नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ – Nepal Press

नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालकले कोरानाविरुद्धको खोप नपाएको भन्दै आइतबार सेवा अवरुद्ध गरे । उनीहरुले तत्काल खोप नपाए थप आन्दोलन गर्ने चेतावनी दिएपछि सोमबार नेपाल आयल निगमले खोप उपलब्ध गराउने प्रतिवद्धता जनायो । मजदुर र निगमबीचको सहमतिपछि डुवानी सेवा सुरु भयो । र, बुधबार दुई सय चालक तथा सहचालकले खोप लगाए ।

निगमले उद्योग मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी खोप उपलब्ध गराएको हो । गत ३१ गते यातायात, रेष्टुरेन्ट व्यवसायी र मजदुरले मन्त्रालयमै पुगेर निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । तामाङले प्राथमिकताका आधारमा सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि गत जेठ २६ गते निवर्तमानमन्त्री तामाङले नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै फ्रन्टलाइनमा खट्ने खेल जगतका व्यक्तिलाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिने बताएका थिए ।

गत माघदेखि नै राष्ट्रिय शिक्षक संघले शिक्षक तथा विद्यालय कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो । शिक्षक संघले कोरोनाविरुद्धको खोपका लागि आफूहरु प्राथमिकता सूचीमा पर्नुपर्ने माग राखेको थियो ।

संघले अग्रपंक्तिमा रहेर विद्यार्थीसँग प्रत्यक्ष जोडिएर अध्यापन गराउनुपर्ने भएकाले पटक-पटक खोप उपलब्ध गराइदिन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीहरुलाई खोप उपलब्ध गराउन थप पहल गर्ने विषयमा छलफल भइरहेको बताएको छ । तर, माग गरेको पाँच महिना भइसक्दा पनि शिक्षकहरुले खोप पाउन सकेका छैनन् ।

कोरोना महामारीकै बीच स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङलाई खोपका लागि आएका ज्ञापनपत्र बुझन भ्याइनभ्याइ थियो । दिनहुँजसो विभिन्न सगंठनमा आवद्ध व्यक्तिहरु आफ्ना कर्मचारीहरुलाई खोप उपलब्ध गराइदिन ताकेता गर्दै मन्त्रालय पुग्ने गर्थे ।

निर्वमान स्वास्थ्यमन्त्री तामाङले पनि ज्ञापनपत्र बुझदै खोपको प्राथमिकतामा राखिने बताउँदै आइरहेका थिए । अहिले स्वास्थ्य मन्त्रालयले लक्षित समूहहरुलाई खोप वितरण गर्दै आइरहेको छ ।

मंगलबार पदमुक्त हुनुअघिसम्म दिनमा ३, ४ वटा संगठन खोपको माग गर्दै आइरहेको निवर्तमान स्वस्थ्यमन्त्री तामाङले बताए । केही दिनयता खोप माग गर्दै कतिले अत्यावश्यक सेवा ठप्प पारेका छन् भने कतिले सेवा ठप्प गर्ने चेतावनी दिइरहेका छन् ।

चारैतिरबाट खोपको माग बढेसँगै स्वास्थ मन्त्रालय दबाबमा परेको छ । चीन सरकारले सहयोगस्वरुप दिएको खोप ६० देखि ६५ वर्ष समूहका नागरिकलाई लगाइएको थियो । अब बाँकी खोप कसलाई दिने वा लगाउने भन्नेमा मन्त्रालय नै अन्योलग्रस्त छ ।

चौतर्फी प्रेसर छ, आन्दोलन गर्दैमा खोप पाइँदैनः स्वास्थ्य मन्त्रालय

खोप माग गर्दै विभिन्न सघंसंस्था मन्त्रालय धाउन थालेपछि मन्त्रालयका कर्मचारीहरु आजित भएका छन् । अहिले खोपको माग एकदमै बढेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘खोपको माग ज्यादै बढेको छ । खोप आउने ग्यारेण्टी छैन । अहिले मन्त्रालय एकदमै दबाबमा छ’, मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल भन्छन्, ‘थप खोप ल्याउने प्रयास जारी छ । खोप आएपछि प्राथमिकताका आधारमा वितरण हुन्छ ।’

आन्दोलन गर्दैमा खोप नपाइने पनि मन्त्रालयले प्रष्ट पारेको छ । अत्यावश्यक सेवा नै बन्द गरेर खोप माग गर्न थालेपछि मन्त्रालयले आन्दोलन गर्दैमा खोप नपाइने बताएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी उल्टै प्रश्न गर्छन्, ‘सबै मान्छे आन्दोलनमा उत्रिए भने खोप चाहिँ कहाँबाट ल्याउने ?’

आन्दोलन गर्ने–नगर्ने सबैलाई खोप चाहिने भन्दै उनले खोप ल्याउनका लागि प्रयास भइरहेको र आएपछि प्राथमिकताका आधारमा वितरण हुने बताए ।

अबको प्राथमिकतामा को ?

चीन सरकारले दिएको खोप लक्षित समूहलाई लगाइसकेपछि अबको प्राथमिकता कसलाई दिने भन्ने निश्चित छैन । मन्त्रालयका सहप्रवक्त अधिकारीका अनुसार खोप आउनेवित्तिकै सबै समूहलाई लगाउने कार्यविधि बनाइएको छ । तर, खोप नआइ कसैलाई दिने, कसैलाई नदिने भन्ने हुँदैन ।

चीन सरकारले दिएको १० लाख डोज खोप ६० वर्ष भन्दा माथिकालाई लगाइसके पनि बाँकी रहेका खोप भने दोस्रो डोजका लागि राखिएको छ ।

दोस्रो डोज पनि लगाउन पुग्ने गरी पहिलो डोज खोप लगाइएको अधिकारीले बताए । ‘खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्रै पहिलो डोज लगाउने हो’, उनले भने, ‘पहिलो डोज पनि बढी जोखिममा परेकालाई पहिला लगाउनै पर्छ ।’

मन्त्रालयले खोप लगाउन चाहनेका लागि आधिकारिक रुपमा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको थियो । मन्त्रालयका अनुसार अहिले ९० प्रतिशत नागरिक खोप लगाउन चाहन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर