फेरि सभापति बनेर कांग्रेसलाई एक नम्बर बनाउने देउवाको इच्छा, सिटौलाको साथ खोज्ने – Nepal Press

फेरि सभापति बनेर कांग्रेसलाई एक नम्बर बनाउने देउवाको इच्छा, सिटौलाको साथ खोज्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने विषयमा आफ्नो समूहका नेताहरुसंगको छलफललाई तीव्रता दिइरहेका छन् । शनिबार प्रदेश १ र २ का आफूनिकट केन्द्रीय सदस्यहरुसंग छलफल गरेका देउवाले आज बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसंग छलफल गरे ।

देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजेदेखि ४ घण्टासम्म भएको छलफलमा सभापति देउवाले उम्मेदवारी घोषणा गर्दै सुझाव दिन आग्रह गरेका थिए । बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले देउवाको दावी स्वभाविक भएकोले पार्टीका सबै पक्षलाई सकारात्मक बनाउन पहल गर्नुपर्नेमा जोड दिए । पार्टी र विपक्षी गठबन्धन दुवैलाई देउवाले नेतृत्व गरेर अगाडि बढ्नु नै उपयुक्त हुने अधिकांशको सुझाव थियो ।

सिटौला समूहसँग सहकार्यको रणनीति

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अघिल्लो महाधिवेशनमा जस्तो दोस्रो चरणमा नभई पहिलो चरणमै जित्नेगरी तयारी गर्नुपर्ने सुझाव दिएका छन् । केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर भण्डारी लगायतले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहलाई समेटेर जानुपर्नेमा जोड दिएका थिए ।

अघिल्लो महाधिवेशनमा देउवाले रामचन्द्र पौडेल र सिटौलालाई सभापतिमा पराजित गरेका थिए । पहिलो चरणमा नतिजा ननिस्किएपछि दोस्रो चरणमा सिटौला समूहले देउवालाई सहयोग गरेको थियो । आसन्न महाधिवेशनमा भने सिटौला समूहलाई पहिले नै सहमत गराउनुपर्ने देउवा पक्षको निष्कर्ष छ ।

‘हामीप्रति सिटौलाभन्दा पौडेलपक्ष बढी आक्रामक छ । पौडेल र सिटौलाबीच कुरा मिल्ने सम्भावना पनि कम छ । त्यसैले सिटौलाजीलाई मिलाएर लैजान सुझाव दियौं’, बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार सभापति देउवाले अघिल्लो महाधिवेशनमा सिटौलाले गरेको सहयोग आफूले नबिर्सेको बताएका थिए । देउवा पक्षको आजको बैठकमा सिटौला समूहका नेता शिव हुमागाईं सहभागी थिए । उनले देउवा-सिटौला सहकार्यबारे छलफल गर्ने बेला भइनसकेको बताए ।

‘फेरी एकपटक सभापति बनेर पार्टीलाई अबको चुनाव जिताउँछु भन्ने सभापतिजीको भनाई थियो । हामीले सबैसँग छलफल गरेर अगाडि बढ्नुस भन्ने सुझाव दिए,’ हुमगाईंले भने ।

राष्ट्रिय र पार्टी राजनीतिमा सिटौलाको भूमिका निर्णायक हुने भन्दै हुमागाइँले आफूले सिटौलाकै नेतृत्वमा कांग्रेस अगाडि बढेको हेर्न चाहेको बताए । ‘कृष्णप्रसाद सिटौंलाको योगदान आन्दोलनदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म नेतृत्वदायी रहेको छ । त्यसैले आज कांग्रेसको नेतृत्वको विषय आउँदा उहाँको भूमिकालाई कसैले कमजोर आँक्न मिल्दैन । तर अहिले नै कसले कसलाई सघाउने भनेर छलफल भएको छैन’, हुमगाइँले भने ।

देउवा समूहका केही नेताले सिटौलालाई भावी प्रधानमन्त्री वा कार्यवाहक सभापतिको रुपमा प्रस्तुत गरेर जान सकिने बताउँदै आएका छन् ।

विधानले बाटो छेकेको छैनः देउवा

बैठकमा सभापति देउवाले अझै एक कार्यकाल सभापति बनेर पार्टीलाई सफल बनाउने आफ्नो ईच्छा रहेको बताए । अघिल्लो महाधिवेशलगत्तै मुलुक निर्वाचनमा होमिएको र वामगठबन्धनका कारण पार्टी कमजोर भएको भन्दै आफूलाई सबैले असफल भन्ने गरेको गुनासो देउवाको थियो ।

‘मेरै कारणले पार्टीले चुनाव हारेको झैं देखाउन खोजिएको छ । त्यसैले यो पार्टीलाई चुनाव जिताएर नम्बर एक बनाउन म फेरी सभापति बन्न खोजेको हुँ’, बैठकमा देउवाले भने । उनले पार्टीको विधानमै दुई कार्यकाल सभापति हुनसक्ने व्यवस्था भएकोले कसैले अन्यथा सोच्न नहुने स्पष्ट पारेका थिए । केन्द्रीय सदस्य किरण गिरीले सभापति देउवाको दावी स्वभाविक रहेको बताए ।

‘पार्टीलाई बलियो बनाउन एकपटक जिम्मेवारी लिन्छु भन्नु गलत होइन । हिजो चुनाव हारेको उहाँको व्यक्तिगत कारण पनि होइन । त्यसैले अधिकांश केन्द्रीय सदस्यहरुले उहाँको उम्मेदवारीलाई स्वागत गरेका छौं’, गिरीले नेपाल प्रेससंग भने ।

अर्को पक्ष शान्त

महाधिवेशन कार्यतालिका पारित भएलगत्तै सभापति देउवाले आफ्नो सक्रियता बढाइरहँदा देउवाइतर पक्ष भने खास तरंगित देखिदैन । देउवाइतर पक्षमा सभापतिका आकांक्षी धेरै भएका कारण पनि अलमल बढेको देखिन्छ ।

‘शेरबहादुर दाईलाई चुनाव लागिसक्यो । हाम्रोमा त नेतै धेरै छन् । को लड्ने को नलड्ने भन्ने अहिलेसम्म निधो भएको छैन । त्यसैले शान्त छन् सबै,’ देउवा इत्तर समूहका एक नेताले भने । इतरपक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइराला सभापति पदका आकांक्षी छन् । देउवाले जारी राखेको छलफललाई ‘वाच’ गरेको बताउने इतर पक्षका एक नेताले केहीदिनमै आफ्नो समूहको बैठक बसेर साझा धारणा बनाउन प्रयास हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर