संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ, यहि बेला हामीले धक्का हान्न सक्नुपर्छ : कमल थापा (भिडिओ) – Nepal Press

संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ, यहि बेला हामीले धक्का हान्न सक्नुपर्छ : कमल थापा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको समेत बताए । यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने उनले बताए ।

विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ । यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रुपमा स्थापित हुने । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफुलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता छ ।’

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । पार्टी गतिहिन भएको भन्दै यहीँ अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उनले उल्लेख गरे । तीतामीठा कुरा बिर्सेर एकताबद्ध हुन पनि आम पार्टी पंक्तिलाई उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर