भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना संक्रमण – Nepal Press

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना संक्रमण

दमक । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए । यसैगरी कोरोनाभाइरस संक्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताए ।

शिविरमा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ्गले बताइन् । यसैबीच शिविरका १० जना संक्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (यूएनएसीआर) र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्नसहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ ।पूर्वी मोरङको पथरी र दमकमा रहेको दुई शिविरमा करिब पाँच हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर