भरतपुर महानगरको बजेट: कृषकलाई अनुदान, कर्मचारीलाई भत्ता – Nepal Press

भरतपुर महानगरको बजेट: कृषकलाई अनुदान, कर्मचारीलाई भत्ता

चितवन । भरतपुर महानगरपालिकाले गत वर्ष भन्दा ६५ करोड बढी बजेट विनियोजन गरेको छ । नवौँ नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । यसअघि आठौँ नगरसभामा महानगरले ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रक्षेपण गरेको थियो ।

आज नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ ।

आगामी वर्ष हरेक वडालाई १ करोड ७० लाखका दरले २९ वडालाई एकमुष्ठ बजेट ४९ करोड ३० लाख, अधुरा योजनाको निरन्तरताका लागि ९८ करोड विनियोजन गरिएको छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा २ करोड, शिक्षा विकासमा १२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि कोभिड कोषका लागि १ करोड ९० लाख विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ९ करोड, सहकारी तथा रोजगारी प्रर्वधनमा ३ करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा ८ करोड ७० लाख, युवा तथा खेलकुदमा ३ करोड बजेट विनियोजन गरिएको छ ।

भरतपुर महनागरले यो आर्थिक वर्षमा बुझाउनुपर्ने करमा कुनै जरिवाना नलिने घोषणा गरेको छ । भरतपुर कृषकमैत्री ऋण कार्यक्रम अन्र्तरगत न्यूनतम व्याजमा कृषकले २५ लाखसम्म ऋण लिँदा २ प्रतिशत व्याज महानगरपालिकाले व्यहोर्ने जनाइएको छ । यस्तै प्रतिलिटर दुध उत्पादनमा दिइँदै आएको १ रुपैयाँ अनुदान वृद्धि गरेर ३ रुपैयाँ पुर्याइएको छ ।

महानगरले कृषि यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिने नीति लिएको छ । कर्मचारीको मनोबल उच्च बनाउन भन्दै अधिकृतस्तरका कर्मचारीलाई तलवको १० प्रतिशत र सहायकस्तर तथा श्रेणीविहीनका कर्मचारीलाई १५ प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *