मेलम्ची क्षेत्रका १ सय ३ जना बाढीपिडितलाई सेनाले गर्यो उद्धार – Nepal Press

मेलम्ची क्षेत्रका १ सय ३ जना बाढीपिडितलाई सेनाले गर्यो उद्धार

काठमाडौं । बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । शुक्रबार बाढी पहिरोको कारण विस्थापित भएका सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका गणेशबगर इलाकामा बसोवास गर्दै आएका ४३ जना र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० जना गरि जम्मा १ सय ३ जनालाई नेपाली सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरि राहत सामाग्री वितरण गर्न सहयोग गरेको छ ।

मुस्ताङको घरपझोङ्ग गाउँपालिका-४ स्याङ्ग गाउँ बस्तिमा स्याङ्ग खोलाको बहाव बढेको हुँदा खोलाको पानी बस्तीमा पस्न सक्ने देखिएकोले पुर्व तयारी अनुरुप खटिएको फौजले खोला किनारमा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य पनि गरेको छ । प्युठानको मल्लरानी गाउँपालिका-३ धरमपानीस्थित बर्वोटका हिराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई वेपत्ता भएकोमा उनको शव उद्धार कार्यमा खटिएका नेपाली सेनाको टोलीले सरुमारानी गाउँपालिका-१ बाङ्गेसालको मियावस्ती नजिक रहेको राप्ति नदिको बीच भागमा फेला पारेको छ ।

मनाङका विभिन्न स्थानमा बाढी पहिरोको कारण जोखिममा परेका ८१ जनालाई पनि नेपाली सेनाको एमआई-१७ हेलिकप्टरबाट उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ । यस्तै शनिबार सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका-१ स्थित याङ्ग्री ईलाकाका बाढी पहिरो प्रभावित स्थानीयवासीको लागि मेलम्चीबाट नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत २९ जनालाई उद्धार गरि काठमाण्डौं ल्याइएको छ ।

सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका-४ स्थित ग्याल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारलाई बस्नको लागि दुई स्थानमा ७-७ वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको जनाएको छ ।

आइतबार गृह मन्त्रालयबाट प्राप्त भएको राहत सामग्रीमा चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल-टेन्ट नेपाली सेनाको हेलिकप्टर मार्फत मनाङको चामे, थाचे, ओडार, ताल तथा सिन्धुपाल्चोक जिल्लाको क्युल र अन्य स्थानमा ढुवानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *