बर्खा शुुरु भएसँगै कर्णाली राजमार्गमा नागरिकलाई सास्ती – Nepal Press

बर्खा शुुरु भएसँगै कर्णाली राजमार्गमा नागरिकलाई सास्ती

‘घण्टौं जाममा पर्ने बानी भइसक्यो’

सुर्खेत । कर्णाली प्रदेशको लाइफलाइन भनिएको कर्णाली राजमार्गको स्तरोन्नत्ति नहुँदा हरेक वर्ष मनसुनको समयमा नागरिकले दुख पाउने गरेका छन् । एक दिनको बाटो तीन दिनसम्म पनि पार गर्न नसकिने समस्याले सामान ढुवानी र विरामीका लागि असहज बन्दै गएको छ ।

संघीय सरकार मातहतमा रहेको उक्त राजमार्गमा बर्खा लागेसँगै बाढी र पहिरोको जोखिम रहने गरेको छ । अबरुद्ध बाटो खुलाउने डोजर एक्साभेटरहरु पनि समयमा व्यवस्थापन नहुँदा मनसुनको समयमा राजमार्ग ठप्पजस्तै बन्ने गरेको छ ।

‘हल्का वर्षामा पनि बाटो बन्द हुन्छ र गाडीको जाम लाग्छ,’ दैलेखको आठबीस नगरपालिका–५ घट्टेखोलामा एक दिन जाममा परेका कालिकोट मान्मका ट्रक चालक रमेश विश्वकर्माले भने, ‘एक रात चामुण्डाविन्द्रासैनीको सांगेतडामा बसियो । आज यहाँ बसिएको छ । सुर्खेतदेखि एक दिनमा पुगिने बाटो तीन दिनसम्म पनि छिचोल्न सकिएको छैन ।’

उनी मात्रै होइनन् । त्यहाँ सयौं गाडीहरु गन्तव्यमा पुग्ने पर्खाईमा छन् ।

‘सरकारले हरेक वर्ष बजेट छुट्याएको सुनिन्छ तर यहाँ मोटरसाइकलसमेत जाममा पर्ने अवस्था छ,’ पञ्चपुरी नगरपालिका सुर्खेतका प्रेम ढुंगानाले भने, ‘हामी भन्दा अगाडी ट्रक फसेकाकारण रातभर जंगलमा नै बास बस्नुपर्ने अवस्था आयो । न खाना न बस्ने स्थान । बडो दुःखले रात काटियो ।’

उसो त प्रदेश सरकारले बाटोमा डोजर राखेको पनि छ तर ती डोजरले समयमै सेवा दिन सकेका छैनन् । ‘हामीले राजमार्ग एक निश्चित दुरीमा डोजर राखेका छौं । उक्त सडक हामी मातहतमा नभएकाले आवश्यक निर्माणको काम गर्न सकिएको छैन,’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालप्रेससँग भने, ‘अब वर्षायाममा नागरिकले थप सास्ती नपाउन भनेर थप डोजरको व्यवस्था गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर