धरहरा त २ वर्षमा बनायौं, सभ्यता भत्कियो भने दुई पुस्तामा बन्दैन – Nepal Press
नेपाल चिन्तन

धरहरा त २ वर्षमा बनायौं, सभ्यता भत्कियो भने दुई पुस्तामा बन्दैन

मोदीजीलाई धन्यवाद, योग नेपालमा उत्पति भएको हिमवत्खण्डको उपलब्धी हो

मैले अस्ति माघ १ गते पनि यस अन्तर्राष्ट्रिय योग दिवसका बारेमा चर्चा गरेको थिएँ । यो भूमि योगभूमि हो । यो भूमि तपोभूमि हो । यो भूमि ध्यानभूमि हो । यो भूमि ज्ञानभूमि हो । यसै भूमिमा हजारौँ वर्ष अगाडि योग प्रारम्भ भएको थियो । विश्वास गरिन्छ- शिव अर्थात् शम्भुनाथले लगभग १५ हजार वर्ष अघि सूर्य दक्षिणायन लाग्ने दिन, अर्थात् उत्तरायणको अन्तिम दिन, जुन दिन सबैभन्दा लामो हुन्छ, त्यसैदिन योग आरम्भ गर्नुभएको थियो । सायद, आज १३ घन्टा ५६ मिनेटको दिन छ । यो उत्तरी गोलार्धको यस वर्षको सबैभन्दा लामो दिन हो । यस दिन आफ्ना सातवटा शिष्य सप्तऋषिलाई अगाडि राखेर शिवले योगको बारेमा शिक्षादीक्षा प्रारम्भ गर्नुभएको थियो भन्ने विश्वास गरिन्छ ।

त्यहाँबाट शैव दर्शन, योग र सभ्यताको रूपमा शैव सभ्यता सुरू भएको विश्वास गरिन्छ । अर्थात् यही भूमि पुरानो भाषामा भन्ने हो भने हिमवतखण्ड, त्यसमा पनि खासगरी नेपाल, यहीँबाट योग प्रारम्भ भएको थियो । समयक्रममा योग परिमार्जित र विकसित हुँदै गयो । महर्षि कपिलमुनिले शांख्य दर्शन आरम्भ गर्नुभयो । शांख्य दर्शनबाट पृथक नभएको योग त्यहाँबाट आरम्भ भयो । योगबाट शांख्य दर्शनलाई पृथक गर्न सकिँदैन भन्ने कपिलमुनिको भनाइ छ ।

कपिलमुनिदेखि शुकरातसम्म

कपिलमुनिले योगलाई दर्शनसँग जोडेर, जीवनसँग जोडेर, जीवन र प्रकृतिसँग जोडेर योग-मानिस र प्रकृतिबारे ब्याख्या गर्नुभयो । सृष्टि कसरी सञ्चालन हुन्छ ? उत्पत्ति र विनाश, यी सबै कुराहरूकोे दार्शनिक आधार उहाँले अगाडि सार्नु भयो । त्यस अनुसार सृष्टिसम्बन्धी व्याख्या अगाडि बढाउनु भयो । जुन व्याख्यालाई त्यसभन्दा पछिका अनेक महर्षिहरूले पनि अगाडि बढाउनु भयो । हामी अष्टावक्रकै नाम लिन सक्छौँ । चरवाकको नाम लिन सक्छौँ । त्यसै गरेर सिद्धार्थ गौतमको नाम लिन सक्छौँ । त्यसै गरेर अरु विद्वानहरूको नाम लिन सक्छौँ र गौतम बुद्धभन्दा लगभग दुई शताब्दीपछि इसापूर्व चौथो शताब्दितिर युनान अथवा ग्रिसका महर्षि शुकरातको पनि नाम लिन सक्छौँ । जसलाई सोकरेटरस् भनिन्छ, यी ऋषिहरूको नाम लिन सकिन्छ । महर्षि सुकरातले पनि त्यसको चिन्तन र दर्शनको अभ्यासलाई अगाडि बढाउनु भयो । त्यसपछिका अनेक विद्वानले अगाडि बढाउनु भयो । र, योगको विकासको सन्दर्भलाई हेर्ने हो भने पछिल्लो समय आएर महर्षि पतञ्जलीले योगलाई बढी व्यवस्थित रूपमा प्रस्तुत गर्नुभयो, जुन सबैभन्दा परिमार्जित, परिस्कृत र विकसित रूपमा मानिन्छ ।

आज योग ज्यादै महत्वपूर्ण आवश्यकता हो । यो आवश्यकता अलिकति फेसन, अलिकति आडम्बर, अलिकति व्यापार, अलिकति, ब्राण्ड, अलिकति लोगो पनि हुन खोजेको छ, जो सही होइन । योग आडम्बर हुँदै होइन ।

आज योग ज्यादै महत्वपूर्ण आवश्यकता हो । यो आवश्यकता अलिकति फेसन, अलिकति आडम्बर, अलिकति व्यापार, अलिकति, ब्राण्ड, अलिकति लोगो पनि हुन खोजेको छ, जो सही होइन । योग आडम्बर हुँदै होइन ।

योगले साबुन पानीले नुहाएर सफा हुने कुरालाई पनि छाला सफाइ गर्ने कुरालाई पनि सफाइभित्र राख्छ । तर, त्योभन्दा बढी समाजलाई चाहिएको सफाइ, मान्छेको मनको सफाइ, मस्तिष्को सफाइ, आचरणको सफाइ, व्यवहारको सफाइ, भावनाको सफाइ अथवा आन्तरिक सफाइ सबैभन्दा ठूलो कुरा हो ।

बाहिरी सफाइका लागि योग आवश्यक छैन, साबुन पानीले नै हुन्छ । त्यसलाई पनि योगको एउटा पक्षको रूपमा राख्न सकिएला, तर त्यसका लागि ठूलो केही पनि गरिरहनु पर्दैन । अभ्यास, त्याग, तपस्या केही पनि गर्नु पर्दैन । तर आन्तरिक हिसाबले मानिस मानिस झैँ अनुशासित, सभ्य, मानवीय भावनाले ओतप्रोत, शान्तिप्रिय र परोपकारी हुनका लागि योगका वास्तविक पक्षहरू धारण गर्न र अभ्यास गर्न जरुरी छ । त्यसै कारण महर्षि पतञ्जलीले अष्टाङ्ग योग भनेर योगका आठवटा प्रमुख अंगहरू छुट्याउनु भएको हो ।

आज हामीले योगका आठवटा अंगमध्ये लगभग दुईवटा, आसन र प्राणायामको पक्षलाई अनुशरण गरेका छौँ । ध्यानको पनि थोरै पक्ष मात्र अनुशरण गरिरहेका छौँ । नत्रभने आसनको पक्ष र प्राणायामको पक्ष मात्र प्रयोग भएको छ । प्राणायामको पनि प्राणायामभन्दा बढी अरु नै कुरालाई हामी प्राणायाम भनिराखेका छौँ ।

योग अन्धविश्वासमा आधारित छैन । शांख्यले, योगले कुनै धर्मसँग, कुनै अध्यात्मसँग अरु कुनै कुरासँग सम्बन्ध राख्दैन । योगले सत्यसँग मात्रै सम्बन्ध राख्छ, अन्धविश्वाससँग राख्दैन । खोजसँग पनि योगले सम्बन्ध राख्दैन । जिज्ञासासँग पनि योगले सम्बन्ध राख्दैन । योगले सम्बन्ध राख्छ सत्यसँग, तथ्यसँग, प्रमाणित कुरासँग । जो पुष्टि भएको छैन र पुष्टि हुँदैन, त्यस्ता कुराहरूका पछाडि योग लाग्दैन । यो मेरो भनाई होइन, यो कपिलमुनिको भनाइ हो । यो अरु ऋषिमहर्षिहरूको भनाइ हो ।

महर्षि कार्ल मार्क्स

आजको विश्वका जीवित विद्वानहरूमध्ये कुरुक्षेत्र निवासी डाक्टर हिम्मतसिंह सिन्हाजस्ता विद्वान कमै होलान् । धेरै ठूला महर्षिहरू छन् । आजकाल महर्षि भन्ने चलन छैन, डाक्टर भनिन्छ, प्राध्यापक भनिन्छ । म महर्षि ठान्छु । कुरु क्षेत्र निवासी डाक्टर हिम्मतसिंह सिन्हा, आजको समकालीन दुनियाँमा त्यति ठूलो विद्वान सायद कमै होलान् वा छैनन् भन्ने लाग्छ मलाई । जसलाई हाम्रो समाज विकासका क्रमहरूको जानकारी छ । यसका निम्ति हामीले धेरै दार्शनिकहरू, धेरै विद्वानहरूको जानकारी राख्नु पर्ने हुन्छ ।

मैले अघि नाम लिएका थुप्रै विद्वानहरू, थुप्रै महर्षिहरू, जस्तैः महर्षि डार्विन, महर्षि कार्लमार्क्स, यस्ता अरु थुप्रै महर्षिहरूका विभिन्न प्रकारका योगदान छन् । र, आजका महर्षिहरूमा दक्षिण भारतकै सद्गुरु, जग्गी वासुदेवजस्ता विद्वान महर्षिहरू छन् । जसले योगको अध्ययन गरेका छन्, शास्त्रहरूको अध्ययन गरेका छन् र मानव जीवनको, मानव जीवनका आवश्यकताहरूको र मानव जीवन कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अध्ययन अनुसन्धान गरेका छन् । यस्ता विद्वानहरू कसैले पनि अन्धविश्वास होइन, विश्वास हो भन्ने स्थापित गरेका छन् । उनीहरू अनुमानमा होइन, तथ्यमा आधारित कुरामा ध्यान दिन्छन् ।

योगले मुख्यरुपमा हामीलाई अनुशासनमा बस्न, सदाचार अपनाउन, सद्गुण अपनाउन अभिप्रेरित गर्छ । हामीले पञ्चगुणमध्ये रजगुण र तमगुणलाई परित्याग गर्नुपर्छ । मिश्रित गुण देवगुण, त्यसबाट संघर्ष गरेर कमजोर पक्षहरुलाई हटाएर, प्रवल पक्षलाईं अंगीकार गर्नुपर्छ र हामी सद्गुणतर्फ जानुपर्छ ।

योगका आठवटा नियमहरूमध्ये मैले यदाकदा बोल्ने मौका पाउँदा भन्ने गरेको छु, आठवटा अंगहरूमध्ये पहिलो अंग यम हो । यमले आचरणमा जोड दिन्छ । आचरणको शुद्धताबाट योगका अन्य अंगहरूमा प्रवेश गर्न सकिन्छ । योगको पहिलो अंग नै यम हो । पहिलो अंग यमले आचरणमा जोड दिन्छ ।

यसका पाँच भाग छन् । आचरण भनेको सत्यमा अडिग रहौँ भनेको हो । सत्यप्रतिको निष्ठामा अड, निष्ठापूर्वक त्यसको पालना गर, असत्य कुनै हिसाबले पनि अंगीकार नगर । भ्रमले, त्रासले कुनै हिसाबले पनि असत्य होइन, सत्यको मार्ग अबलम्वन गर, सत्यमा अडिग हौ । असत्यलाई अस्वीकार गर, असत्यसँग लड । अर्थात्, सही कुराहरूको पक्षमा उभिऔं, सही काम गर, त्यसलाई व्यवहारमा ल्याऔं, असत्यका विरुद्धमा लड, असत्यलाई हावी हुन नदिउँ, सत्यलाई विजयी बनाउँ । त्यहाँबाट योग सुरू हुन्छ ।

यमका पाँचवटा शाखाहरू छन्, पहिलो सत्य हो भने दोस्रो अहिंसा, अर्थात् शान्ति । त्यसै गरेर नियमभित्र अरु शाखाहरू छन् । योगले मुख्यरूपमा हामीलाई अनुशासनमा बस्न, सदाचार अपनाउन, सद्गुण अपनाउन अभिप्रेरित गर्छ । हामीले पञ्चगुण मध्ये रजगुण र तमगुणलाई परित्याग गर्नुपर्छ । मिश्रित गुण देवगुण, त्यसबाट संघर्ष गरेर कमजोर पक्षहरूलाई हटाएर, प्रवल पक्षलाई अंगीकार गर्नुपर्छ र हामी सद्गुणतर्फ जानुपर्छ ।

हामीले विभिन्न प्रकारका क्लेशहरू हटाउँदै खराव वृत्तिहरू छोड्नु पर्छ । काम, क्रोध, लोभ, मोह, मद, मत्सर्य जस्ता कुराहरूबाट अलग हुनुपर्छ । त्यसका निम्ति प्रत्याहार एउटा विधा छुट्टै छ, एउटा अंग छ । त्यसले कुनै पनि खराब कुराहरूसँग आकर्षण हुन नदेउ, इन्द्रीयलाई नियन्त्रणमा राख, आफ्नो हकबाहेकको कुनै कुरामा आशक्त नहोऔं, आशक्तिबाट मुक्त होऔं भन्नेजस्ता कुराहरू सिकाउँछ ।

योग कमजोर हुँदा अराजकता

नेपालमा आज अराजकता किन छ ? योग कमजोर छ, त्यसैले । मानिसहरू योगी छैनन् । योगीहरू सत्यका लागि लडिरहेका छैनन् । योगीहरू निष्ठापूर्वक सत्यका निम्ति मैदानमा उत्रिएका छैनन् । इतिहासमा एकजना मान्छे जब सत्यका लागि मैदानमा उत्रिन्छ, तब क्रान्ति हुन्छ । त्यसले ठूलो परिवर्तन हुन्छ ।

बुद्धले मानव जीवनका अनेक चरणहरू, अनेक पक्षहरू देखे । उनले जीवनका विभत्स पक्षहरू देखे । त्यसपछि तिनीहरूबाट कसरी मुक्त हुन सकिन्छ भनेर उनले दरवार छोडे । राजपाठ छोडे । राजपाठ समाउन लागेको र दरवारमा ऐश आराममा बसेको युवराज, जब राजदरवारबाट खालीहात राजगद्दि, परिवार, श्रीमती र सन्तान परित्याग गरेर निस्किन्छ, जब मानव जातिको सुखको खोजीका निम्ति निस्कन्छ, तव बुझ्नु पर्दछ- एउटा वैचारिक क्रान्ति हुनेवाला छ । त्यसकारण बुद्धबाट वैचारिक क्रान्ति भयो । बुद्धको गृहत्याग साधारण कुरा थिएन । त्यसैबाट एउटा वैचारिक क्रान्ति सुरू हुने थियो, बुद्धको विचारले एउटा तहल्का मच्चायो र आफ्नो प्रभावक्षेत्र विस्तार गर्दै गयो ।

धर्मतिर अनुचित ढंगले फस्यो भने धर्मयुद्ध हुने डर हुन्छ । जसले मान्छेलाई फेरि हिंसामा फसाउँछ, द्वन्द्वमा फसाउँछ, युद्धमा फसाउँछ र घृणामा फसाउँछ । परस्परमा आज धर्मका नामका जुन प्रतिस्पर्धा भएका छन्, आज आफूले अवलम्बन गरेको धर्म श्रेष्ठ भन्ने जुन दावी चलेका छन्, ती हिंसातर्फ प्रवृत्त छन् । धर्मलाई वैयक्तिक विश्वास र निष्ठाको मानसिक तलबाट अपनाउनु पर्छ, सामाजिक अभियान होइन । धर्मलाई आफ्नो अहंकार सिद्ध गर्ने क्लेश र द्वन्द्वको विषय बनाउनु हुँदैन । यसो गर्दा फेरि हामी उही रजगुण र तमगुणमा पुग्छौँ । धर्मका नाममा लडाइँ गर्न थाल्यौं भने फेरि अहंकारका उही क्लेशहरू र तिनै दोषहरूमा जान्छौँ हामी, तिनै क्रोधमा जान्छौँ हामी, त्यही मोहमा जान्छौँ हामी । त्यसकारण त्यसबाट मुक्त भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।

धर्मलाई वैयक्तिक विश्वास र निष्ठाको मानसिक तलबाट अपनाउनु पर्छ, सामाजिक अभियान होइन । धर्मलाई आफ्नो अहंकार सिद्ध गर्ने क्लेश र द्वन्द्वको विषय बनाउनु हुँदैन । यसो गर्दा फेरि हामी उही रजगुण र तमगुणमा पुग्छौँ ।

ध्यान आवश्यक छ । आसन पनि आवश्यक छ । प्राणायाम आवश्यक छ । तर, यदि यम बिनाको, नियमबिनाको वा प्रत्याहार बिनाको, लोभबाट उन्मुक्ति बिनाको, जैविक र प्राकृतिक हकभन्दा बाहिरको वा सामाजिक मूल्यले तोकेका हकभन्दा बाहिरको अथवा न्यायले भन्ने हक (कानूनले होइन) भन्दा बाहिरको कुरामा हामीले लोभ गर्न छोड्ने, प्रत्याहार पालना गर्‍यौँ भने बल्ल आसन, प्राणायाम, धारणा ध्यान र समाधीजस्ता कुराहरूको अर्थ हुन्छ ।

यदि हामीले यमका अनुशासन, नियम पालना गरेनौं भने, नियमका अनुशासन पालना गरेनौं भने, यदि हामीले प्रत्याहारमा ध्यान दिएनौं भने, यदि हामीले त्यसबाट निस्किएका निष्कर्षहरूलाई धारण गरेर सही कुराको धारणबाट धारणा बनाउन सकेनौं भने अथवा हामीले हाम्रा निष्कर्षहरूलाई परिमार्जित गर्ने ध्यान, आफ्ना विचारहरूलाई परिस्कृत बनाउने र उच्चस्तरमा पुर्‍याउने, व्यवस्थित गर्ने ध्यान, मानवहित, लोककल्याणका निम्तिको धारणालाई माथि उठाउन सक्ने ध्यान गरेनौं भने समाधी प्राप्त हुन सक्दैन । तसर्थः हामीले यी कुराहरूतर्फ ध्यान दिन जरुरी छ ।

यसका निम्ति ध्यान दिन योगअभ्यासमा लागेका हाम्रा योग केन्द्रहरूलाई र योग अभ्यासमा लागिरहेका योग अभ्यास गराउने गुरुहरूलाई आग्रह गर्न चाहन्छु । यहाँहरूले आसन मात्रै नगराउनुस्, आसनभन्दा अगाडि यम गराउनुस् । तपाईंका शिष्यहरूलाई कमसेकम म सत्यप्रति निष्ठावान छु भन्ने बोध गर्न लगाउनुस् । म सत्य निष्ठाको अवलम्वन गर्छु, असत्यको अगाडि झुक्दिनँ भन्नुस्, भन्न लगाउनुस् । एउटा मान्छेले संकल्प गर्‍यो भने धेरै फरक पर्छ ।

नित्सेले ईश्वरको मृत्यु घोषणा गरे

मैले कुनै अर्को सन्दर्भमा पनि मेरो मन्तव्यको क्रममा भनेको थिएँ । जर्मनी १६ टुक्रामा बाँडिएको थियो । बेलायतले अलिअलि, लक्जेम्वर्गले अलिकति, डेनमार्कले अलिकति, पोल्याण्डले अलिकति, बेल्जियमले अलिकति होला, विभिन्नले चारैतिरबाट चुँडचाँड गरेर जर्मनीलाई १६ ठाउँमा खण्डित गरेका थिए ।

त्यतिबेला जर्मनीमा नित्से भन्ने एकजना प्रोफेसर थिए । त्यसबेला जे हुन्छ भगवानले गर्छ, हामीले केही गर्नु पर्दैन, भगवानको इच्छामा नै सबै चल्छ भन्ने आम विश्वास थियो । नित्सेले भने भगवान होइन, तिमीले गर्नुपर्छ भन्थे । उनले आफ्ना शिष्यहरूलाई यति मजबुत ढंगले बताए कि त्यो प्रसंग म यहाँ अहिले ल्याइरहन चाहन्नँ । उनले ईश्वरको मृत्यु भएको घोषणा गरे ।

अत्यन्त मजबुत ढंगले उनले बताए कि कसले यो जर्मनीलाई एकीकृत गर्छ त अब ? विभिन्न देशका कब्जाबाट जर्मनीलाई कसले मुक्त गर्छ ? उनका शिष्यहरू वरिपरी सडकमा आएका थिए । उनको गम्भीर प्रश्न थियो- यो तिमीले गर्नुपर्छ, हामीले नै गर्नुपर्छ, हामीले नै गर्न सक्छौँ, अरु कसैले गर्दिने होइन ।

भगवानले गरिदिन्छ भन्नलाई भगवानले कब्जा गरेको हो र ? जर्मनी फुटाइदिएको भगवानले हो र ? अरु देशले आक्रमण गरेका हुन्, त्यो देशबाट फिर्ता ल्याउन पर्‍यो भने हामीले गर्नुपर्छ । पहिला तिमी आफू मुक्त र स्वतन्त्र बन, तव तिमी आफैँ गर्न सक्छौ । अनि नित्सेका शिष्यहरू बोले ।

तिनीहरूमध्ये एकजना थिए विस्मार्क, उनी पछि आइरन म्यान भनेर चिनिए । जर्मनीका चान्सलर भए । उनले भने, म बनाउँछु यो देश, म एकीकृत गर्छु यो देश । उनका साथीहरूले त्यसै गरेर भने, म बनाउँछु । र, त्यही जेनेरेशनले जर्मनी बनायो । उनै विस्मार्क, जसले महर्षि नित्सेको अगाडि कवुल गरिरहेका थिए, हामी बनाउँछौँ भनेर । तिनीहरूले नै आफ्नै जीवनमा एकीकृत गरे र जर्मनी फेरि एउटा अत्यन्त मजबुत र शक्तिशाली राष्ट्रको रूपमा उदायो, एकीकृत पनि भयो ।

नित्सेले भने भगवान होइन, तिमीले गर्नुपर्छ भन्थे । उनले आफ्ना शिष्यहरुलाई यति मजबुत ढंगले बताए कि त्यो प्रसंग म यहाँ अहिले ल्याइरहन चाहन्नँ । उनले ईश्वरको मृत्यु भएको घोषणा गरे ।

बुद्ध एकजनाले दरवार छोडे । शिक्षाको एउटा अभियान चलाए । त्यसले २६ सय वर्षपछि आज पनि विश्वलाई प्रज्ज्वल्लित गरिरहेको छ, उज्यालो दिइराखेको छ, बाटो देखाइरहेको छ । शान्तिको आवश्यकता बताइरहेको छ । शान्तिको मार्ग बताइरहेको छ । हामी आज पनि ध्यानका कुरा गरिरहेका छौँ, आज पनि बुद्धका विचारका कुरा गरिरहेका छौँ । बुद्ध दर्शनका कुरा गरिराखेका छौँ । एउटा मान्छेले गर्दा यस्तो भयो ।

डार्विन एकजनाले विकासवादी सिद्धान्तलाई अगाडि सार्दा दुनियाँको विज्ञान, जीवविज्ञान, यसमा उथलपुथलकारी परिवर्तन आयो । यस्ता थुप्रै विद्वानहरू विभिन्न क्षेत्रमा भनौं, त्यस्ता विद्वानहरूकोे एउटा प्रयासबाट त्यो विश्वव्यापी हुन्छ । हामीले पनि आफूमा विश्वास गर्नुपर्‍यो, आफूलाई विश्वास गर्नुपर्‍यो । हामीले हाम्रो पिँढीमा आत्मविश्वास जगाउनु पर्‍यो र त्यो आत्मविश्वास हाम्रो नयाँ पिढीँमा, युवा पुस्तामा हस्तान्तरण गर्नुपर्‍यो । नयाँ पुस्तामा आत्मविश्वास जगाउन पर्‍यो । हाम्रो देश जोगाउन हामी सक्छौँ, हाम्रो देश हामी मजबुत बनाउन सक्छौँ, हाम्रो देशलाई संसारको सबैभन्दा नमूना, सभ्यतायुक्त, समृद्ध र सुखी बनाउन सक्छौँ ।

सांस्कृतिक अधपतनको महामारी

आज हामी कोरोना महामारीको समयमा छौँ । त्यसकारण यति थोरै मान्छे भेला भएर यसरी कार्यक्रम मनाउनु परेको छ । दशौंहजारको संख्यामा मनाउँथ्यौँ । तर, आज हामीले केही मान्छे जम्मा भएर दूरसञ्चारका माध्यमबाट यसलाई दाजुभाइ दिदीबहिनीहरूसमक्ष पुर्‍याउनु परेको छ ।

यो कोभिड महामारीले ठूलो क्षति गरेको छ । कोभिडसँग लड्न मास्क लगाउनु पर्छ, सामाजिक दूरी कायम गर्नुपर्छ, भ्याक्सिन आविष्कार गर्नुपर्छ, भ्याक्सिन पत्ता लगाएर भ्याक्सिन लगाउनु पर्छ, जोगिनु पर्छ, इम्युन सिस्टम बढाउनु पर्छ । यो हामीले बुुझेका छौँ र बढीमा एक वर्ष, दुई वर्ष लाग्ला, कोभिड-१९ लाई हामी समाप्त पार्छौँ ।

कोरोना महामारी समाप्त पार्छौँ । तर, हाम्रो साँस्कृतिक अधपतनको, हाम्रो सभ्यताको अधपतनको- यो महामारी जुन अहिले हाम्रो समाजमा चलिराखेको छ, यसलाई कुनै भ्याक्सिनले, कुनै मास्कले, कुनै सोसल डिस्ट्यान्सले समाप्त गर्नेवाला छैन ।

हामीले यसलाई सावधानीसाथ रोक्न सकेनौँ भने यसले पिँढी दरपिँढी, (जेनेरेशन टु जेनेरेशन) हाम्रो समाजलाई ध्वस्त पार्छ । त्यसकारण साँस्कृतिक अधपतनको महामारी जुन छ, यसले हाम्रो गौरवपूर्ण इतिहास र सभ्यताको आज माखौल उडाएको छ ।

हामी दुनियाँका सबैभन्दा असभ्य, असंस्कृत, भद्दा अभिव्यक्ति दिनेभित्र पर्न थालेका छौँ । सामाजिक सञ्जाल हेरिसक्नु हुन्छ र ? तपाईंले सामाजिक सञ्जालमा एउटा लेख दिनुभयो भने त्यसकोे टिप्पणी हुँदैन । एकाध टिप्पणी हुन्छ, बाँकी गालीगलौज, लाजभाड, अश्लील, छाडा, वैयक्तिक कुण्ठाहरू सबै त्यहाँ ल्याएर छरेको हुन्छ, पोखेको हुन्छ । यो के हो भन्दा साँस्कृतिक अधपतन हो ।

कोरोना महामारी समाप्त पार्छौँ । तर, हाम्रो साँस्कृतिक अधपतनको, हाम्रो सभ्यताको अधपतनको- यो महामारी जुन अहिले हाम्रो समाजमा चलिराखेको छ, यसलाई कुनै भ्याक्सिनले, कुनै मास्कले, कुनै सोसल डिस्ट्यान्सले समाप्त गर्नेवाला छैन ।

हाम्रोजस्तो सभ्यताको शुरूआत भएको देश । सभ्यताको शुरूआत भएको यो भूमि, जसलाई देवभूमि भन्ने गरियो । ज्ञानभूमि भन्ने गरियो, तपोभूमि भन्ने गरियो । यस देशमा आज असभ्यता छरपस्ट छ । हामी असभ्यताको फागु खेलिराखेका छौँ । यो बडो चिन्ताको विषय हो । त्यसकारण आज हाम्रा योगाअभ्यासले, हाम्रा योगसम्बन्धी दर्शनले, हाम्रा योगसम्बन्धी चिन्तनले, हाम्रा योगसम्बन्धी अभ्यासहरूले, यी सबै कुराले यो साँस्कृतिक अधपतनलाई रोक्न सक्नु पर्दछ ।

एउटा मजवुत भवन भत्कियो भने पनि दुई वर्षमा बनाउन सकिन्छ । हाम्रो धरहरा, हाम्रो इतिहास भत्कियो । हामीले दुई वर्षभित्र धरहरा बनायौं । तर, हाम्रो सभ्यताको धरहरा भत्कियो भने, हाम्रो संस्कृतिको धरहरा भत्कियो भने, दुई वर्षमा बन्दैन । दुई पुस्तामा बन्दैन । त्यसकारण हामी समयमै सजग हुनुपर्दछ । त्यसैले योगले आसनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्दछ । आसनमा भन्दा आज ध्यान दिनुपर्ने अनुशासनमा छ ।

शुकरात र प्लेटोको कथा

योगले अनुशासन केलाई भन्छ ? पहिलो कुरा त सत्यप्रतिको अमल निष्ठा चाहिन्छ । असत्यसँग नझुक्ने, असत्यलाई अस्वीकार गर्ने, त्यसलाई भन्छ अनुशासन । सत्यप्र्रति निष्ठासाथ उभिने । शुकरातलाई एथेन्सवासीहरूले मृत्युको सजाय सुनाए र उनीहरूले शुकरातलाई विषको प्याला पिएर मर्नुपर्छ भने । उनका शिष्य प्लेटोले गुरुलाई बचाउनु पर्छ भनेर शासकहरूसँग संवाद गरे । शासकहरूसँग गुरुलाई बचाउने कुरा गरे ।

गुरुलाई कसरी बचाउने भन्दा शासकहरूले भने- एथेन्सवासीहरूले गरेको फैसला हो, शुकरातलाई बचाउनका लागि हामी केही पनि गर्न सक्दैनौं । हामी माफी पनि दिन सक्दैनौं, किनभने यो नागरिकहरूले गरेको फैसला हो, एथेन्सवासीले गरेको फैसला हो । तसर्थ, उनले मृत्युदण्ड त पाउँछन् नै । यसो भनेपछि अब प्लेटोलाई आपत पर्‍यो ।

प्रत्यक्ष क्षमा दिन मिल्दैन भने कसरी बचाउने त ? मेरा गुरु भनेका एउटा जोगी हुन्, एउटा सन्यासी हुन् । उनको कुनै स्वार्थ छैन, उनी सत्यका पुजारी हुन्, उनले सत्य बोले । अहिलेको सामाजिक मान्यताले, अहिले हामीले धारण गरिरहेको धर्मले शुकरातले धर्म विरोधी काम गरेको भन्छ र उनलाई मृत्युदण्ड भन्छ भने मेरा गुरुले त्यसलाई असत्य मान्नु हुन्छ । त्यसकारण त्यससँग सम्झौता गर्नुहुन्न, माफी माग्नुहुन्न । अब उहाँलाई के गरेर बचाउने हो ? एउटा जोगी हो, एउटा सन्यासी हो, एउटा महर्षि हो, एउटा त्यागी हो, एउटा ज्ञानी हो, एउटा ध्यानी हो । त्यसको रक्षा कसरी गर्ने ? अनि शासकहरूले उनलाई भने- एउटा राम्रो मजबुत घोडा लगेर अगाडि राख्दिउँला, पालेहरूलाई निदाएजस्तो गर्न लगाइदिउँला, तिनीहरू निदाएजस्तो गर्नेछन् । तिम्रा गुरु शुकरात बाहिर निस्किउन्, घोडा चढून्, अन्तै जाउन् ।

हामी दुनियाँका सबैभन्दा असभ्य, असंस्कृत, भद्दा अभिव्यक्ति दिनेभित्र पर्न थालेका छौँ । सामाजिक सञ्जाल हेरिसक्नु हुन्छ र ? तपाईंले सामाजिक सञ्जालमा एउटा लेख दिनुभयो भने त्यसकोे टिप्पणी हुँदैन । एकाध टिप्पणी हुन्छ, बाँकी गालीगलौज, लाजभाड, अश्लील, छाडा, वैयक्तिक कुण्ठाहरु सबै त्यहाँ ल्याएर छरेको हुन्छ, पोखेको हुन्छ । यो के हो भन्दा साँस्कृतिक अधपतन हो ।

राम्रो उपाय हो भनेर प्लेटो फर्किए र प्लेटोले गुरुलाई त्यही भने । शुकरातले भने- प्लेटो तिमी मेरो शिष्य लायकको रहेनछौँ । तिमीले मलाई चिनेनौ । म सत्य भन्ने मात्रै मान्छे होइन, म सत्यको पुजारी हुँ, पालक हुँ । सत्य धारण गर्ने मान्छे हुँ । म सत्य भन्ने र असत्यको मार्गमा सत्य छोेडेर घोेडा चढेर भाग्ने भगौडा होइन । सत्य बोल्दा ज्यान जाने खतरा भएपछि ज्यान बचाउनका लागि घोडा चढेर भाग्ने, लुसुक्क शासकहरूसँग साँठगाँठ गरेर भाग्ने मान्छे म होइन । त्यसकारण म बाँच्नका निम्ति सत्य छोड्दिनँ ।

मैले सत्य छोडेँ भने इतिहासले मलाई के भन्ने छ भोलि ? सत्य भन्ने कुरा मात्रै हो, सत्यको पुजारी भनेको शुकरात त ज्यान बचाउनका लागि सत्य छोडेर घोडा चढेर भाग्यो भन्नेछन् । सत्यप्रति दृढताका साथ उभिन्छु भन्थ्यो, उभिएन, भाग्यो भन्नेछन् ।

म त्यस्तो भगौडा होइन, सत्यको पुजारी हुँ । शुकरात त्यहीँ बसे, जान मानेनन् । शासकहरू पनि आश्चर्यचकित भए, प्लेटो पनि आश्चर्यचकित भए, दुखित भए । भोलिपल्ट बिहान शुकरातले विषको प्याला पिए । र, सत्यप्रतिको आफ्नो निष्ठा कायम राखेर उनले आफ्नो ज्यान छोडे, ज्यान दिए । यही कुरा भन्छ योगले- ‘सत्यप्रतिको निष्ठा अमल निष्ठा ।’

कानून पालना नगर्दा गर्व गर्ने

सभ्यता, शिष्टता, मर्यादा, यमको दोस्रो पछिको दोस्रो नियम नै अहिंसा हो । अहिंसा भनेपछि अरुलाई अन्याय पर्ने, अरुलाई घोच मार्ने, अरुको चित्त दुख्ने, अरुको मानमर्दन हुने, अरुलाई होच्याउने, अरुलाई घोचपेच गर्ने कुनै कुराहरू गर्नु हुँदैन । हिंसा भनेको स्थुल मारकाटको रूपमा मात्रै, द्वन्द्वको रूपमा मात्रै, लडाइँको रूपमा मात्रै हुँदैन । हिंसाका सानातिना सुक्ष्म पक्षहरू पनि छन् । हिंसात्मक सोच, ती पनि गर्नु हुँदैन ।

त्यसकारण यतिबेला हाम्रो देशमा दुईवटा हिसाबले योगको असाधारण महत्व छ । एउटा कोभिड-१९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ्य राख्न, शारीरिक मानसिक हिसाबले स्वस्थ्य राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचारदेखि लिएर सबै कुराहरू गर्न र प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादीता जगाउन, जीवनलाई वस्तुपरक रूपमा जीवनको रूपमा हेर्न र बुझ्न योग जरुरी छ । योगको महत्व यतिबेला असाधारण छ ।

हाम्रो धरहरा, हाम्रो इतिहास भत्कियो । हामीले दुई वर्षभित्र धरहरा बनायौं । तर, हाम्रो सभ्यताको धरहरा भत्कियो भने, हाम्रो संस्कृतिको धरहरा भत्कियो भने, दुई वर्षमा बन्दैन । दुई पुस्तामा बन्दैन । त्यसकारण हामी समयमै सजग हुनुपर्दछ । त्यसैले योगले आसनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्दछ ।

योगको आवश्यकता यतिबेला सबैभन्दा बढेको छ । तर, त्योभन्दा बढी आज देशमा मैले अघि नै भनेँ, साँस्कृतिक अधपतन छ । महामारीको रूपमा फैलिएको छ । यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौं, हाम्रो नयाँ पिँढीलाई सम्झाउन सकेनौं । अरुको नक्कल गर्ने तरिकाले हामी आफ्ना सभ्यता, शिष्टता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ, कानून तोड्नुलाई गर्वको विषय बनाउँछौँ ।

कानूनको पालना नगर्नु, कानून तोड्नु गर्वको विषय ! मैले त तोड्दिएँ नि ! मैले मानिनँ ! कानुन तोड्नुमा गर्व गर्ने, यो अनुचित कुरा हो । अनुशासनहीन हुनुलाई ठूलो कुरा ठान्ने र देखावटी प्रवृत्तिहरू छन् । आचरणहरू सबै यथार्थ होइन, देखावटी । भ्रष्टाचारको विरोध देखावटी, अरु नराम्रा कुराहरूको विरोध देखावटी । भनिन्छ नि- बर्को ओढेर घिउ खाने प्रवृत्ति । वनावटी र देखावटी प्रवृत्ति । त्यसबाट देशलाई मुक्त गर्न र वास्तवमा जीनवयापनको लागि प्राविधिक र व्यावहारिक हिसाबले सक्षम हुने, सँगसँगै गुणवत्ता, सँगसँगै आचरणयुक्त, शान्तिप्रिय, देशभक्त, मानवतावादी नागरिकहरूको उत्पादन योग शिक्षाबाट गर्न सकिन्छ ।

म यहाँहरूलाई योग प्रोटोकलहरूमा आवश्यक सुधार गर्न पनि आग्रह गर्न चाहन्छु । हामी योग प्रोटोकल बनाउँछौँ । त्यसमा योगको समग्र अर्थ र महत्व, त्यसको परिणाम प्राप्त हुनेगरी प्रोटेकोल निर्धारण गर्नुपर्छ । बाह्य परिणाम मात्रै होइन, वैयक्तिक परिणाम मात्र होइन, सामाजिक परिणामहरू प्राप्त हुनेगरी त्यसका प्रोटोकलहरूलाई पनि व्यवस्थित गर्नु जरुरी ठान्दछु ।

योग शिक्षा पाठ्यक्रममा राखौं

हामीले योगशिक्षालाई पाठ्यक्रममा राख्न चाहेका छौँ । तर साँच्चैको योगशिक्षा, योगशिक्षाको रूपमा पाठ्यक्रममा प्रस्तुत हुन सकेको छैन । त्यसकारण पाठ्यक्रममा योगशिक्षा प्रस्तुत हुनेगरी पाठ्यक्रम तयार गरौँ । योग विद्यालय स्थापना गरौँ, सञ्चालन गरौँ । त्यो योग विद्यालय बेग्लै योग विद्यालय हो ।

जसले मान्छेलाई पढाउँछ, सिकाउँछ, अभ्यास गराउँछ । जस्तो हामी अभ्यास गछौँ विज्ञानका क्लासहरूमा । योगका क्लासहरूमा पनि हामी त्यस्तै अभ्यास गर्न सक्छौँ । हामीले यम कति बुझ्यौं ? कति अभ्यस्त छौँ ? त्यसै गरेर नियमप्रति कति अभ्यस्त भएका छौँ ? त्यसै गरेर प्राणायामसँग कति अभ्यस्त भएका छौँ ?

आसनसँग कति अभ्यस्त भयौँ ? कुनकुन आवश्यक छ हामीलाई आसन ? मान्छेको शारीरिक बनोटदेखि रक्तस्थितिदेखि लिएर, उसको भित्री स्वास्थ्य स्थितिदेखि लिएर उसको मुटुको अवस्था, उसको फोक्सोको अवस्था, उसको किड्नीको अवस्था, लिभरको अवस्था, ब्लडप्रेसरको अवस्था, मधुमेहको अवस्था अथवा अम्लियताको अवस्था कस्तो छ ? त्यस अनुसारको योग सिकाइनु, गर्नु र गराइनु पर्‍यो । एउटा त के भने, एकछिन् प्रचारका लागि दशौं हजारलाई राखेर हामी चकटी ओछ्याएर योग गर्न सक्छौँ ।

अनुशासनहीन हुनुलाई ठूलो कुरा ठान्ने र देखावटी प्रवृत्तिहरु छन् । आचरणहरु सबै यथार्थ होइन, देखावटी । भ्रष्टाचारको विरोध देखावटी, अरु नराम्रा कुराहरुको विरोध देखावटी । भनिन्छ नि- बर्को ओढेर घिउ खाने प्रवृत्ति । वनावटी र देखावटी प्रवृत्ति ।

त्यसमा सामान्यभन्दा सामान्य कसैलाई धक्का नपर्ने, घच्चा नपर्नेगरी योग गर्न सकिन्छ । ब्लडप्रेसर हाइ भएकोलाई पनि हुने, मधुमेह उच्च भएकोलाई पनि हुने, ब्लडप्रेसर लो भएकोलाई पनि हुने, अम्लपित्त भएकोलाई पनि हुने, जुनसुकै बिरामी भएकोलाई पनि हुने, नभएकोलाई पनि हुने । शीर्षासन गर्न नहुनेलाई पनि हुने, शीर्षासन गर्न हुनेलाई पनि हुने । बलियालाई पनि हुने, कमजोरलाई पनि हुने । बालबालिकालाई पनि, ज्येष्ठ नागरिकलाई पनि हुने । त्यस्ता आसनहरू गर्न सिकाउँछौँ । नत्रभने सबै आसन सिकाउन सकिँदैन । त्यसकारण व्यक्ति अनुसारका आसनहरू हामीले अभ्यास गराउनु पर्दछ ।

आसनका सन्दर्भमा कतिपय ठाउँमा दुर्घटना हुनसक्छ । आसनले, योगले दुर्घटना हुन सक्दैन भन्न सकिँदैन, दुर्घटना हुन्छ । योगबाट राम्रो प्रतिफल आओस् भन्नका लागि हामीले योग गर्ने हो । कहिले कहिले त्यसबाट नराम्रो प्रतिफल आउँछ, यदि अज्ञानतावस गलत अभ्यास गरियो भने । त्यसकारण योग अज्ञानतावस गर्नु हुँदैन । योग अज्ञानतामा सिर्जना पनि हुँदैन, अगाडि पनि बढ्दैन । त्यसैकारण गुरुबिनाको शिक्षा शास्त्रले वर्जित गरेको छ । हामी शास्त्रमा गुरुबिना पनि एकलव्यले शिक्षा प्राप्त गरेको देख्छौँ ।

धनुवाण चलाउनु त ठूलो कुरा होइन । तर, सबै शिक्षा गुरुबिना वर्जित नै हुन्छ । योग पनि गुरु बिना त्यसको अर्थ र महत्व बुझिँदैन योग त्यो नबुझिकन हुँदैन । तसर्थ, यी कुराहरूलाई बढी व्यवस्थित ढंगले लान विद्यालय चलाउने र विद्यालयबाट निस्किएका हाम्रा प्रशिक्षकहरू, योगगुरुहरूले त्यसलाई बढी व्यवस्थित ढंगले सञ्चालन गर्नु पर्दछ । योग गुरुहरूले-यहाँहरूले जे गरिराख्नु भएको छ, योग केन्द्रहरू चलाइरहनु भएको छ, यो प्रशंसनीय छ । म योग गुरु पनि होइन, म योगी पनि होइन र म यस विषयको अध्येता पनि होइन । मेरो साधारण जानकारीमा योगका नाममा जस्ताजस्ता कुरा हुने गरेका छन्, बहुत प्रसिद्ध पनि भइराखेको देख्छु र यो क्षणिक हो । यसले योगको मर्मलाई धान्दैन । अहिले हामीले जे गरिराखेका छौँ, हामी जत्रो भवन बनाउन खोज्दैछौँ, यो त्यसको जग यो हुँदैन, त्यसको खम्बा यो हुन सक्दैन । त्यसकारण हामीले यथार्थ योग, त्यसलाई अगाडि बढाउन जरुरी छ ।

हामीसँग कस्तुरी थियो, तर हामीले त्यो कस्तुरीको चर्चा गरेनौँ । हामीले हाम्रा विद्वानहरुको कुनै कदर गरेनौं । अन्तअन्तका विद्वानहरुको नाम लिने । हामीले हाम्रा ऋषिमुनिहरु, विद्वानहरुको कहिल्यै कोटेशन (quotation) उक्ति उद्धरण पनि गरेनौँ । फलानो प्रोफेसर, उहाँको, त्यहाँको प्रोफेसर भनेर अन्यत्रको प्रोफेसरको कुरा गर्छाैँ ।

जसबाट हामीले हाम्रो समाजलाई एउटा उत्कृष्ट, सभ्य, सम्भ्रान्त समाज बनाउन सक्छौँ । नमूना समाज बनाउन सक्छौँ, नमूना मानवीय समाज बनाउन सक्छौँ । समाज, सामाजिक प्रबन्ध, मानिसको व्यवहार, आचरण सिक्न नेपाल जाऔं, हेर्न नेपाल जाऔं भन्ने खालको हुन सकोस् । हाम्रो भूभाग पछि बनेको कलिलो पहाड भएको छ । उच्च हिमाल र कलिलो पहाड छ । यो भूस्खलन, पहिरो, बाढी, भिराला पहाड, अतिवृष्टि, मनसुन सबै कुराले हाम्रो भूभाग भूकम्पीय क्षेत्र हो । यस्ता अनेक कुराहरूले हामीलाई प्रभावित गर्छन् नै । यद्यपि यो सामुद्रिक आँधी आदिको क्षेत्र होइन । तर एउटै धर्ती न हो, त्यसबाट फेरि प्रभावित भइहाल्छ । यी कुराहरूका प्रभाव यहाँ छन् । योगले मानिस र वातावरण, इकोसिस्टममा, इकोव्यालेन्समा असाध्यै ध्यान दिन्छ । योगले सन्तुलनमा ध्यान दिन्छ । सन्तुलनमा ध्यान दिने भएको हुनाले यसले इकोसिस्टमतिर पृथ्वी र मानिसका बीचको, प्रकृति र मानिसका बीचको सम्बन्धहरूलाई व्यवस्थित गर्ने भएको हुनाले यसले अर्थतन्त्रमा मात्रै होइन, वातावरणमा पनि, आर्थिक उन्नतिमा मात्रै होइन, मानवीय उन्नति, भौतिक पूर्वाधार मात्रै होइन, सामाजिक पूर्वाधार र मानवीय पूर्वाधारमा पनि यसको असाधारण योगदान हुनसक्छ । यतापट्टि हामी सबैले सजगताका साथ ध्यान दिन जरुरी छ र त्यसअनुसार हाम्रो योेगशिक्षा, योग अध्यासलाई अगाडि बढाउन जरुरी छ भन्ने मलाई लाग्छ ।

आज हामीलाई सम्माननीय राष्ट्रपतिज्यूले सन्देश पठाउनु भएर उत्साहित गर्नु भएको छ । म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अर्का सालसम्ममा हामी कोभिड १९ को महामारी नियन्त्रण गरिसकेका हुनेछौँ । हामीले खोप लगाइसकेका हुनेछौँ । यस महामारीको अन्त्य भएपछि अर्का साल हामी सम्भवत फराकिलो ठाउँ टुँडिखेलमा योग गर्नेछौँ । एकछिन योग अभ्यास गराएर केही हुने होइन । योग नियमित प्रक्रिया हो । त्यसकारण ध्यानाकर्षणका लागि एकछिन् योग अभ्यास गरौं, बिहानै कार्यक्रम आयोजना गरौं, एउटै कार्यक्रम आयोजना गरौं, विभिन्न ठाउँका कार्यक्रमहरूलाई एकै ठाउँमा ल्याऔं र अर्को वर्षदेखि हरेक क्याम्पसहरू, हरेक विद्यालयहरू, हरेक संघसंस्थाहरू सबैमा योग गरौँ ।

योगअन्तर्राष्ट्रिय योग दिवस सुरू यहीँबाट भयो र राष्ट्रका सीमाहरू नाघेर बाहिर बाहिर पनि पुग्यो । धेरै वर्ष अघि नै यसलाई २४ वटा देशहरूमा पुर्‍याइसकिएको थियो । तर, सरकारमा योगप्रति ध्यान नजाँदा हाम्रो तर्फबाट यथेष्ट प्रयास भएन । हाम्रो तर्फबाट बुद्धको बारेमा यथेष्ट ध्यान नजानु, केही वर्षदेखि हामीले बुद्ध, बुद्धको जन्मथलो, बुद्ध दर्शन आदिको सम्बन्धमा हाइलाइट गरेर अगाडि बढाएका छौँ, यस्तो पहिले भएको थिएन । नत्र यहाँ त अशोेक आएर स्तम्भ गाडिदिनु पर्ने, फाय यान र वेन चाङले लिखतको चिह्न गाडिदिनु पर्ने, उथान्त आएर यहीँ ठाउँ हो भनेर भन्दिनु पर्ने, उथान्तले यहाँ विकास गर भन्दिनु पर्ने । टाँगेले मास्टर प्लान(गुरु योजना) बनाइदिनु पर्ने । अरुले यसो सहयोग गर्दिएपछि हामीले बनाउने ।

सबैभन्दा लामो दिनलाई शिवले आफ्ना शिष्यहरुलाई प्रवचन दिएर, योग शिक्षा दिएर योग सुरु भएको थियो । त्यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मानिनु पर्छ भनेर भारतबाट जुन प्रस्ताव गयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले जुन प्रस्ताव गर्नुभयो, त्यसमा हामी खुशी हुनु पर्दछ । उहाँले प्रस्ताव गर्नुभयो । यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो‍ ।

यत्तिको लुम्बिनी जो छ, यही लुम्बिनी बनाउन कुनै अन्तर्राष्ट्रिय सहयोग चाहिने थिएन । अहिले जुन छ लुम्बिनी, के त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ ? पाँचहजार अट्ने हामीले ध्यान केन्द्र बनायौं त । त्योभन्दा ठूलो संरचना त केही पनि छैन । अरु त विभिन्न देशले आफ्नोआफ्नो तरिकाले बनाएका छन् । लुम्बिनीमा विकासचाहिँ भयो, तर कहाँनिर ? यत्रो अन्तर्राष्ट्रिय सहयोगको कुरा गछौँ, विकास भयो, कहाँ त ? केमा भयो ? मायादेवी मन्दिर ? त्यो त पुरानो घर भत्किन लागेको छ ।

यो किन भयो भन्दाखेरी हाम्रो रुचि नभएर । अरुले रुचि राख्ने हामीले नराख्ने भएपछि त यस्तै हुन्छ । बाहिरी सहयोग आवश्यकै नभएका ठाउँमा बाहिरी सहयोग आएको छ । आवश्यक भएको काममा बाह्य सहयोग लगाउन सकेका छैनौँ । यत्रो वर्ष लुम्बिनीमा बाह्य सहयोग आयो, भयो के ? यति वर्षपछि तिलौराकोट उत्खनन् भएको अलिकति तथ्य बाहिर आयो । रामनगरमा हामी अलिकति प्रचार गर्दैछौँ । त्यसै गरेर बुद्धको मावलीको हामी चर्चा गरिराखेका छौँ र अहिले बुद्ध सर्किटको कुरा गरिरहेका छौँ ।

हामी आफूले आफ्नो ठाउँलाई जगाउनु पर्छ । हामीसँग कस्तुरी थियो, तर हामीले त्यो कस्तुरीको चर्चा गरेनौँ । हामीले हाम्रा विद्वानहरूको कुनै कदर गरेनौं । अन्तअन्तका विद्वानहरूको नाम लिने । हामीले हाम्रा ऋषिमुनिहरू, विद्वानहरूको कहिल्यै कोटेशन (quotation) उक्ति उद्धरण पनि गरेनौँ । फलानो प्रोफेसर, उहाँको, त्यहाँको प्रोफेसर भनेर अन्यत्रको प्रोफेसरको कुरा गर्छाैँ । यस विषयमा मैले धेरै केही भनिरहनु छैन । तर, हामी अरुलाई पच्छ्याउने, नक्कल गर्ने, अरुको कुरामा, उपलब्धिमा गर्व गर्ने, आफू उपलब्धि नगर्ने संकल्प नगर्ने भयौँ । हामी संकल्पहीन भयौँ । त्यसकारण अबको आवश्यकता आफ्नो संकल्प, आफ्नो अठोट लिनुपर्छ ।

मोदीलाई धन्यवाद, योगको उत्पति नेपालमा भएको हो

किन हामीले योगलाई अन्तर्राष्ट्रियकरण गर्न सकेनौं ? तपाईंहरूले वैयक्तिक तवरमा अथवा केही व्यक्तिहरूका प्रयासहरूले गर्नुभयो । राज्यले ध्यान दिएन । तपाईंहरूले संयुक्त राष्ट्र संघको मञ्चबाट विश्वको ध्यानाकर्षण गराउन मञ्च पाउनु भएन । जसले मञ्च प्रयोग गर्न पायो उसले हाम्रो सम्पदाको उच्चारण गरेन । उच्चारण नै नगरेपछि हुने कुरै भएन । उच्चारण किन गरेन ? उसको ज्ञान नै भएन । त्यसो भएपछि कसरी अगाडि बढ्छ ? जेहोस् अन्तर्राष्ट्रियकरण हुनु पर्दथ्यो ।

योग कुनै देश विशेषको नभइ धरतीको यसखण्डको, अर्थात् तत्कालीन महान भारतवर्ष भित्रको हिमवत्खण्डको उपलब्धि हो । वास्तवमा देशकै नाम लिने हो भने योग नेपालमा नै भएको हो । त्यतिबेला एकीकृत भारत निर्माण भएको थिएन । भारतवर्षमा रजौटाहरु थिए, स्वाभाविक रुपमा स-साना रजौटाहरुको एकखालको महाद्वीप भन्दा पनि त्यो अलिकति उप-महाद्वीपजस्तो थियो ।

अर्थात्, योगले उहिल्यै विश्वव्यापी रूपमा मान्यता पाउनु पर्दथ्यो । यसको विश्वव्यापी प्रचार हुनु पर्दथ्यो । विश्वव्यापी रूपमा अंगिकार गरिनु पर्दथ्यो । त्यसका लागि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्नु पथ्र्यो । ठीकै ढङ्गले विद्वानहरूलाई अध्ययन गराएर नै दक्षिणायन लाग्ने दिन अथवा उत्तरायणको अन्तिम दिन, सबैभन्दा लामो दिनलाई शिवले आफ्ना शिष्यहरूलाई प्रवचन दिएर, योग शिक्षा दिएर योग सुरू भएको थियो । त्यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मानिनु पर्छ भनेर भारतबाट जुन प्रस्ताव गयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले जुन प्रस्ताव गर्नुभयो, त्यसमा हामी खुशी हुनु पर्दछ । उहाँले प्रस्ताव गर्नुभयो । यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्‍यो ।

भत्किएको धरहरा २ वर्षमा बनायौं, तर भत्किँदै गरेको सभ्यता दुई पुस्तामा पनि बन्दैन

योग कुनै देश विशेषको नभइ धरतीको यसखण्डको, अर्थात् तत्कालीन महान भारतवर्ष भित्रको हिमवत्खण्डको उपलब्धि हो । वास्तवमा देशकै नाम लिने हो भने योग नेपालमा नै भएको हो । त्यतिबेला एकीकृत भारत निर्माण भएको थिएन । भारतवर्षमा रजौटाहरू थिए, स्वाभाविक रूपमा स-साना रजौटाहरूको एकखालको महाद्वीप भन्दा पनि त्यो अलिकति उप-महाद्वीपजस्तो थियो ।

दक्षिण एसिया र अलिअलि दक्षिण एसिया भन्दा बाहिर समेत तिब्बती प्लाटु थियो, जस्तो- कैलाश पर्वत, मानसरोबर खण्ड र ब्रह्मलोकका अरु क्षेत्रहरू समेत हिमवत्खण्डमा योगको उत्पत्ति भएको थियो । पतञ्जली जस्ता महर्षिको यहीँ जन्म भएको थियो । यहीँ अभ्यास गरेका थिए । योग र शांख्य दर्शनका प्रवर्तक र व्याख्याता कपिलमुनि यहीँका थिए । अरु विभिन्न विधाका ऋषिमुनिहरू पनि जस्तो औषधि विज्ञानका, आयुर्वेदका महर्षि चरकजस्ता विद्वानहरू यहीँका थिए । जसले औषधि विज्ञानसम्बन्धी चरक संहिता लेख्नुभयो । अर्का सुश्रुत्रजस्ता विद्वान यहीँका थिए । जसले २७/२८ सय वर्ष अगाडि सल्यक्रियाको व्यवस्थित रूपले उत्थान गरे ।

जसले यहीँ गण्डकीको किनारमा, त्रिवेणीको किनारमा अभ्यास गरेका थिए । त्यो तथ्य कतिपय विद्वानहरूले लुकाउँछन् । हिमाली जडिबुटीको वनारसमा बसेर अध्ययन गर्न सकिँदैन । चरक संहिता होस् अथवा सुश्रुत संहिता होस् । आयुर्वेद, औषधि विज्ञान होस् वा सल्यक्रिया विज्ञान होस् । यिनीहरूमा जुन औषधि विज्ञानको चर्चा गरिएको छ, हिमाली जडिबुटीहरूको चर्चा गरिएको छ, वनारस बसेर त्यसको अध्ययन गर्न सकिँदैनथ्यो । यहाँ बसेर त्यसको अध्ययन हुन्थ्यो । उहाँहरूले यहाँ बसेर गर्नु भएको हो ।

शल्यक्रिया विज्ञानको विकास गरिसकेपछि सुश्रुतले वनारसमा गएर शल्यक्रियाका अभ्यासहरू गर्नुभयो । तर त्यससम्बन्धी सारा अध्ययन, र खोजचाहिँ यहीँका पहाडी भूमिहरूमा, गण्डकी किनारमा भएका थिए । यी सबै विद्वानहरू, ऋषि विश्वामित्र, ऋषि कौशिक जसले मन्त्रहरूको पनि मन्त्र गायत्री मन्त्र ‘ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात्’ को रचना गरे । त्यो मन्त्रका रचयिता यहीँका थिए र यहीँ चतरामा लेखिएको थियो त्यो मन्त्र । यहीँ रचना भएको थियो । विश्वामित्र राम, लक्ष्मणलाई शिक्षा दिनका लागि कोशी नदी तरेर पश्चिमतिर आएका थिए । शास्त्रहरूले त्यही भन्छ । पश्चिमतिर, अर्थात् दशवटा रथ भएका राजा नेमीको अयोध्यापुरीतिर । जनकपुर, अर्थात्, यज्ञवल्क्य, अष्टावक्र, गार्गी आदि विद्वानहरू, दार्शनिकहरू, चिन्तकहरू यहीँका थिए ।

अयोध्यापुरीदेखि वाल्मिकी आश्रमसम्म नेपालमै

यसरी नेपाल ज्ञानको प्रादुर्भाव भएको, सभ्यता प्रादुर्भाव भएको ठाउँ हो यो । अघि नै भने अनुसार अयोध्यापुरी यहीँ नै थियो । वाल्मिकी आश्रम त्यहीँ थियो । सीताले समाधि प्राप्त गरेको देवघाट त्यहीँ थियो । यी सत्य कुरा हुन् । अघि एकजना वक्ताले भन्नुभयो- अब यसलाई समेटेर हाम्रो वास्तविक इतिहास लेखिनुपर्छ । यहाँ इतिहास लेख्न अथवा सत्य कुरा भन्न पनि दच्किने हच्किने, कसो होला, भनौं कि नभनौं भन्ने अवस्था छ । चेतानाले एउटा कुरा गर्छ, मुखले त्यो कुरा भन्न सक्दैन । त्यस्तो खालको स्थिति हुनुहुँदैन ।

हामीले सभ्यताको सन्दर्भमा अन्याय गर्न मिल्दैन । हामीले इतिहासको सम्बन्धमा अन्याय गर्न मिल्दैन । हाम्रो गौरवपूर्ण इतिहास, हाम्रो योगदान होइन, हाम्रा पूर्वजहरूको योगदान हो । त्यसलाई र त्यसप्रति गर्व गर्ने र त्यो गर्वलाई निरन्तरता दिएर अगाडि बढाउने गर्नुपर्छ । त्यसलाई विलुप्त हुन नदिने, त्यसलाई विस्तार गर्ने अभिभारा आज हाम्रो काँधमा छ । यस योग दिवसले त्यस अभिभाराप्रति हामी सबैलाई सजग गराउनु पदर्छ ।

यस अवसरमा म सबै महानुभावहरू, सबै दिदीबहिनी दाजुभाइहरूमा यस दिवसले सबैको स्वास्थ्य राम्रो राखोस्, सबैमा सुस्वास्थ्य, सुमन सुचित्त, सुचिन्तन, सुव्यवहार तर्फ प्रवृत गराओस्, सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु । यसको आयोजना गरेकोमा शिक्षा मन्त्रालयलाई विशेष धन्यवाद भन्न चाहन्छु । सबै विद्वान मित्रहरूलाई तथ्य आधारित अध्ययन गर्न र भोकल भएर अध्ययनका निष्कर्षहरूलाई प्रस्तुत गर्न पनि म आग्रह गर्न चाहन्छु । मैले अघि केही अहिले भइरहेका भारतका विद्वानहरूका नाम लिएँ ।

गायत्री मन्त्र ‘ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात्’ को रचना गरे । त्यो मन्त्रका रचयिता यहीँका थिए र यहीँ चतरामा लेखिएको थियो त्यो मन्त्र । यहीँ रचना भएको थियो । विश्वामित्र राम, लक्ष्मणलाई शिक्षा दिनका लागि कोशी नदी तरेर पश्चिमतिर आएका थिए ।

डाक्टर हिम्मत सिंह सिन्हा, उहाँ महर्षिको मैले नाम लिएँ । उहाँ ९२ वर्ष पुगेर ९३ वर्ष लाग्न लाग्नु भएको छ । अहिले पनि उहाँको प्रवचन, स्मरणशक्ति पनि योगअभ्यासले नै होला, यति ताजा छ र उहाँको प्रवचन सरक्क उतारेर छाप्दा हुन्छ । ओशोका प्रवचन एक खालका हुन्थे । उताररेर छापेदेखि किताव हुन्छ । सम्पादन आवश्यक छैन । ओशोले शब्दहरू तौलिएर खिपेर बोलेका हुन्छन् ।

ओशोका दृष्टान्तहरू, उपमाहरू संस्कृत साहित्य वाङ्ग्मयको पृष्ठभूमिबाट आएका, उहाँमा अंग्रेजी लगायत अनेक भाषामा दख्खल थियो । तर संस्कृतको पृष्ठभूमिबाट आएको देखिन्थ्यो । दृष्टान्त, उपमा विम्बहरूको प्रयोग आदि कलात्म रूपमा प्रस्तुत भएका छन् । कसले के भन्छ भन्ने कुराको मतलब नराखिकन लागेको सत्य प्रकट गर्नुभयो । त्यो ओशोको निर्भीकता हो । मान्छे कसैले आलोचना गर्छ कि भनेर बहुत डराउँछ । सधैँ राम्रो हुन खोज्छ । सधैंँ राम्रो हुन खोजेपछि कहिल्यै पनि राम्रो हुँदैन । ओशोले राम्रो हुन कहिल्यै पनि खोज्नु भएन । राम्रो भनाइन कहिल्यै पनि खोज्नु भएन । गुणगान गराउन कहिल्यै पनि खोज्नु भएन । सत्य प्रकट गर्नुभयो । विस्तारै विस्तारै मान्छेले ओशोलाई चिन्दै जान्छन्, जान्दै जान्छन् र ओशोको विद्धता र ओशोको सत्यप्रतिको निष्ठालाई बुझ्दै जान्छन् । कोही रिसाउँछ कि भन्ने कुरामा उहाँले पर्वाह गर्नु भएन । कति देशमा पुग्दा उहाँलाई अफ्ठ्यारो पनि भयो होला । कति देशले लखेट्यो, खेद्यो होला । कति धार्मिक सम्प्रदायहरूले मन पराएनन् होला । कति कर्मकाण्डीले आफ्नो कर्मकाण्ड खोसिने ठानेर भयभित भएहोला, तर उहाँका आफ्ना सोचहरू सधैँ खुलस्त प्रकट भइरहे ।

फ्रायडका विचारहरूसँग सहमत, असहमत जे पनि हुनुस्, तर फ्रायड एक शाहसिक दार्शनिक हुन् । जसले आफूले ठानेको, मानेको, जानेको सत्य खुलस्त रूपमा प्रकट गरे । सत्य हामीले खुलस्त रूपमा प्रकट गर्ने गर्‍यौँ भने त्यसले मन्थनबाट एउटा सही निष्कर्ष निकाल्छ । त्यसले मान्छेलाई अभ्यास दिन्छ, मान्छेलाई निर्भीकता र सत्य बोल्ने अभ्यास दिन्छ । यस्ता पूर्वज, अग्रज र समकालीन विद्वानहरूबाट हामी थुप्रै कुराहरू सिक्न सक्छौँ । केही साथीहरूले इतिहासको लेखन खोजी गर्ने काम थाल्नु भएको छ, यो राम्रो कुरा हो । यसलाई हामीले प्रोत्साहित गर्नुपर्छ । वास्तविक र सत्य इतिहासको खोज होस् र त्यसको प्रकटीकरण होस् भन्ने सबैको चाहना छ । त्यो हामी गर्छौँ, हामीले गर्नु पर्छ ।

योग फलाना व्यक्तिको, फलाना गुरुको, फलानो योगगुरुको, फलानो योगीको, फलानो साँच्चै योगीको, फलानो व्यापारी योगीको भन्ने कुरा होइन । यो हाम्रो साझा सम्पदा हो । त्यसकारण यसलाई यथार्थ रूपमा अगाडि बढाऔँ । म सिंगो समाजलाई आग्रह गर्न चाहन्छु र त्यसमाथि विशेषगरी नयाँ पिँढीलाई- योगका मर्महरू समाजका लागि आवश्यक छन्, जीवनका लागि आवश्यक छन्, त्यसमा अभ्यस्त हुन आग्रह गर्न चाहन्छु । योगाभ्यासी साथीहरू र योगका प्रशिक्षक, योग गुरुहरूलाई आग्रह गर्न चाहन्छु कि यसलाई अझ यथार्थ योग बनाऔँ । हामीले हाम्रो मौलिक र पूर्ण योगलाई समाएर अगाडि बढाउने हो । अपभ्रंश स्वार्थवस् हुन्छ । अपभ्रंशित कुरालाई हामीले समाउने होइन, मौलिक कुरालाई समाउने हो । मौलिक कुराहरूलाई हामीले समायानुकूल ढङ्गले विकास गर्ने हो । यस दिशामा सबै लागौँ भन्ने आग्रह गर्न चाहन्छु । सरकारको तर्फबाट गर्नुपर्ने सहयोग होइन, गर्नुपर्ने काम हो यो । यो कसैका लागि गरिदिने सहयोगको कुरा होइन । यो गर्नुपर्ने काम, सरकार तपाईहरूसँग मिलेर गर्न तयार छ । यो कुरा साथीहरूलाई म स्पष्ट भन्न चाहन्छु । फेरि पनि आयोजनाका लागि धन्यवाद दिँदै आफ्नो भनाई टुङ्ग्याउँछु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन, २०२१) का अवसरमा व्यक्त गरेको विचारको पूर्णपाठ)


प्रतिक्रिया

4 thoughts on “धरहरा त २ वर्षमा बनायौं, सभ्यता भत्कियो भने दुई पुस्तामा बन्दैन

  1. धन्यवाद सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु 🇳🇵✊🙏❤️❤️

  2. जसले जे भने नी केपी ओली जतिको ज्ञानले भरिएको अरु नेता छैनन्। आफ्नो इतिहास र संस्कृतिको जोगाउनु पर्छ भन्ने उहाको आसय बुजौ। धन्यबाद प्रधानमन्त्री ज्यु

  3. सहि कुरा गर्नु भयो प्रधान मन्त्रिजिउ…!!! तेसैले त् सारा नेपाली जनता MCC को बिरोध र आवसेक परे प्रतिकार गर्न पनि पछि नहट्ने सोचमा छन…!!! तर, के तपाइको सोचमा MCC बिना संसोधन, नेपालको संसद बाटै पास गराय, आदिकाल देखि चल्दै आएको नेपालको सभ्यता, हिन्दुत्वो र परम्परा जोगिन्छ जस्तो लाग्छ…???

Leave a Reply

Your email address will not be published. Required fields are marked *