जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन, श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य – Nepal Press

जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन, श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य

काठमाडौ । “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् ।

२१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचार आस्था राख्ने व्यवसायिक पत्रकार सम्मिलित छन् । प्रेस काउन्सिल नेपालका सदस्य गाेपाल बुढाथाेकीसहित स्थापित पत्रकार बलराम थापा, दिपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार छन् ।

कार्यसमितिमा पत्रकार अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महा-सचिव, डिल्ली आचार्य सचिव र गाेविन्द देवकाेटा काेषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा पत्रकार केशव भुल, केशरमणि कट्टवाल, इश्वर अर्याल, सरस्वती कर्माचार्य, यदुप्रसाद पोखरेल, दीपेश शाही, ऋतु विचार, धुव्र रिजाल, सीताराम पराजुली, दिया चन्द विष्णुबहादुर बस्नेत, श्रीराम वाग्ले, कौशिला कुँवर, भुवन पौडेल,  उमेश रिमाल र बिक्रम पण्डित रहेका छन् ।

सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेकाे ठहरसहित संघले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था भएकाे विज्ञप्तिमार्फत स्पष्ट गरेकाे छ।

पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगारमुखी सञ्चारकर्मीदेखि ठूला कर्पोरेट मिडियामा श्रम गर्नेको हितमा काम गर्ने उद्देश्य खुलाउँदै साे विज्ञप्तिमा भनिएकाे छ, “पत्रकारिता क्षेत्रमा सम्बद्ध जुनसुकै राजनीतिक दलमा आस्था राख्ने व्यक्ति याे संगठनमा अटाउन सक्छ । यसको कर्म भनेकै श्रमजीवीले कानूनी हक प्राप्त गर्ने हो ।”

श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको उल्लेख छ ।

पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीकाे हकहितको प्रवर्द्धनका लागि यसअघि यस्ता संस्थाको विद्यमानता रहे पनि त्यस्ता संस्थाबाट पीडित सबै श्रमजीवीलाई न्याय दिलाउन पहलकदमी नलिएकाले यस संस्थाको आबश्यकता खट्केको निष्कर्षसहित संघले कुनै पनि पीडित श्रमजीवीलाई न्यायका लागि लड्दालड्दै थाकेर मुद्धा छोड्नुपर्ने अबस्था आउन नदिने संकल्प लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष जैसीका अनुसार समयमै न्याय दिलाउन, सबै श्रमजीवीले समयमै न्याय पाउने अबस्थाका लागि निरन्तर लागिरहने बाचा गर्दै राज्यबाट सबै सुविधा लिने तर श्रमजीवीलाई पारिश्रमिक नदिने कथित ठूला कर्पोरेट मिडियालाई तत्काल कानुनको दायरामा ल्याउन दबाब दिने काम पनि यस संस्थाले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *