पूर्व गोर्खा सैनिक पुनको नामबाट लन्डनमा रेलसेवा संचालन – Nepal Press

पूर्व गोर्खा सैनिक पुनको नामबाट लन्डनमा रेलसेवा संचालन

लन्डन। भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतको राजधानी लन्डनमा रेल सेवा संचालनमा आएको छ । उनका सन्तानले बिहीबार लन्डनको प्याडिङ्टनमा रेलसेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा अभिनेत्री एवं गोर्खाली नेपाली सैनिककी अभियन्ता जोआना लुम्ले समेत उपस्थित थिइन् ।

ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सेवाको शुभारम्भ गरेका थिए ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोर्खालीसँग काम गर्न पाउँदा खुशि मिलेको बताए । पुनको नाममा रेल सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । उनले नेपालमा रहेका गोर्खाली सेनाका परिवार कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।

अभिनेत्री जोअना लुम्लेले पुनसँगको भेटबारे स्मरण गरिन् । आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् ।

दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको लुम्लेले बताइन् ।

सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।

भिसी पुनको नाम कुँदिएको रेल लण्डन प्याडिङटन-ब्रिस्टोल सेवामा संचालन हुनेछ । पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा सन् १९४४ जुन २३ मा भिक्टोरिया क्रस पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर