कोरोनाको खोप बोकेर हिँडेकी अस्मिता बाटोमै ढलिन्, हत्याको आशंका – Nepal Press

कोरोनाको खोप बोकेर हिँडेकी अस्मिता बाटोमै ढलिन्, हत्याको आशंका

कैलाली । गत असार ५ गते डडेल्धुराको पशुराम नगरपालिका-९ को हट्वानी सामुदायिक वनमा एक युवतीको शव भेटियो । त्योभन्दा तीन दिनअघिदेखि सोही नगरपालिका-८ स्थित आधारभूत स्वास्थ्य कार्यालय जम्रानीमा कार्यरत अस्मिता धामी हराइरहेकी थिइन् ।

वैद्यनाथ मावि जमरानीका एक विद्यार्थीले ‘जंगलमा लाश भेटेको’ खबर ल्याएपछि प्रधानाध्यापक तेजबहादुर बिष्टको मनमा चिसो पसिहाल्यो । किनकी त्यसबेलासम्म अस्मिता हराएको खबर यत्रतत्र फैलिइसकेको थियो ।

‘हामीले अस्मिताको खोजी गरिरहेका थियौं, ५ गते एक विद्यार्थीले लास भेटिएको खबर सुनाएपछि शंका भइहाल्यो,’ प्रधानाध्यापक विष्टले भने ।

स्थानीयले शव भेट्दा अस्मिताको टाउकोमा गम्भीर चोट देखिएको थियो । शव कोल्टेपरेको अवस्थामा थियो । एउटा हात तल थिचिएको थियो ।

स्थानीय हरिचन्द्र बोहराले भने, ‘माटोमा टाउको हल्का दबेको थियो । टाउकोमा किरा पर्न थालेको थियो ।’

ढुङ्गाले हानेर हत्या गरिएको जस्तो अवस्थामा शव भेटिएको उनले बताए ।

अस्मिताको शव भेटिएको स्थान उनले काम गर्ने स्वास्थ्य कार्यालयबाट करिब एक घन्टाको दुरीमा पर्छ । उनको मृत्यू अहिलेसम्म रहस्यमै छ ।

पर्शुराम नगरपालिकाका सबै वडामा असार १ गते कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम थियो । वडा नम्बर ८ मा ज्येष्ठ नागरिकलाई लगाएर बचेका केही खोप लिएर असार २ गते अस्मिता जमरानीबाट जोगबुडा हिँडेकी थिइन् । ११ बजे कार्यालयबाट हिँडेकी उनी साँझसम्म न जोडबुडा पुगिन्, नत घर फर्किइन् । उनीसँग रहेको मोबाइलमा पनि सम्पर्क हुन छोड्यो ।

अस्मिता बेपत्ता भएको खबर ३ गते गाउँमा फैलियो । स्थानीयले तीन दिनसम्म उनको खोजी गरे । तर ५ गते शव फेला पर्‍यो ।

बोहराले भनेका थिए- जङ्गलको बाटो नजानु

आधारभूत स्वास्थ्य कार्यालय जमरानीका प्रमुख रमेश बोहराले असार २ गते १५ वटा भ्याक्सिन लिएर जोडबुडा जान अस्मितालाई भनेका थिए । अस्मिताले आफूसँग पैसा नभएको भनेर बोहरासँग २ सय रुपैयाँ मागेकी थिइन् ।

त्यसबेला बोहराले जङ्गलको बाटोमा खतरा हुने भन्दै रोडको बाटो जान सुझाएका थिए । अस्मिता भने ५० रुपैयाँको रिचार्ज कार्ड किनेर जङ्गलको बाटो लागिन् ।

डेवरीमा रहेको झोलुंगेपुलबाट दुईवटा बाटो मोडिन्छ । अस्मिताले भने रोडको बाटो छोडेर जंगलको बाटो रोजेकी थिइन् ।

परिवारकी एक्ली सहारा

अस्मिता विगत अढाई वर्षदेखि उक्त स्वास्थ्य केन्द्रमा काम गरिरहेकी थिइन् । उनका श्रीमान् खेती किसानी गर्छन् ।

घरखर्च तथा दुई छोरीको पढाईलेखाई अस्मिताकै आयस्रोतले चलेको थियो । उनका दुई छोरी २ र ४ वर्षका छन् । घरमा सासू-ससुरा र एक देवर पनि छन् । देवर अपाङ्ग छन् । उनको मेरुदण्ड भाँच्चिएको छ । अस्मिताको मृत्यूपछि उनका नाबालक छोरीहरुको विचल्ली भएको छ ।

कोरोना महामारीपछि अस्मिता स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई सघाउँथिन् । अघिल्लो दिन असार २ गते पनि उनी फिल्डमा हिँडेकी थिइन् ।

स्थानीय आन्दोलित

अस्मिता धामीको न्यायको माग गर्दै आफन्तहरु सडकमा आएका छन् । सोमबार उनीहरुले जोगबुढाको लाढुङ्गा बजारमा प्रदर्शन गरेका थिए ।

‘धामीलाई न्याय दे, घटनाको सत्यतथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, धामीको बलात्कार गरी हत्या गर्नेलाई फाँसी दे, स्थानीय सरकार कान खोल’ लगायतका नारा उनीहरुले लगाएका थिए । उनीहरुले नगरप्रमुख भीमबहादुर साउदलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

तीन दिनपछि शव परीक्षण

शव भेटिएको तीन दिनपछि अस्मिताको शव परीक्षण गरिएको छ । सोमबार जोगबुडा अस्पतालमा शव परीक्षण गरिएको हो ।

पोस्टमार्टम रिपोर्ट आउन अझै केहि दिन लाग्ने प्रहरीले जनाएको छ । उनको भिसेरा परीक्षण गरिने जनाइएको छ ।

उनको हत्या गरिएको वा बलात्कार भएको भन्नेबारे प्रहरीले केही बोलेको छैन । शरीरमा नीलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोतल फेला परेकाले उनको हत्या गरिएको स्थानीयले बताइरहेका छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले घटनाको अनुसन्धान भइरहेको बताए ।

‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘सबै कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’

पर्शुराम नगरपालिकाले अस्मिताको परिवारलाई ७ लाख ५० हजार र श्रीमानलाई रोजगारी दिने कार्यपालिकाको बैठकले निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *