घर भत्किएर पालमा बसेको विक परिवारलाई आठबीस नगरले ५० हजार दिने – Nepal Press

घर भत्किएर पालमा बसेको विक परिवारलाई आठबीस नगरले ५० हजार दिने

सुर्खेत । गत साताको अविरल वर्षापछि घर भत्किएर पालमा गुजारा चलाइरहेका दैलेख आठबीस नगरपालिका–३ की कौशी विश्वकर्माको परिवारलाई नगरपालिकाले घर निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरप्रमुख खड्गराज उपाध्यायले नगरपालिकाले पचास हजार सहयोग गर्ने जानकारी दिए । ‘यो परिवारको अवस्था अत्यन्तै दयनीय छ । विभिन्न संस्थासँग सहकार्य गरेर हामीले पाल, खाद्यान्न दिएका छौं । पालबाट घरमा सार्ने प्रयासका लागि ५० हजार रुपैयाँ दिँदैछौं । प्रदेश सरकारबाट घोषित १ लाख आयो भने उहाँहरु छिट्टै घरमा बस्न पाउनुहुन्छ,’ उपाध्ययले नेपालप्रेससँग भने ।

वर्षाले घर भत्किएको र कोरोना महामारीका कारण दैनिक ज्यालादारीको काम नपाएपछि गास र बासको चरम समस्या भोगेका कौशीका परिवारलाई नगरपालिका र छिमेकीहरुले सहयोग गरिरहेका छन् । ‘छोराहरु भारतमा मजदूरी गर्न जान्थे ।कोरोनाले यसवर्ष जान पाएनन् । यही बेलामा घरै भत्कियो,’ कौशीले निराशा व्यक्त गरिन् ।

छिमेकीको सुझावअनुसार नगरपालिका पुगेकी कौशीलाई नगरप्रमुख उपाध्याय, सामाविजक सेवा केन्द्र सोसेकका प्रतिनिधि अर्जुन शाही र आठबीस विपद व्यवस्थापन समाजका नगेन्द्र शाहीले राहत जुटाउने आश्वासन दिएका थिए । कौशीले भनिन्, ‘हिजो मेयरसाव आएर पाँच हजार रुपैयाँ, पाल र खानेकुरा दिनुभयो । घर बनाउन ५० हजार दिन्छु भन्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर