निशा घिमिरेको स्वास्थ्यमा सुधार : ह्विल चेयरमा बस्न सक्ने भइन् – Nepal Press

निशा घिमिरेको स्वास्थ्यमा सुधार : ह्विल चेयरमा बस्न सक्ने भइन्

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो ।

अस्पतालले मंगलबार वक्तव्य जारी गर्दै सोमबारदेखि निशा ह्विल चेयरमा बस्न थालेको जनाएको छ । उनको उपचारमा संलग्न डा. पंकज जलानले निशाको स्वास्थ्यमा सुधार आइरहेको बताए । चिकित्सकले ह्विलचेयर र म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेका छन् । सबै विकल्प प्रयोग गरेर उनको उपचार गरिरहेको जलानले जनाएका छन् ।

निशाले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ ।

‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । मिडियामा समाचार आउन थालेपछि नर्भिक अस्पतालले उनको उद्धार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *