मौद्रिक नीतिमार्फत उद्योगीका समस्या समाधान गर्न उद्योगीको माग – Nepal Press

मौद्रिक नीतिमार्फत उद्योगीका समस्या समाधान गर्न उद्योगीको माग

रुपन्देही । नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्न अनुरोध गर्दै रुपन्देही जिल्लाका उद्योगीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत गभर्नर महाप्रसाद अधिकारीलाई रुपन्देहीका उद्योगीहरुको संस्था रुपन्देही उद्योग संघले यो विषयमा चासो व्यक्त गर्दै ज्ञापनपत्र पठाएको हो । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको संघको टोलीले नेपाल राष्ट्र बैंक भैरहवा शाखाका उपनिर्देशक खगराज सापकोटा एवं गुलाव धबलसँग भेट गरी संस्थागत सुझावसहितको ज्ञापनपत्र बुझाइएको छ ।

संघले लामो समयदेखि कोभिडको प्रभावले उद्योग क्षेत्र धराशायी बन्दै गएकाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्पmत राहत प्रदान गर्न अनुरोध गरेको छ ।

उद्योगीले निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधी थप गर्नुपर्ने, साँवा किस्ता र ब्याजलाई पूँजीकरण गरी पुर्नताजकीकरण गरिनुपर्ने, पुर्नकर्जा कोषलाई थप वृद्धि गरी लचिलो कार्यविधि अपनाउनु पर्ने,उत्पादन मूलक उद्योगलाई विशेष प्राथमिकता र ऋण लगानी न्यून ब्याजदरमा गरिनुपर्ने माग राखेका छन् ।

यसैगरी बैंकहरुले लिने सेवा शुल्कहरुमा थप सहुलियत दिनुपर्ने र उद्योगहरु बचाई राख्न उद्योगमैत्री मौद्रिक नीति अवलम्बन गर्नुपर्नेलगायतका सुझावहरु समेटिएको ज्ञापनपत्र बुझाइएको जानकारी गराउँदै संघका अध्यक्ष बाबुराम बोहोराले संस्थागत सुझावहरु सम्बोधन हुने उद्योगीहरुलाई विश्वास रहेको बताए ।

उद्योगीको ज्ञापनपत्र बुझ्दै भैरहवा शाखाका निमित्त प्रमुख खगराज सापकोटाले उद्योगीले पेश गरेका सुझावहरु समयसापेक्ष रहेको बताउँदै प्राप्तका सुझावहरु तत्काल सम्बन्धित तहमा पेश गरिने आश्वासन दिएको उद्योगी विष्णुप्रसाद पौडेलले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर