चितवनका बाँदरलाई डोरीको पुल (तस्वीरहरु) – Nepal Press

चितवनका बाँदरलाई डोरीको पुल (तस्वीरहरु)

चितवन । चितवनको वरण्डाभार संरक्षित वनमा क्यानोपी ब्रीज (डोरी पुल) सञ्चालनमा ल्याइएको छ । तराई भू परिधि कार्यक्रममार्फत डिभिजन वन कार्यालय चितवनसँग समन्वय गरेर ६ ठाउँमा डोरी पुल राखिएको हो । बाँदर, लोखर्के, न्याउरी मुसालगायतका जनावरलाई बाटो वारपार गर्न सजिलो हुने गरी पुल बनाइएको हो ।

वनभित्रको सडक खण्डमध्ये भोजाड–पदमपुरमा ४ वटा र आँपटारी–देवघाटमा २ वटा डोरी पुल राखिएको छ । तराई भू परिधि कार्यक्रमका फिल्ड प्रोग्राम एशोसियट प्रेम पौडेलले चितवनमा क्यानोपी ब्रीज पहिलो अभ्यास भएको बताए । ‘अब घस्रने जनावर तथा बाँदरलाई झोलुंगेबाट बाटो पार गर्न सहज हुनेछ’, उनले भने, ‘यसले दुर्घटना पनि कम हुने अपेक्षा छ ।’ अब रुखमा बस्ने, घस्रने जनावर यही डोरी पुलबाट ओहरदोहर गर्नेछन् ।

१५ देखि २० मिटर लामो झोलुंगेलाई दुवै तर्फका रुखमा बाँधिएको छ । बलियो नाइलन र जुटको डोरीले ससाना लट्ठी राखेर बुनिएको झोलुंगे करिब ५ वर्ष टिकाउ हुनेछ ।

अहिले पुलको परीक्षण माात्रै भएको पौडेलले बताए । यससँगै जनावरका गतिविधि ट्रयाक गर्न छिटै सीसीटिभी जडान गरिने पनि उनले जानकारी दिए । पात, फलफूल, खोट, चोप, लेउ, किरा फट्यांग्रा, मासुको खोजीमा ससाना घस्रने तथा बाँदर प्रजातिका जनावर दिनहुँ भौतारिन्छन् । सहायक वन अधिकृत तथा सूचना अधिकारी बालकृष्ण खनाल स्थलगत अध्ययनकै आधारमा क्यानोपी ब्रीज राखिएको बताउँछन् ।

‘सवारी चल्ने बाटोमाथि थोरै ठाउँमा डोरी पुल राखेका छौँ’, उनले भने, ‘आवश्यकता परेमा अन्यत्र पनि थप्ने छौँ ।’ उनका अनुसार चितवनको वरण्डाभार संरक्षित वन अन्र्तगत देवघाटदेखि सीतामाईसम्म बाँदरको झुण्ड हप्ता दिनमा ओहरदोहर गर्ने गरेका छन् । पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा बाँके राष्ट्रिय निकुञ्जले ६ ठाउँमा एक वर्ष पहिले ६ वटा क्यानोपी ब्रीज सञ्चालनमा ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *