कोभ्याक्सले नेपाललाई साढे तीनलाख आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप दिने – Nepal Press

कोभ्याक्सले नेपाललाई साढे तीनलाख आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप दिने

जुलाई महिनाभित्र ल्याउने तयारी

काठमाडौं । कोभ्याक्सले नेपाललाई कोभिड-१९ विरुद्ध तीनलाख ४८ हजार आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सरकारद्वारा गठित कोभिड-१९ खोप सम्बन्धी सल्लाहकार समिति संयोजक डा. श्यामराज उप्रेतीले उक्त जानकारी दिएका हुन् ।

अक्सफोर्डले विकास गरेको आस्ट्राजेनेका खोप जुलाई महिनाभित्र उपलब्ध गराउने व्योहोराको पत्र प्राप्त भएको उनले जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति प्रमुख बालानन्द शर्माले चीनबाट समेत खोप खरिद प्रक्रिया अघि बढाएकाले चाँडै आपूर्तिमा देखिएको अवरोध खुला हुने बताएका छन् ।

उप्रेतीका अनुसार धनी देशहरुले कोभ्याक्समा जम्मा गरेको खोप नेपालले पाउन लागेको बताए ।

नेपालले तत्काल १४ लाख डोज खोप मागेपनि कहिलेसम्म आइपुग्छ भन्नेबारे निधो नभएको बताए । ‘उहाँहरुले कति दिनुहुन्छ भनेर अबको लगभग एकसाताभित्र थाहा भइसक्छ र त्यो अर्को महिनासम्म हामीले पाइसक्छौं’ परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेललाई उध्दृत गर्दै बीबीसीले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले यसअघि जोन्सन एन्ड जोन्सनबाट ५० लाख डोज खोप खरिद गर्ने तयारी भैरहेको जनाएको थियो । उक्त खोप खरिदमा सरकार सीधै सहभागि नभएर विश्व बैंकले खरिद गर्ने तयारी भएको परराष्ट्रमन्त्रीबाट पदमुक्त हुनुअघि रघुवीर महासेठले बताएका थिए ।

नेपालले चीनबाट नन-डिस्क्लोज सहमतिअनुसार ४० लाख डोज साइनोफार्म खोप खरिद गर्ने तयारी गरेको छ । तर, चीनबाट ल्याउने भनिएको साइनोफार्म खोपको मूल्य र परिमाणबारे थप खुलाइएको छैन । गतसाता आयोजित सीसीएमसी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि खोप लगाउन थालिने बताएका थिए ।

भारतबाट ल्याउन बाँकी १० लाख डोज खोप आपूर्तिबारे कुनै प्रगति नभएको समेत उप्रेतीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर