भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ – Nepal Press

भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

दिल्ली । भारतमा पछिल्ला केही हप्तामा कोरोना संक्रमणदर घट्दो क्रममा देखिएको छ । यहाँ संक्रमणदर घटे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने  यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा संक्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् ।

उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ८४८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्ममा ३ करोड भन्दा बढी संक्रमित पुगेका हुन् ।

त्यस्तै यहाँ यो संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोनाभाइरसका संक्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । तर अहिले यहाँ मृत्युदरमा भने  कमी आएको छ । 

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा संक्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।

यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै संक्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् । उनीहरुले भनेका छन् कि- यसरी पछिल्ला दिनहरुमा संक्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ ।

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्‍यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्‍याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

सतर्कताका लागि आग्रह

यता संक्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् । जसका कारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङ मलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ । नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ । सपिङ मलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् ।

दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ । सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ ।

अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसंख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए- भारतमा कोभिड-१९ को तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

उनले गतहप्ता मात्र भनेका थिए- तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ ।

उनले भनेका थिए- हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो । तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकास नारायणको धारणा पनि त्यस्तै छ । उनले संक्रमितहरुको संख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागकिहरु पनि हजारौँको संखयामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे ।

सुस्त खोप अभियान

हुनत भारतको जनसंख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो । भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउछन् । साथै कोरोनाको खोप दिएपछि यसका संंक्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए ।

भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ । खोपको दुवै मात्रा लिने यो संख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयलकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ ।

उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर