बोलिभियालाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको अन्तिम १६ मा – Nepal Press

बोलिभियालाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको अन्तिम १६ मा

काठमाडौं । शुक्रबार बिहान भएको समूह ए अन्तर्गतको खेलमा बोलिभियालाई २-० ले पराजित गर्दै उरुग्वेले एक खेल अगावै कोपा अमेरिकाको नकआउटमा स्थान सुरक्षित गरेको छ ।

ब्राजिलको पान्तानल एरिनामा भएको खेलमा कार्लोस ल्याम्पेले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको उरुग्वेका लागि इडिन्सन कभानीले एक गोल थपे । पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको ओस्कार ताबारेजको उरुग्वे दोस्रो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

तर, आजको जितसँगै ३ खेलबाट चार अंक जोडेको उरुग्वेले एक खेल अगावै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा सिजर फ्यारियासको बोलिभियाविरुद्ध संघर्षरत उरुग्वेले बोलिभियाका गोलकिपर ल्याम्पेले गरेको आत्मघाती गोलसँगै १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुआतदेखि खेलमा पकड बनाएको ला केलेस्तेका लागि फरवार्ड कभानीले निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा दोस्रो गोल गरे । त्यसअघि उत्कृष्ट मौका गुमाएका कभानीको सोही गोलमार्फत् उरुग्वेले २-० को सन्तोषजनक जित दर्ता गर्न सफल भयो ।

पराजयसँगै सुरुआती तीन खेलमा अंकविहीन बनेको बोलिभियाको कोपा अमेरिका २०२१ को उपाधि यात्रामा एक खेल अगावै पूर्णविराम लागेको छ । अन्तिम खेलमा बोलिभियाले मंगलबार अर्जेन्टिनाको सामना गर्नेछ ।

यससँगै समूह ए बाट क्वार्टरफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित छ । तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन पहिलो चरणको समाप्ति कुर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *