कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग – Nepal Press

कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई ६ लाख ६९ हजार ४०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक/एक थान, ग्लुकोमिटर एक/एक थान, मास्क १०० थान, पञ्जा १०० थान र स्यानिटाइजर प्रत्येक नगरपालिका तथा गाउँपालिकाकामा पुगी वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष तथा सहयोग अभियानका संयोजक भीम खड्काले बताए ।

स्वास्थ्य सामग्री खरिद गर्नुअघि प्रत्येक पालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक सामग्री अनुरुप खरिद गरी सहयोग गरिएको संयोजक खड्काले बताए । कोभिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लाको तामाकोशी सेवा समितिद्वारा सञ्चालित तामाकोशी अस्पताललाई पनि पालिकालाई दिए बराबर स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

पछिल्लो समय जिल्लामा पनि कोरोनाको दोस्रो भेरियन्ट देखिएपछि कोरोनाका कारण अस्वस्थ हुने तथा ज्यानै गुमाउनेको संख्या बढ्न थालेको थियो । उक्त विपत्जन्य अवस्थालाई मध्यनजर गर्दै यहाँ रहेका जिल्लावासी तथा नेपालीसँग सहयोग सङ्कलन अभियान चलाइएको थियो । अभियानबाट ६ लाख ६२ हजार २८४ रुपैयाँ उठेको थियो ।

त्यस्तै यही अभियानमा थपिने गरी नेपालमा ३५ हजार ५३४ रुपैयाँ सङ्कलन भएको थियो । संकलित जम्मा रकम मध्येबाट ती सामग्री खरिद गरिएको हो ।यस कार्यका लागि विशेषतः रामेछाप सम्पर्क समितिका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ एक महिनासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर