लगानी बोर्डले स्वीकृत गर्‍याे ९७ अर्बको लगानी – Nepal Press

लगानी बोर्डले स्वीकृत गर्‍याे ९७ अर्बको लगानी

काठमाडौं । लगानी बोर्डले ९७ अर्बको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बोर्डको ४७औं बैठक सो लगानी स्वीकृत गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना २८५ मेगावाट र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत परियोजना (१३९. २ मेगावाट) गरी दुई वटा जलविद्युत परियोजनाको कुल करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो नेपाल चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमा तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै, बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

यसैगरी, बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी९दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर