संवैधानिक इजलासमा आज यी ५ कानून व्यवसायीले बहस गर्नेछन् – Nepal Press

संवैधानिक इजलासमा आज यी ५ कानून व्यवसायीले बहस गर्नेछन्

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको विषयमा शेरबहादुर देउवासहित १ सय ४६ जनाले दिएको रीटउपर आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ ।

इजलासले सुनुवाईलाई व्यवस्थापन गर्न रीट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय दिएको छ । रीट निवेदक पक्षले बहसका लागि आफ्नो तयारी पूरा गरिसकेको बताएका छन् । निवेदकका तर्फबाट आज ५ जना कानून व्यवसायीले मात्रै बहस गर्नेछन् ।

इजलासले दैनिक ४ घण्टा बहस हुने जनाएकाले सोही अनुसार व्यवस्थापन गरिएको अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए ।

नेपाल बार एशोसियसनका पूर्व महासचिव खम्मबहादुर खातीले मुद्धाको तथ्यबारे सबैभन्दा पहिले २० मिनेट बहस गर्नेछन् । त्यस्तै अधिवक्ता गोविन्द बन्दीले रीट निवेदनको मुख्य विषयवस्तुबारे बहस गर्नेछन् । उनलाई ४० मिनेट समय दिइएको छ ।

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (४) देखिका प्रावधानहरुबारे ३० मिनेटको समयमा बहस सक्नेछन् ।

त्यसपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई १ घण्टाको समय तोकिएको छ । उनले मुद्धाको समग्र विषयबारे बहस गर्नेछन् ।

रीट निवेदकको तर्फबाट बारका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले सबैभन्दा लामो बहस गर्नेछन् । उनलाई डेढ घण्टाको समय दिइएको छ ।

निवेदकका तर्फबाट थापाले लेखेको बहस नोट नै इजलासमा बुझाउने तयारी रहेको छ । रीट निवेदक पक्षका कानुन व्यवसायीहरुले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसंगको छलफलपछि बहस व्यवस्थापनको मोडालिटी टुंग्याएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर