पदमुक्त भएका सामान्य प्रशासन मन्त्री पहाडीका १३ दिनका १३ काम सार्वजनिक – Nepal Press

पदमुक्त भएका सामान्य प्रशासन मन्त्री पहाडीका १३ दिनका १३ काम सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट अन्यमन्त्रीसँगै पदमुक्त भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश पहाडीले आफुले गरेको १३ वटा काम सार्वजनिक गरेका छन् । गत जेठ २७ देखि असार ८ गतेसम्म १३ दिनमा गरेको १३ काम सार्वजनिक गरेका हुन् ।

यस अवधिमा उनले स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसंचालन कार्यविधी (नमूना) मस्यौदा निर्माण तथा स्वीकृत गरेका छन् । स्थानीय विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ निर्माण तथा स्वीकृत पनि गरेका छन् ।

मन्त्री पहाडीले स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ती सम्बन्धी (पोखरा महानगरपालिका समेत १२ स्थानीय तहको) प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको, स्थानीय राजश्व परामर्श समितिको कार्यसंचालन कार्यविधि (नमूना) मस्यौदा निर्माण तथा स्वीकृत भएको बताए ।

यस्तै गाउँपालिका-नगरपालिका कार्यविधि (नमूना) मस्यौदा निर्माण् तथा स्वीकृत, वीर अस्पतालको ओ एण्ड सर्भे सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश, बहुक्षेत्रीय पोषण कार्यक्रम विस्तार सम्वन्धी मापदण्ड निर्माण तथा स्वीकृत भएको छ ।

ग्रामीण सडक संजाल सुधार आयोजनाका सडक प्राथमिकीकरण सम्वन्धी मापदण्ड निर्माण तथा स्वीकृत, कर्मचारी कल्याणका माइलस्टोनमा उल्लेखित कार्यक्रम कार्यन्वयन कार्यदल निर्माण गरेको, सार्वजानिक खरिदमा कन्टिजेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने निर्देशिका २०७७ निर्माण तथा स्वीकृत भएको जनाएका छन् ।

विभिन्न कार्यविधि निर्देशिका संशोधन सम्वन्धमा (उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जनस्तर सुधार-प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार-प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम-तराई मधेश समृद्धि कार्यक्रम) विनियोजन ऐन र सुशासन ऐनको व्यवस्था, स्थानीय विपद प्रतिकार्य योजना (नमूना) मस्यौदा प्रतिवेदन स्वीकृत, र उच्च पहाडी तथा हिमाली क्षेत्र समृद्धि कार्यक्रमको कार्यदल पनि गठन गरेको मन्त्री पहाडीले आफ्नो कामको सूचीमा राखेका छन् ।

मन्त्री पहाडीका अनुसार यस बाहेक नीति प्रयोगशाला (पोलिसी ल्याब) निर्माण, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन र त्यसको कार्यन्वयनको अवस्था अध्ययन गर्ने काम, स्थानीय तहका कर्मचारीको सेवा सुविधा सम्वन्धी मापदण्ड निर्माणको काम पनि अगाडी बढाइएको छ ।

उनले छोटो अवधीको जिम्मेवारीलाई उपलब्धीमूलक बनाउन सल्लाह, सुझाव दिने मन्त्रीपरिषद्का सदस्य, मन्त्रालयका सचिवलगायत कर्मचारीलाई पनि धन्यवाद दिएका छन् । उनले मन्त्री हुँदा प्राप्त गरेका सुविधा मन्त्रालयलाई बुधबार नै बुझाईसकेको र सरकारी निवास पनि छोडिसकेको जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर