‘खोप प्राप्तिसम्बन्धी पाइपलाइन क्लियर भएको छ, जनतालाई नि:शुल्क स्वास्थोपचारकाे पहलमा थिएँ’ – Nepal Press
शेरबहादुर तामाङसँग नेपाल टक

‘खोप प्राप्तिसम्बन्धी पाइपलाइन क्लियर भएको छ, जनतालाई नि:शुल्क स्वास्थोपचारकाे पहलमा थिएँ’

अदालतको आदेशले महामारीको बेला सरकारलाई काम गर्न हात बाँधियो

काठमाडौं । स्वास्थ्यमन्त्री नियुक्त भएकाे केवल १९ दिनमा विदा भएका छन् शेरबहादुर तामाङ । कोरोनाको महामारीका बीच चुनौतिपूर्ण जिम्मेवारी पाएका उनले आफ्नो क्षमता परिक्षण गर्नै भ्याएनन् । 

पहिलो पटक कानून मन्त्री हुँदा  पनि उनको नमिठो बहिर्गमन भएको थियो ।  डा.गोविन्द केसीको नियमित अनसनको नयाँ संस्करण चलिरहेका बेला उनको एउटा अभिव्यक्ति विवादमा पर्यो ।  उनले नेपालबाट बंगलादेशमा चिकित्साशास्त्र पढ्न गएका विद्यार्थी शोषणमा पर्ने गरेको कुरा उठाएपछि केसी समर्थकले ठूलो इस्यु बनाए ।

नेकपाकै तत्कालीन प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत राजीनामा मागे । तामाङले आँशु झार्दै राजीनामा दिएका थिए । यसबीचमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक झन् ठूलो जिम्मेवारी दिए । सबैभन्दा धेरै बजेट भएको र महामारीको बेला महत्वपूर्ण स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका  तामाङ अदालतको आदेशबाट जिम्मेवारीविहीन बनेका छन् ।

उनले आफ्नो कार्यकालबाटै सबै नागरिकको निःशुल्क स्वास्थ्य उपचारको नीति कार्यन्वयनमा लैजाने तयारी गरिरहेका थिए ।  तामाङले यसबीचमा खोप खरिदका प्रक्रिया समेत अघि बढाएका थिए । नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव समेत रहेका तामाङसँग यीनै विषयमा केन्द्रित रहेर नेपालप्रेसकर्मी विष्णु शर्माले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा ।

विगतमा कानूनमन्त्रीबाट विवादमा परेर राजीनामा दिनुभयो । अहिले अदालतको आदेशपछि १९ दिनमै पदमुक्त हुनुभएको छ । तपाईं आफूलाई कति अनलक्की मान्नुहुन्छ ?

मन्त्रीको हिसाबमा म आफूलाई लक्की मान्छु । मैले जुन कार्यक्रम अघि बढाउँछु, त्यो कुराले जनता लक्की हुनुपर्ने, राष्ट्र हुनुपर्ने । समयको अभावले त्यो कुरा लागु गराउन नपाउँदा मलाई हानी भएको होइन । नेपाली जनता र नेपाल राष्ट्रलाई हानी भएको छ । व्यक्तिगतरुपमा मैले गर्न खोजेको कामहरुलाई लागु गर्न प्रयत्न गर्ने अवसर त मैले पाएको छु नि ।

पूर्वकानूनमन्त्रीको हैसियतमा तपाईं सर्वोच्चको आदेशलाई कत्तिको स्वभाविकरुपमा लिनुहुन्छ ?

हामी कानूनी राजको पक्षमा छौं । संविधान र कानूनलाई कसैले व्याख्या गर्दाखेरी अगाडि अप जोड्न पाइँदैन । जोसुकै होस्, जुनसुकै कुर्सीमा बसेको होस्, त्यो राष्ट्रपतिको कुर्सीमा बस्या होला, प्रधानमन्त्रीको कुर्सीमा बस्या होला, मन्त्रीको कुर्सी र न्यायालयको कुर्सीमा बस्या होला । संविधान र कानून हाम्रो शीरमाथि हुन्छ । संविधान र कानूनभन्दा माथि कोही हुँदैन । यसैले कुनैपनि आदेश वा फैसलाहरु आउँदाखेरी संविधान र कानून मुताबिक आउनुपर्छ भन्ने मलाई लाग्छ ।

सर्वोच्चको आदेश आएपछि प्रधानमन्त्रीले तपाईंलाई के भन्नुभयो ?

कार्यान्वयन गर्ने कुरा गर्नुभएको छ । न्यायालयको आदेश कानूनी र संवैधानिक रुपमा उचित छ छैन, व्याख्या हुँदै जाला पछि, तर आदेश आइसकेपछि आदेशको कार्यान्वयन हुन्छ र पालना हुन्छ ।

आदेश आइसकेपछि नेकपा एमाले मिल्न वा फुट्न कुन चाहिँ बाटो सजिलो होला जस्तो लाग्छ तपाईंलाई ?

मिल्न सजिलो हुन्छ । मूलतः नेकपा एमालेभित्र अहिले जति पनि समस्या छन्, यी समस्याहरुमा खासगरि अदालतका आदेशहरु मात्र हैन राजनीतिकरुपमा नेपालभित्र अहिले घटिरहेका जति परिघटनाहरु छन्, यी परिघटनाहरुको परिणामको आधारमा हेर्दाखेरी नेकपा एमालेका साथीहरु नेकपा एमाले छाडेर अलग्गै पार्टी बनाउने र अलग्गै हिँडने परिस्थिती बन्छ जस्तो मलाई लाग्दैन ।

स्वास्थ्यमन्त्रीको रुपमा तपाईंको १९ दिन कस्तो रह्यो ?

मैले पद बहाली गर्दा नै भनेको थिएँ- वास्तवमा पद भनेको अस्थायी चीज हो । त्यसैले मेरो लागि आज नै अन्तिम दिन हुनेछ भन्ने हिसाबले काम गर्छु भनेको थिएँ । १९ दिनमा केही कुराहरुको सुरुआत भयो । ती कुराहरु फाइनल गर्नको लागि अरु केही दिन चाहिन्थ्यो होला । तर, केही कुराहरु सुरुआत भएको छ ।

पहिलो कुरा त, खोपको अन्यौलताको बीचमा नेपाली जनतालाई कोरोनाबाट मुक्त हुन खोप प्राप्त भैरहेको थिएन । तर, १९ दिनमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबैको प्रयत्नमा मन्त्रालयको कार्यकारी प्रमुखको हिसाबले मैले जुन प्रयत्न गरेँ, म के विश्वास दिलाउन चाहन्छु भने, खोप प्राप्तीसम्बन्धी पाइपलाइन क्लियर भएको छ ।

अब केही दिनबाट खोप प्राप्त हुन थाल्नेछ र नेपाली जनताले खोप लगाउनेछन् । यही खोप सम्बन्धी एउटा विषयमा मलाई शंका लाग्छ, किनभने यस्तै पदाधिकारी हुने नहुने कुराले, कार्यकारी प्रमुख हुने वा नहुने कुराले, म नै हुनुपर्छ भन्दिँन ।

जोसुकै त्यहाँ हुनु जरुरी छ । त्यस्तो भएन भने, खोप ल्याउने कुरामा असर परेर नेपाली जनताको जीवनमाथि नै प्रश्न उठ्यो भने त्यतिबेला वास्तवमा मेरो पनि मन दुख्छ । नेपाली जनताको मन दुख्छ । सबैको मन दुख्नुपर्छ यतिबेला ।

खोप प्राप्ती नै प्रमुख कुरा हो र त्यो पाइपलाइनमा अघि बढेको छ । पद बहाली गर्ने बेला नै मैले भनेको थिएँ- मेरो प्राथमिकता नम्बर वान, टु र थ्री भनेकै कोरोना मुक्त गर्नको लागि खोप प्राप्ती नै हो । म खुशि छु, १९ दिनकै बीचमा थप खोप खरिदका लागि प्रक्रियाहरु अगाडि बढेको छ । विभिन्न देशबाट हामी खोप प्राप्त गर्छौं र छिट्टै नेपाली जनताले खोप लाउने वातावरण बन्नेछ ।

नेपाली जनताले कहिलेसम्म खोप प्राप्त गर्लान् ? कुन कुन देशबाट आउँछ र कति परिमाणमा आउला ?

खोप चाहिँ जटिल विषय हो । खोप ठूला राष्ट्रका सीमित कम्पनीले उत्पादन गर्ने हो । यसकारण खोपलाई हामीले तुरुन्तै पसलमा गएर किन्न कमोडिटीको रुपमा बुझेका छैनौं । त्यो गाम्भिर्यतालाई बुझेर, खोप प्राप्ती सम्बन्धी कतिपय कुराहरुलाई कूटनीतिक च्यानलबाट पनि अगाडि बढाएका छौं ।

केही दिनमा खोप पाइपलाइनमा आउँछ मैले यति चाहिँ भन्छु । खोप प्राप्ती सम्बन्धी बाटोहरु तय भएको छ । त्यो बाटोबाट खोप लगातार आउनेछ । नेपाली जनताले खोप प्राप्त गर्नेछन् । हामीले सबै उपायबाट बाटोहरु तय गरेका छौं । नेपाली जनतालाई साढे ४ करोड खोप लाउनुपर्छ । हामीले तयारी गरेका छौं । सबैलाई खोप लाउँछौं । मलाई लाग्छ, धेरै महिना कुर्नु पर्दैन । पहिलो डोज लगाउँछौं केही महिनामै ।

चीनसँग नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख साइनोफार्म खोप आउने कुरा पनि चलिरहेको छ । यसबारे बताइदिनूस न ।

हामीले नेपाली जनताको जीवन रक्षाका लागि आवश्यक प्रयत्नहरु सबै खोप उत्पादक राष्ट्रहरुसँग गरिरहेका छौं । ती प्रयासबाट म यति चाहिँ भन्छु : खोप आपूर्ति सुनिश्चित छ ।

मन्त्रालयमा रहँदा अहिले नेपालको महामारीको अवस्था कस्तो रहेको ब्रिफिङ पाउनुभयो ? भारतमा अक्टोबरमा तेस्रो लहर आउने चर्चा छ । नेपालमा यसको सम्भावना कस्तो छ ?

हामीले पीसीआर र एन्टीजेन किटबाट जुन परीक्षणहरु गरिरहेका छौं, केही समय हामीले लकडाउन पनि गर्‍यौं । त्यसबीच धेरै परीक्षण पनि गर्‍यौं । त्यसको आधारमा संक्रमण धेरै डाउन भयो । त्यही डाउन भएको आधारमा असार १ गतेदेखि लकडाउनलाई खुकुलो गर्‍यौं ।

यातायातमा पनि जोर विजोर संचालन गर्ने अवस्थामा पुगेका छौं । अहिले दोस्रो लहरलाई साइज-डाउन गर्न सफल भएकै हो । साइज डाउन मात्रैले सँधैभरि यस्तै हुन्छ भन्ने छैन । पुनः सम्पर्क बढ्दै जाँदा संक्रमणको अवस्था बढ्न पनि सक्छ । यस्तो नहोस् भन्नको लागि खोप नै प्राथमिकता हो । खोप लगाउनैपर्छ सबै जनाले ।

तेस्रो लहर एकदमै भेरिफाइड कुरा त हैन, हल्ला हल्लामै चलिरहेको छ । बालबच्चमा अट्याक गर्छ भनेर पनि हामीले सुुनिरहेका छौं । यी सबै कुराको बीचमा पनि हामीले तयारी सुरु गरेका छौं । प्रादेशिक स्तरमा बाल वार्डहरु विकास गर्ने, बालबालिकालाई आवश्यक आइसीयू र भेन्टिलेटर विकास गर्ने कुरामा अगाडि बढेका छौं ।

निषेधाज्ञा खुकुलो बनाउँदा पुनः संक्रमण बढ्न गएर फेरि कडा लकडाउनमै फर्कनुपर्ने हुनसक्छ नि होइन ?

जोखिम अवश्य छ । हामीले परीक्षणलाई एकदमै जोड दिएका छौं । बढीभन्दा बढी टेस्टिङ गरेर जो मान्छेलाई कोभिड देखिन्छ, उसलाई आइसोलेसनमा राखेर उपचार गर्न सकियो भने जोखिम बढ्दैन । यसकारण टेस्टिङ पनि त्यत्तिकै जरुरी छ ।

यी कुरालाई मध्यनजर गरेर, जहाँ संक्रमण दर निकै बढी छ, ती ठाउँमा टेस्ट पनि सुरु गरेका छौं । निषेधाज्ञा खुकुलो भएको छ र, संक्रमण दर पुनः बढ्छ कि भन्ने कुरामा पनि हामी सचेत छौं ।

राष्ट्रपतिले पनि विभिन्न मुलुकहरुमा खोपको विशेष पहल गर्नको लागि पत्राचार गर्नुभयो । कूटनीतिक च्यानलबाट पनि त्यस्तो सक्रियता भैरहेको छ । यति हुँदाहुँदै पनि किन खोप आउन ढिलाइ भैरहेको हो ?

नेपाली जनताले जुन मात्रामा आज खोप लगाइरहेका छन्, कतिपय देशले लगाउनेभन्दा बढी हामीले लगाएका पनि छौं । यतिले मात्र पुग्दैन र खोप प्राप्त हुन्छ । छिट्टै हुन्छ । हामी खोप उत्पादक मुलुकसँग पहल र प्रयत्नबाट आज खोप पाउने सुनिश्चितता अगाडि बढेको छ । हामी भारतसँग पनि प्रयत्नशिल छौं । उहाँहरुले पनि खोप दिने कुरा गर्नुभएको छ । भारतसँग खोप आपूर्तिमा केही अड्चनहरु थिए, भारतले खोप आपूर्तिका लागि जुन तयारी गरेका थियो, केही अड्चन होला । अदालतको अड्चनको कुरा पनि सुन्यौं । मानवीय सहायताले गर्दै नगरौं भनेको होइन । त्यहाँको अदालतले एक खालको फैसला गरेको छ । अदालतको फैसला कार्यान्वयनको विकल्प छँदै छैन ।

यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य र परराष्ट्र मन्त्रालय नेतृत्वविहिन हुँदा यसले महामारी नियन्त्रणमा कति चुनौति सिर्जना गर्ला ?

चुनौति त अवश्य हुन्छ । कार्यकारी प्रमुख कुनैपनि ठाउँमा कार्यकारी भूमिकामा भएन भने यसले कुनै चीजको सुरुआत गर्ने, सदर गर्ने वा कुनै पनि चीजको पहलकद्मी गर्ने व्यक्ति नै नभइसकेपछि त्यसले असर गर्छ । म त भनिरहेको छु, स्वास्थ्य मन्त्रालयजस्तो ठाउँ र आज गृहजस्तो ठाउँ खाली हुनुले असर गर्छ ।

ठीक छ, विकास निर्माणको काम गर्दै गरौंला, आज बाटो र पुल बनेन भने भोलि बनाउँला । तर, मान्छेको स्वास्थ्य, मान्छे प्राकृतिक विपत्तिमा पर्ने कुरा, यो मान्छेको जीवनसँग जोडिएको छ । जीवन रक्षा गर्ने ठाउँमै पदाधिकारी नभए, यो चाहिँ जटिल विषय हो । अदालतका निर्णयलाई पनि कार्यान्वयन गर्दै, प्रधानमन्त्रीज्यूले केही समाधानका उपाय निकाल्नुहोला । नेपाली जनताको जीवनरक्षा गर्ने दायित्वअनुसार प्रधानमन्त्रीले कुनै न कुनै उपाय अपनाउनु हुनेछ ।

१९ दिनमा तपाईंको कार्यकालका थप उपलब्धी के रहे ?

हरेक नेपालीको स्वास्थ्य उपचार पाउने हक छ । बाँच्न पाउने हक छ । संविधानले उक्त अधिकार दिएको छ । हाम्रो आजको स्वास्थ्य प्रणाली के भन्दा खेरी, सबै जायजेथा सकिँदा पनि उपचार हुन सक्दैन । कुनै मान्छे बिरामी भएर उपचार गर्न आयो, उसको तीन पुस्ते श्रीसम्पत्ति सिद्धिन्छ । किन यस्तो हुँदैछ ?

नेपाली नागरिकले बाँच्न पाउँदैन, उपचार पाउँदैन ? म त सबै नेपाली नागरिकको उपचार निःशुल्क हुनुपर्छ भन्छु । एउटा यस्तो सिस्टम बनाऊँ, त्यो सिस्टमबाट निःशुल्क उपचार गर्ने व्यवस्था गरौं । त्यो सम्बन्धी अध्ययन गर्दै थिएँ मैले । प्रारम्भिक चरणको अध्ययन सुरु भयो ।

मैले सार्वजनिकरुपमै बोलेँ- नेपाली नागरिकलाई निःशुल्क उपचारको सुविधा हुनुपर्छ । त्यो व्यवस्था अध्ययन गर्ने गरि प्रारम्भिक चरणमा सुरु पनि भएको थियो । कार्यदल बनाएर, स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रमलाई अपग्रेड गरेर, एउटा सिस्टमभित्र ल्याएर तीन करोड नेपाली जनताको उपचार गर्दा पनि, कुनै पनि रोगको उपचार गर्दा, जति पनि खर्च लागोस्, त्यस सम्बन्धी अध्ययन गर्दै थिएँ सुरुमा ।

१९ दिनमा सबै अध्ययन सकेर किन गरिनस् भनेर भनिन्छ होला तर, सकिँदैन । यो क्रमको सुरुआत भएको छ । निर्वाचनपछिको सरकारले कस्तो गर्ला ? आउने दिनमा कस्तो होला । यी तपसिलका कुरा हुन् । म यी विषय उठाइनै रहन्छु । नेपाली जनताको स्वास्थ्योपचार निःशुल्क हुनुपर्छ र म निःशुल्क बनाउन लागिरहन्छु । मैले गर्न सक्छु भन्ने लाग्छ ।

कोभिडबाहेकका अन्य खोप पनि नेपालमा अनुसन्धान हुन सक्छ कि सक्दैन भनेर त्यो सम्बन्धी कार्यविधि बनाएर, मन्त्रालयबाट पास गरेर, मन्त्रिपरिषद्मा लगेर पास गरेर, आज त्यो कार्यान्वनयको चरणमा छ । कोरोनाको खोप पनि नेपालमा अनुसन्धान हुन सक्छ कि सक्दैन ? त्यो बारेमा कार्यविधि तयार भएको छ ।

तेस्रो कुरा- सरकारी अस्पतालमा बिरामी उपचार गर्न जाँदा बेड छैन भनिन्छ र अर्को ठाउँमा पुग्नुपर्छ । अर्को ठाउँमा उसको लाखौं सिद्धिन्छ । एक्स-रे मेसिन र जाँच्ने मेसिन बिग्रिएको छ भनिन्छ । यस्तो स्थिती नआओस् भनेर मैले प्राथमिकता राखेर अगाडि बढाएको विषय हो । सुरुआत पनि भएको थियो । सरकारी अस्पतालबाट सुरु गरौं भनेर केही अस्पतालमा भेन्टिलेटर मेसिन थप्यौं । आइसीयू बेडहरु थप्यौं । धेरै मेसिन र उपकरण पनि जोड्यौं ।

बिरामी जेसुकै उपचारका लागि सरकार अस्पतालमा आउँछ भने एउटा व्यवस्था गरौं भनेर, त्यो अनुसारको कार्य प्रारम्भ भएको छ । अहिले चलिरहेको छ । मन्त्रालयका पदाधिकारी साथीहरु लागिराख्नुभएको छ सरकारी अस्पताललाई अपग्रेड गर्न । उपचार गर्न आउँदा उसको घरखेत बेच्नुपर्दैन भन्ने कुराको सुनिश्चितता गर्न मैले कार्य सुरु गरेको छु । केही दिनमै नतिजा दिने क्रममा थिएँ म । साथै, सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने र बाल अस्पताल खोल्ने निर्णय पनि मैले गरेको थिएँ ।

कोभिडबाहेकका अन्य खोप पनि नेपालमा अनुसन्धान हुन सक्छ कि सक्दैन भनेर त्यो सम्बन्धी कार्यविधि बनाएर, मन्त्रालयबाट पास गरेर, मन्त्रिपरिषद्मा लगेर पास गरेर, आज त्यो कार्यान्वनयको चरणमा छ । कोरोनाको खोप पनि नेपालमा अनुसन्धान हुन सक्छ कि सक्दैन ? त्यो बारेमा कार्यविधि तयार भएको छ । यो कार्यविधि अनुसार आगामी दिनमा खोपहरु नेपालमै अनुसन्धान, विकास र परीक्षण हुन सक्छ कि सक्दैन भन्ने कुराको अनुसन्धान सुरु हुन्छ । कानूनी बाटो हामीले क्लियर गरेका छौं ।

गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने अभियन्ता पनि हुनुहुन्छ । घरेलु रक्सीलाई ब्रान्ड बनाउने कुरा पनि छ । यसबारे चाहिँ अब फेरि अभियान थाल्नु हुन्छ ?

यो कुरालाई मैले पाँचौं प्राथमिकतामा राखेर अगाडि बढाएको पनि हो । कार्यदल बनाएर अध्ययन गर्ने गरि प्रक्रिया थाल्ने तयारीमा थिएँ । एकदुई दिनमै घोषणा गर्ने तयारीमा थिएँ । गाँजाको अन्य प्रयोग हैन, औषधीय प्रयोग, उपयोग र अनुसन्धान गर्ने तयारीमा । संयुक्त राष्ट्र संघले समेत औषधीय गुण भएको वनस्पतीको रुपमा सूचीकृत भएकाले हामीलाई कुनै बाधा अडकाउ गर्नेवाला त थिएन । यो सम्बन्धी अध्ययन गर्न एउटा कार्यदल घोषणा गर्ने तयारीमा थिएँ । यस सम्बन्धी एउटा दृष्टिकोण छ र सोही अनुुसार अगाडि बढ्छौं ।

साँच्चै यो स्वर्गीयभूमि हो यहाँ बस्ने नागरिकहरु पनि ऋषिमुनिहरुका सन्तान हुन् । पछिल्लो कालमा हामी अलि बढी असहिष्णु हुन थालेका छौं । तपोभूमिमा बस्ने हामी जनता किन झगडा गर्दैछौं । किन असहिष्णु हुँदैछौं ? किन एकले अर्कोलाई आक्षेप लगाउँछौं ? आफूले गरेको कमजोरी अर्कालाई लगाएर किन उम्किन्छौं हामी ? यहीबीचमा हामीले यो मुलुकलाई बनाउनु नै छ ।

सिन्धुपाल्चोकमा अस्वभाविक विपद् कसरी आइलाग्यो, राहतको लागि कसरी काम भैरहेको छ ?

हामी सुरक्षित ठाउँमा नै थियौं । अस्वभाविक बाढी आयो । नागरिकले घर बनाउँदा पनि कहीँ खोलाको मापदण्ड मिचिएको थिएन । खोलालाई प्राकृतिकरुपमै चाहिने ठाउँ छाडेर बस्तीहरु बसालिएको थियो । सहर बजार बसालिएको थियो । यसपटक खोलाले मान्छेलाई अतिक्रमण गर्‍यो । यस्तो विशाल आयो कि धेरै ठूलो क्षति पुर्‍यायो । हिमालकै फेदमा पहिरो गएको देखिन्छ । माथिबाट आएको पहिरोले तल खोलामा आएको पहिरोले थुन्दा सबै तहसनहस भयो । त्यो प्रकृति हेर्दा अझैपनि खतरा देखिन्छ । विस्थापितलाई सरकारले अस्थायी बसोबासका लागि सहयोग गर्छ । राहत र खाद्यान्न पुगिरहेको छ । हेलिकोप्टरबाट खाद्यन्न पुगिरहेको छ । तर, पर्याप्त पुगिरहेको छैन ।

दुई वर्षका लागि एउटा अस्थायी स्थान बनाउनुपर्नेछ । यसका लागि त्यहाँका पालिकाहरुले जग्गाको व्यवस्थापन गर्न भनिएको छ । उहाँहरुले जग्गाको सुनिश्चित गर्ना साथ संघीय सरकारले जस्ता र काठ उपलब्ध गराएर विस्थापितलाई टहरा बनाइदिनेछ । त्यो क्रम डेढवर्ष चल्नेछ । त्यसपछि निर्माणको प्याकेज घोषणा हुनेछ ।

भत्किएका सडक बनाउनुपर्नेछ । चुँडाएका झोलुंगे पुलहरु बनाउनुपर्नेछ । भत्काएका ६ वटा मोटरेबल पुलहरुको नामोनिशान छैन । सातवटाभन्दा बढी झोलुंगे पुलहरु पुरिएका छन् । तीनवटा जति मोटर पुलहरु आज जोखिममा छन् । यस्तो स्थितीमा हामी छौं । अब नयाँ बस्ती बसाल्नुपर्नेछ ।

नेपाल प्रेसमार्फत पाठकलाई के भन्न चाहनुहुन्छ ?

नेपाल यस्तो राष्ट्र छ । साँच्चै यो तपोभूमि हो । साँच्चै यो स्वर्गीयभूमि हो यहाँ बस्ने नागरिकहरु पनि ऋषिमुनिहरुका सन्तान हुन् । पछिल्लो कालमा हामी अलि बढी असहिष्णु हुन थालेका छौं । तपोभूमिमा बस्ने हामी जनता किन झगडा गर्दैछौं । किन असहिष्णु हुँदैछौं ? किन एकले अर्कोलाई आक्षेप लगाउँछौं ? आफूले गरेको कमजोरी अर्कालाई लगाएर किन उम्किन्छौं हामी ? यहीबीचमा हामीले यो मुलुकलाई बनाउनु नै छ ।

संयमताका साथ यो मुलुकलाई बनाउनका लागि सबैजना लागौं । केही सकिएन भने पनि तपाईंले सकारात्मक दृष्टिकोण राख्नूस । नेपाल राष्ट्रको सार्वभौमसत्ता सबैभन्दा ठूलो कुरा हो । यो कुरालाई शीरमा राखेर हिँडम । जिम्मेवारी कहिले पाउँछ, कहिले कसले । जिम्मेवारी पाउनेलाई सघाऊँ । यो मुलुक अरु कसैले बनाउन आउँदैन, हाम्रै जीवनकालमा यो मुलुक बन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर