भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने तीन जना धरौटीमा रिहा – Nepal Press

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने तीन जना धरौटीमा रिहा

रुपन्देही । गत जेठ १३ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहेका तीन जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।

बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्ने आदेश दिएपछि उनीहरु आइतबार नै छुटेका हुन् । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५÷२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

अस्पतालका डाक्टर÷नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई कारबाही गर्न चौतर्फि दबाब परेको थियो ।

जेठ १३ गते बेलुकी तुलसीपुर उपमहानगरपालिका वडानम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए ।

घटना भएकै दिन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएकोमा उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उनीहरुलाई सोही दिन राति प्रहरीले पक्राउ गरी थुनामा राख्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *