‘महिला र वृद्धा भन्दैमा जातीय विभेद गर्न छुट हुन्छ र ?’ – Nepal Press

‘महिला र वृद्धा भन्दैमा जातीय विभेद गर्न छुट हुन्छ र ?’

काठमाडौं । दलित पत्रकार रुपा सुनारलाई आफ्नो घरमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान आज रिहा भइन् । सर्वोच्च अदालतले उनीविरुद्ध प्रमाण नपुगेको भनेर हाजिरी जमानीमा छोडिदिएको छ ।

प्रधानविरुद्ध उजुरी गर्ने रुपा भने उनलाई कारवाहीविना यसरी छोडिएकोमा दुखी छन् । आरोपीले गल्ति महशुस पनि नगरेको र उनको पक्षमा एउटा समुदाय नै उभिएको भन्दै रुपाले असन्तुष्टि व्यक्त गरिन् ।नेपाल प्रेसले रुपसँग गरेको संक्षिप्त कुराकानीः

तपाईंले उजुरी हालेर हिरासतमा पुर्‍याउनुभएको व्यक्ति आज यत्तिकै रिहा हुँदा तपाईंको कुनै गुनासो छ कि छैन ?

दोषीमाथि कारवाही नहुँदा गुनासो त भइ नै हाल्छ नि । मुख्य कुरा, उहाँले गल्ति महशुस नै गर्नुभएको छैन । उमेर बढी भएको र स्वास्थ्यमा समस्या आएकाले हाजिरी जमानीमा रिहा गरेको भनिएको छ । अनुसन्धान जारी राख्ने भनिएको छ । हेरौं के हुन्छ ।

उहाँमाथि मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण नभएको कुरा आएको छ । तपाईंसँग गतिलो प्रमाण थिएन ?

किन नहुनु । उहाँसित फोनमा भएको कुराकानीको अडियो रेकर्ड नै मैले पेश गरेको छु ।

तपाईंले नियतवस उहाँलाई फसाउनका लागि आफैंले जातको कुरा निकाल्नु भएको भन्ने आरोपका विषयमा के भन्नुहुन्छ ?

हामी रमाइलोसँग नै कुराकानी गरिरहेका थियौं । त्यही क्रममा मैले ‘म त कामीको छोरी हुँ’ भनेको थिएँ । त्यसपछि एकाएक माहोल नै चेञ्ज भयो । उहाँ छाँगाबाट खसेझैं हुनुभयो । मैले त्यस्तो रेस्पोन्सको अनुमानै लगाएको थिइनँ ।

फोनमा पनि उहाँले प्रष्टरुपमा जातकै कारणले मलाई भाडा दिन नसक्ने संकेत गर्नुभएको छ । मलाई नै ‘अर्को कोही मान्छे पठाइदेउ न’ समेत भन्नुभएको थियो ।

सामाजिक सञ्जालमा तपाईंमाथि पनि नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । चेतनास्तर न्यून भएकी वृद्ध महिलालाई हिरासतमै पुर्‍याउनु बढी कठोर भयो भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?

उहाँप्रति मेरो व्यक्तिगत रिस थिएन । मैले वृद्ध, जेष्ठ नागरिक वा नेवार भनेर प्रहरीमा उजुरी गरेको पनि होइन । तर, के एउटा वृद्ध मानिस वा महिलालाई चैं जातीय विभेद गर्ने छुट छ त ? उमेरले जोसुकै होस, कानून त सबैलाई लाग्छ नि होइन ? म आफ्नो आत्मसम्मानमा चोट पुगेकाले म प्रहरीमा गएकी हुँ । यस्तो कुरा भोग्नेले मात्रै महसुस गर्न सक्छ ।

सामाजिक सञ्जालमा आएका कुराहरु मैले पनि हेरिरहेको छु । ममाथि नै नानाथरि आरोप लगाइएको छ । कामीकी छोरीले जात जनाइ भनेर पनि लेखिरहेका छन् । यसले अहिले पनि नेपालका युवापुस्ताको दलितलाई हेर्ने कति संकुचित सोच छ भन्ने उजागर हुन्छ ।

आफ्नो घर कसलाई भाडामा दिने-नदिने घरबेटीको निजी कुरा हो भन्नेहरु पनि छन् नि ?

यो निजी कुरा हो, तर अरु सबै कुरा मिलिसकेपछि दलित भएको थाहा पाउनासाथ भाडामा दिन्न भन्नु जातीय विभेदभन्दा अरु केही होइन । यो विभेदको एउटा सानो रुप मात्रै हो । योभन्दा धेरै ठूला विभेदहरु समाजमा हामीले भोग्नु परिरहेको हुन्छ ।

उहाँविरुद्ध तपाईंले उजुरी गरिसकेपछि तपाईंलाई मिल्नका लागि वा उजुरी फिर्ता लिनका लागि दवाव कत्तिको आए ?

मलाई व्यक्तिगतस्तरमा सिधै त कसैले भन्न सकेनन् । तर मैले चिनेका र आफूले मान्ने मान्छेहरुमार्फत कुरा आएका हुन् । जति पैसा चाहिन्छ, बरु दिलाइदिन्छौं भन्ने प्रस्ताव आएका थिए । तर, मलाई अरु केही चाहिएको होइन । म त न्यायको निम्ति र समानताको निम्ति लडेको हुँ ।

घरबेटीले गल्ति महसुस गरेर तपाईंसँग क्षमायाचना गर्नुभयो ?

मैले प्रहरीमा उजुरी गर्दैगर्दा उनले मेरा साथीहरुमार्फत ‘म जे गर्न परे पनि गर्छु, मेरोविरुद्ध उजुरी नदेउ’ भनेकी थिइन् । मुद्धा दर्ता भएपछि पनि माफी माग्छु भनेर भन्दै आएकी थिइन् । तर मेरो आत्मसम्मानमा चोट पुगिसकेपछि मैले कानूनी उपचारमा जानैपर्छ भनेर पछाडि हट्न चाहिनँ ।

प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि चाहिँ उनले बोली फेर्दै आएकी छन् । एउटा समुदाय नै उनलाई जोगाउन लागेपछि उनले बोली फेर्नु स्वभाविक नै हो नि ।

काठमाडौंका नेवार समुदाय तपाईंको विरुद्धमा खुलेरै उत्रिए । त्यसलाई कसरी लिनुभएको छ ?

एउटा सिंगो समुदायले यसरी जातीय विभेदलाई बढावा दिन खोज्नु एकदमै दुखलाग्दो कुरा हो । सुरुमा उहाँ आफैंले गल्ति महसुस पनि गर्नुभएको थियो । तर, एउटा समुदाय नै उहाँका पछाडि उभिन पुग्यो । तिमीले जे गर्यौ ठिक गर्यौ भन्ने तरिकाले प्रस्तुत भएपछि उहाँको मनोबल बढेको छ । यो असाध्यै खेदजनक हो ।

घरबेटीलाई छुटाउनका लागि मन्त्री नै प्रहरी चौकी जानु र आफ्नै गाडीमा हालेर घर लैजानुले यो घटना राजनीतिकरण भएजस्तो लाग्छ ?

त्यो त भएकै हो नि । यो भनिरहनै पर्दैन । विभेदविरुद्धका लडाईंलाई समुदायमाथिकै प्रहार भनेर बुझिदिनुभयो । यसबाट एउटा सिंगो समुदाय नै विभेदकारी देखिएको छ । घटनाको राजनीतिकरण पनि भएकै हो ।

एउटा व्यक्तिले अर्को व्यक्तिलाई विभेद गर्दा समुदाय कसरी त्यसका विरुद्धमा उत्रिदो रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । तपाईंले देखिरहनुभएकै छ नि पत्रकारसमेत मेरो विरुद्धमा कसरी उत्रिए । यसले समाज बुझ्ने मौका पनि दिएको छ । मैले न्याय पाउँला वा नपाउँला त्यो फरक पाटो हो । तर मैले यो विभेदकारी घिनलाग्लो समाज चिन्न पाएँ । जातीय विभेदका विरुद्धमा अझै धेरै लड्नुपर्ने अवस्था छ ।

तपाईंलाई योबीचमा फोनबाट धम्कीहरु पनि आएको हो ?

फोन त धेरै नै आइरहेका थिए । तर, व्यस्त भएर सबै फोन उठाएको पनि छैन । सामाजिक सञ्जालमा आएका धम्कीहरु त यहाँले पनि पनि हेर्नुभएकै होला ।

तपाईंले नयाँ डेरा भेट्टाउनु भयो कि खोजी जारी छ ?

म पुरानो डेरामै छु । त्यहाँ छोडिहाल्नुपर्ने अवस्था होइन । तर, एउटा मात्रै कोठा भएकाले साँघुरो भएको छ । आमा पनि सँगै बस्नुहुन्छ । लकडाउनका बेला मैले प्राय घरबाटै काम गर्नुपर्छ । अनि आमालाई पनि डिस्टर्व भयो । त्यसैले दुईवटा कोठा खोजेको हुँ ।

सरस्वती प्रधानले अब फेरि तपाईंलाई कोठा दिन तयार हुनुभयो भने के गर्नुहुन्छ ?

म कसरी त्यो घरमा गएर बस्न सक्छु जहाँ मलाई एउटा मानिसको रुपमा हेरिएन । उहाँले अझैसम्म पनि गल्ति महसुस गर्नुभएको छैन भने म किन उहाँको घरमा गएर बस्ने ?

प्रतिक्रिया

2 thoughts on “‘महिला र वृद्धा भन्दैमा जातीय विभेद गर्न छुट हुन्छ र ?’

  1. विभेद जातमा हाेइन संकुचित साेचमा छ । चाहे त्याे जुनसुकै जात हाेस् ।

  2. पत्रकार हजुर सर्बोच्चमा बन्दी प्रत्यक्षीकरणमा रिट पर्यो र ? सर्बोच्चले प्रमाण नपुगेको भनी मुद्दा नचलाउन भन्यो पनि तल हाजिरी जमानीमा छोडेकाो पनि वास्तविकता के हो? न्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *