‘इङ्ल्यान्ड ठूला भिडन्तका लागि तयार हुन्छ’ – Nepal Press

‘इङ्ल्यान्ड ठूला भिडन्तका लागि तयार हुन्छ’

काठमाडौं । चेक रिपल्बिकमाथि १-० को जितसँगै समूह डीको विजेता बन्दै अन्तिम १६ मा पुगेको इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टोली नकआउटका लागि तयार हुने बताएका छन् । राहिम स्टर्लिङको गोलसँगै चेक टोलीमाथि जित हासिल गरेको साउथगेटको इङ्लिस साइडले समूह एफको उपविजेतासँग मंगलबार वेम्ब्लीमा खेल्ने निश्चित भइसकेको छ ।

प्रतियोगिता अगाडि बढ्दै जाँदा कठिन हुने र साउथगेट आफ्नो टोली त्यसका लागि तयार हुनेमा विश्वस्त छन् । त्यो जितले इङ्लिस टोलीको भेट जर्मनी, फ्रान्स वा पोर्चुगलसँग हुने निश्चित भइसकेको छ । र, इङ्ल्यान्ड युरोपका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रशिक्षक साउथगेटको विश्वास छ ।

‘हामीले दुई विपक्षी टोलीहरू– क्रोएसिया र चेक रिपब्लिकसँग खेल्यौं । यी दुई टोली राम्रो लेभलको फुटबल खेलिरहेका छन् र स्कटल्यान्डविरुद्धको खेल पनि हाम्रा खेलाडीका लागि राम्रो अनुभव भयो,’ साउथगेटले भने, ‘तर, अबका खेलहरू फरक हुनेछन् । हामीलाई थाहा छ, त्यहाँ विश्वकप विजेता, युरो च्याम्पियन र जर्मनी छन् । जर्मनी एकदमै बलियो टोली देखिएको छ ।’

‘तर, हामीले त्यो कुरा १८ महिनादेखि थाहा पाइरहेका छौं । राम्रो पक्ष भनेको हामी अझै पनि सुधार गरिरहेका छौं । हामी विपक्षीका लागि पनि खेल्न कठिन देखिइरहेका छौं,’ उनी भन्छन्, ‘हाम्रो टोलीका खेलाडीले खेल्ने पर्याप्त समय पाएका छन्, त्यो स्क्वाड डेप्थका लागि महत्त्वपूर्ण थियो । हाम्रो टोली केही कम जोसिलो देखिएको छ, त्यसमा परिवर्तन गर्नु जरुरी छ ।

प्रतियोगितामा पहिलो पटक बुकायो साका र ज्याक ग्रेलिसलाई चेक रिपब्लिकविरुद्ध मैदानमा उतारेका साउथगेट अन्तिम-१६ को खेल वेम्ब्लीमै खेल्न पाउँदा मख्ख देखिन्थे । इङ्ल्यान्ड समूह विजेता नभएर दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको भए सजिलो विपक्षी टोली पाउने थियो ।

‘हामीले खेलाडीलाई चेक रिपब्लिकविरुद्धको खेल अन्तिम १६ मा पुगिसकेकाले कम महत्त्वपूर्ण रहेको तर केही पाउन अझै बाँकी रहेको बताएका थियौं,’ साउथगेटले भने, ‘पहिलो वा दोस्रो हामीले जसरी पनि अगाडि बढ्नुपर्छ । त्यसैले वेम्ब्लीमा खेल्नका लागि हाम्रो हातमा भएको नियन्त्रण गुमाउनु हुँदैन ।’

स्कटल्यान्डका बिली गिल्मोर कोरोना संक्रमित भएपछि उनीसँग १२० सेकेन्डसँगै बिताएका दुई इङ्लिस खेलाडी बेन चिल्वेल र म्यासन माउन्ट आइसोलेसनमा बस्न बाध्य पारिएकोमा साउथगेट सन्तुष्ट छैनन् । ‘दुवै खेलाडी चेक रिपब्लिकविरुद्धको खेल गुमाउनु पर्दा एकदमै निराश भएका छन्,’ उनले भने, ‘सबै टोली प्लेनमा, बसमा हिँडिरहेका छन् । तर, हाम्रा दुई खेलाडीले १२० सेकेन्ड टनेलमा गिल्मोरसँग बिताए पनि परीक्षणमा नेगेटिभ देखिएपछि किन आइसोलेनसमा बस्नु पर्ने हो ? मैले बुझिनँ ।’

साउथगेटले ज्याक ग्रेलिस र बुकायो साकाको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘साकाको बारेमा धेरै बोल्न सक्दिनँ । तर उनले मौका पाए । ट्रेनिङमा उनको प्रदर्शन उत्कृष्ट हुन्थ्यो । हामीले उनलाई अगाडि खेलाउनेबारे पनि सोचेका थियौं र उनले चेक टोलीविरुद्धको खेलमा मौका पाए । उनको प्रदर्शन अविश्वसनीय थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर