५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान खुलाउन मन्त्रिपरिषद्को अनुमति – Nepal Press

५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान खुलाउन मन्त्रिपरिषद्को अनुमति

व्यवस्थापनको जिम्मा पर्यटन मन्त्रालयलाई

काठमाडौं । सरकारले ५० प्रतिशत अकुपेन्सी क्षमतामा आन्तरिक उडान संचालन गर्ने तयारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको छ ।

तर, उडान कहिलेदेखि संचालन गर्ने भन्ने अन्तिम निर्णय मन्त्रालयले गर्नेछ । मन्त्रिपरिषद्को अनुमतिपछि संक्रमणको स्थिती हेरेर मन्त्रालयले आन्तरिक उडान खुलाउन गृहकार्य थालेको छ ।

‘सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमता नबढ्ने गरी आन्तरिक उडान खुला गर्न अनुमति दिइएको छ’ स्रोतले भन्यो । उडान कहिलेदेखि खुल्छ भन्ने टुंगो लागेको छैन ।

आन्तरिक उडान बैशाख २० गतेदेखि बन्द रहेको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले भने भाइरस संक्रमण दर ५ प्रतिशतमा झरेपछि मात्र सार्वजनिक यातायात (हवाइ समेत) खुलाउन अनुमति दिन सकिने बताएका छन् ।

‘आन्तरिक उडान खुलाएमा सार्वजनिक यातायात खुलाउन पनि दबाब आउन सक्छ । यसकारण हामीले संक्रमण दर ५ प्रतिशतमा झरेमात्र खुलाउन दिने तयारी गरेका छौं’ काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले भने ।


प्रतिक्रिया

One thought on “५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान खुलाउन मन्त्रिपरिषद्को अनुमति

  1. नेपाल प्रेस को पत्रुकार ५० % एकुपेन्सी होइन, उडान संख्याको ५०% भन्या हो। पित पत्रिका कुरो नभुझी लेख्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर