गोकुल बास्कोटाको टिप्पणी- अदालतबाट निर्दल पुनःस्थापना गराउन विपक्षी गठबन्धन सडकमा – Nepal Press

गोकुल बास्कोटाको टिप्पणी- अदालतबाट निर्दल पुनःस्थापना गराउन विपक्षी गठबन्धन सडकमा

काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि अहिलेको वहुदलीय संसदीय प्रणाली नै परिवर्तन गराउन लागेको टिप्पणी गरेका छन् ।

विपक्षी गठबन्धन र ती समर्थक कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि सांसद दलीय अनुवन्धनमा नरहने र स्वतन्त्र हैसियतमा प्रधानमन्त्री चयन गर्न पाउने जिकिर गरिरहेका बेला बास्कोटाले त्यसको कटाक्ष गरेका हुन् ।

संविधानको कुनै पनि धाराले निर्दलीय व्यवस्थाको परिकल्पना नगरेको भन्दै आएका बास्कोटाले विहीवार विपक्षी गठबन्धनको छलफलको पूर्वसन्ध्यामा शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले अदालतमार्फत नेपालमा निर्दलीय व्यवस्थाको स्थापना गराउन खोजेको बताए ।

उनले भने ट्वीट गर्दै भनेका छन्, ‘विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुन:स्थापनाका लागि सडकमा हो ? संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन।त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो ।’

बास्कोटाले यदि अदालतले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि दलका सांसद जता पनि जान सक्ने र उनीहरूलाई ह्वीप नलाग्ने भनेर ब्याख्या गरेमा त्यही दिनबाट संघ र प्रदेशदेखि तहसम्मस्थानीय  अराजकता तथा किनबेचको खेल शुरु हुने बताए ।

उनले थप व्याख्या गर्दै भने, ‘आज केपी ओलीलाई सत्ताच्यूत गर्दा त मज्जा आउला तर त्यसको भोलिपल्टदेखि प्रदेशहरूमा दुई/चार जना सांसद मिलेर मोलतोल शुरु हुन्छ र सबैतिर दल छाडेर अरुकै सरकार बनाउने खेल शुरु हुन्छ । अदालतले यस्तो फैसला गर्छ भन्ने कम्तिमा मलाई लाग्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर