कालापानीका नागरिकलाई जनगणनामा सामेल गर्न माग – Nepal Press

कालापानीका नागरिकलाई जनगणनामा सामेल गर्न माग

काठमाडौं । नयाँ पार्टी नेपालले देशभर बाढीपहिरोमा परेका नागरिकलाई तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन सरकारसँग माग गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज सफलले आज विज्ञप्ति जारी गरी देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हुँदा सम्पूर्ण नागरिकलाई खोप सेवा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले निषेधाज्ञाबाट प्रभावित सम्पूर्ण किसान, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायतलाई उचित राहत दिन पनि आग्रह गरेका छन् ।

पार्टी प्रवक्ता सफलले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत भूभागका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न र मतदाता नामावलीमा नाम समेत समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पार्टीले अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउनाका साथै जनप्रतिनिधि, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न पनि माग गरेको छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *