नीति तथा कार्यक्रमको समर्थन नगर्ने लुम्बिनीका दुई जसपा सांसादलाई पुनः स्पष्टीकरण – Nepal Press

नीति तथा कार्यक्रमको समर्थन नगर्ने लुम्बिनीका दुई जसपा सांसादलाई पुनः स्पष्टीकरण

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा समर्थन गरेका दुई जना सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ ।

जेठ ३१ गते सांसदद्वय सहश्रराम यादव र पुर्मती ढेंगामगरलाई सोधिएको सात दिने स्पष्टीकरणको जवाफ नआएकोले २४ घण्टाभित्र पुनः स्पष्टीकरण मागिएको पार्टीका संसदीय दलका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

पाण्डेयको अध्यक्षतामा आइतबार बसेको दलको बैठकले दुवै सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको प्रमुख सचेतक तथा प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताइन् ।

जेठ २९ मा जसपा संसदीय दलको बैठकबाट वर्तमान सरकारको नीति तथा कार्यक्रमको पक्षमा समर्थन गर्ने ह्वीप जारी भए पनि दुई जना सांसदले विपक्षमा समर्थन गरेका थिए ।

यसअघि जसपाको तर्फबाट प्रदेशसभामा दलको नेता सहश्रराम यादव रहेकोमा गत वैशाख ५ गते बसेको संसदीय दलको बैठकले यादवलाई हटाएर सन्तोषकुमार पाण्डेयलाई दलको नेता बनाइएको प्रमुख सचेतक पाण्डेले जानकारी दिइन् । पछिल्लोपटक दलको नेता चयन भएका पाण्डेयले प्रदेशसभामा रहेका संसद सदस्यहरुमध्येको दुईतिहाई बढी सदस्यको निर्णयबाट आफू दलको नेता चयन भएको बताएका छन् ।

पार्टीका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाका सांसदहरु दुई कित्तामा विभाजित छन् । यसअघि प्रदेश सरकारमा सहभागी भएका ४ जना मन्त्रीलाई सांसदबाट पदमुक्त गरिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थामिएको छ ।

प्रदेशसभामा जसपाको आधिकारिताको विवाद कायम छ । उपेन्द्र यादव पक्षधर दुई जना सांसद विपक्षीको टेबलमा बसेका छन् । महन्थ ठाकुर पक्षीय ४ जना सांसद भने सरकारमा सहभागी छन् । प्रदेश सभाले जसपाका ६ सांसदमध्ये सत्ता पक्ष र प्रतिपक्षमा बस्न थालेपछि कानुनी जटिलता आएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर