११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेसन सुरु – Nepal Press

११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेसन सुरु

काठमाडौं । आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन मंगलबारदेखि सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि ११ फरक विधाहरूमा अवार्डको नोमिनेसन खुला गरिएको हो ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेसन खुला गरिएको आयोजकले जानकारी दिएको छ । गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रममार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको आयोजकले बताएको छ ।

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेको आयोजकको भनाई छ । विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अवार्डमा प्रतिस्पधी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (www.ictaward.org) वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनुपर्नेछ ।

यस वर्ष गतवर्ष झैं विभिन्न ११ विधामा नोमिनेशन खुला गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।

त्यस्तै, सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा ३ महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिनेछ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ । अन्य विधाहरूमा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन गरिनेछ ।

कन्फ्रेन्समा बोल्दै आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागि परेको बताए । उनले आइसिटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रूपमा अगाडी बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर