्छेको सोचविचार हो । मान्छेको सोच–विचार बदल्न कसैले पनि सक्दैन । जसको घर उसको खुसी हो । आप्mनो घरमा आप्mनो अधिकारले मान्छे राख्न पाउँछ भन्ने मलाई महसुस भयो ।

मैले मात्रै रुम पाएँ भनेर खुसी हुनुपर्ने अवस्था पनि देख्दिनँ । मजस्ता हजारौं हुनुहुन्छ काठमाडौंमा कोठा नपाएको । उपत्यकामा छुवाछुतका कारण धेरै हेपिएका छौ ।

म बसेको ठाउँमा कसैले जात सोधेका छैनन्

दिपाशा विसी, मोडल

मैले जातकै कारण कोठा नपाउने समस्या भोग्नु परेन । म बसेको ठाउँमा दिदीहरु बस्नुहुन्थ्यो । त्यतिबेला कोठा खोज्दा दिदीहरुले नै कुरा गर्नुहुन्थ्यो घरबेटीसँग ।

म बसेको ठाउँमा तपाई के जातको भनेर कसैले सोधेको छैन । कोठामा बसिसकेपछि चाहिँ ए यो यस्तो रहेछ भन्ने खालको सोचाइ हुन्छ । तर त्यही कारण भेदभाव भने ममाथि भएको छैन ।

विभेद सबै ठाउँमा छैन, सकारात्मक प्रचार पनि गरौं

देवेन्द्र बब्लु (रंगकर्मी, गायक)

काठमाडौं आएदेखि नै मेरो सगंत फरक–फरक जातका साथिहरुसँग भयो । कहिले पनि त्यस्तो विभेद फिल भएन । मनमा के हुन्थ्यो थाहा छैन, तर व्यवहारमा मलाई सँधै राम्रो नै भयो । म कोठा खोज्न जाँदा जात सोधे पनि त्यस्तो खास अफ्ठेरो परेको अनुभव छेन ।

यो विषयमा हामी आफुलाई कसरी प्रचार गर्छौं भन्नेमा पनि भर पर्छ । सँधै विभेद भयो भनेर कराउनुभन्दा पनि कतिपय सकारात्मक कुराहरु पनि प्रचार गर्नुपर्छ जस्तो लाग्छ । म अहिले पनि भाडाकै कोठामा बसिराछु । यहाँको घरबेटी के जातका हुन् मलाई थाहा छैन । सायद म के हो भन्ने पनि उहाँलाई थाहा छैन । सबै कुरा ठिक छ, केही समस्या छैन ।

विभेद सबै ठाउँमा छैन भन्ने कुरा पनि प्रचार गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हामी सँधै तल भयौं, सँधै विभेद भयो भन्ने मात्र होईन । केही हदसम्म मान्छेमा परिवर्तन आइरहेको छ भन्ने लाग्छ । विशेषगरी नयाँ पुस्तामा ।

हामी आफु क्षमतावान र सक्षम भयौं भने केही कुराले अवसरलाई छैक्दैन जस्तो लाग्छ । अबका नयाँ पुस्तालाई कस्तो देखाउने र के बुझाउने हाम्रो जिमेवारी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *