१५ दिनभित्र कर बुझाउन चलचित्र विकास कम्पनीलाई निर्देशन – Nepal Press

१५ दिनभित्र कर बुझाउन चलचित्र विकास कम्पनीलाई निर्देशन

उद्धव पौडेल सम्पर्कमा नआएको भन्दै सूचना प्रकाशित

काठमाडौं । १५ दिनभित्र कर दाखिला गर्न निर्देशन दिँदै आन्तरिक राजस्व कार्यालयले चलचित्र विकास कम्पनीको नाममा सूचना जारी गरेको छ ।

आर्थिक वर्ष ०७३/०७४ वर्षयताको सबै कर चुक्ता गर्न निर्देशन दिइएको र समयमा कर नबुझाए कानून अनुसार अघि बढ्ने तयारी राजस्व कार्यालयको छ ।

कार्यालयको बालाजु शाखाका सूचना अधिकारी राजु विश्वकर्माले सूचना जारी गरिएको र कर विवरण नबुझाए प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘उहाँहरु सम्पर्कमा नआउनु भएपछि असार ७ गते सूचना जारी गरेका हौं’ उनले भने ।

सरकारले असार २५ गतेसम्म चालु आर्थिक वर्षको कर तिर्न सबैलाई भनेको छ । तर, चलचित्र विकास कम्पनीलाई लिएर केही वर्षयता तीव्र विवाद छ ।

२०४८ सालपछि सरकारले चलचित्र विकास कम्पनीलाई लिजमा दिएको थियो । सरकारले २७ रोपनी जग्गा उपलब्ध गराएपनि अहिले ६.७५ रोपनी क्षेत्रफलमा जग्गा खुम्चिएको छ ।

हराएको २० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै पछिल्लो वर्ष कम्पनी विवादमा मुछिएको छ । कम्पनी निर्देशकको रुपमा पछिल्लो समय बरिष्ठ फिल्म निर्माता उद्धव पौडेल छन् ।

कर तिर्न पटक-पटक आग्रह गरिएपनि पौडेलसहित कम्पनीका पदाधिकारी सम्पर्कमा नआएको जनाइएको छ । चलचित्र विकास कम्पनी निजीकरण भएको पहिलो सरकारी संस्थान थियो । तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाले सरकारी जग्गालाई व्यक्तिगत बनाउनेलार्ई पानी मुनी गएर कार्वाही गर्ने बताएका थिए ।

चलचित्र विकास कम्पनीको भवन र जग्गालाई अहिले गोपिकृष्ण मूभिज र केही फिल्म कलेजले उपभोग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर