निजी क्षेत्रको आँकलनः ५० दिनको निषेधाज्ञाले ४ खर्ब क्षति – Nepal Press

निजी क्षेत्रको आँकलनः ५० दिनको निषेधाज्ञाले ४ खर्ब क्षति

दैनिक ८ अर्ब घाटा भइरहेको महासंघको दावी

काठमाडौं । कोरोना महामारीले विश्वका थुप्रै देशको अर्थतन्त्रलाई धराशयी तुल्याइदिएको छ । अर्थतन्त्रको बलियो जग भएका देशहरु पनि यतिबेला धर्मराइ रहेका छन् भने नेपाललाई यसले नहल्लाउने कुरै भएन ।

नेपालमा कोरोनाको पहिलो लहरमा महिनौंसम्म लकडाउन भयो । जनजीवन नै ठप्प भएको त्यो समयमा देशको आर्थिक वृद्धिलाई ठूलै धक्का लागेको थियो । अहिले फेरि कोरोनाका दोस्रो लहरपछि दशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

यतिबेला अत्यावश्यक बाहेकका सेवा र उत्पादनको बिक्री वितरण बन्द छन् । आर्थिक गतिविधिहरु निकै संकुचित बनिरहेका छन् । अधिकांश उद्योग कलकारखानाहरु खुलेका छैनन् ।

निषेधाज्ञाको कारण देशले कति आर्थिक क्षति व्यहोरिरहेको छ त ? सरकारको तर्फबाट कुनै अध्ययन भएको छैन । निजी क्षेत्रले चाहिँ दैनिक आठ अर्बको क्षति भइरहेको मोटो हिसाब निकालेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा १ दिन बन्द हुँदा ८ अर्ब घाटा हुने गरेको बताए ।

उनले भने, ‘एक दिन बन्द हुँदा निजी क्षेत्रलाई धेरै घाटा हुन्छ । अहिले सबैभन्दा धेरै पर्यटन र यातायात सेवालाई क्षति पुगेको छ ।’

पहिलेको लकडानमा बन्द भएका उद्योगहरु पुर्णरुपमा सञ्चालन नहुँदै फेरि निषेधाज्ञा भएपछि उद्योग र व्यवसाय अब कसरी उठ्छ् भन्ने चिन्ता रहेको गोल्छाले बताए ।

‘दोस्रो लहरको कोरोना आएपछि निषेधाज्ञा सुरु भएको पनि ५० दिन भइसक्यो । दैनिक ८ अर्बका दरले घाटा भइरहेको छ । त्यस हिसाबले ५० दिनसम्ममा ४ खर्ब घाटा भएको देखिन्छ ।’

२०७६ चैत ११ गतेदेखि सुरु भएको निषेधाज्ञा करिब ९ महिनासम्म चलेको थियो । निषेधाज्ञाले उद्योग–व्यवसाय मारमा परेको भन्दै निजी क्षेत्रले सरकारसँग राहत मागे पनि सरकारले आंशिक मात्रै सम्वोधन गरेको छ ।

वैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञा कहिले खुल्छ भन्ने यकिन छैन । विस्तारै कोराना संक्रमण दर घट्दै गइरहेको छ । सीसीएमसीले अब स्मार्ट लकडाउन गर्ने भनेर प्रक्रिया अगाडि बढाएको छ ।

कुन उद्योगमा कति घाटा ?

सिमेन्ट उद्योग

बन्दको समयमा सिमेन्ट उद्योगले ठूलो घाटा व्यहोरिरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापाले बताए । उनले भने, ‘अहिले ३० प्रतिशत सिमेन्ट उद्योग बन्द नै छन् । बाँकी रहेका ७० प्रतिशत उद्योग २० देखि ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् ।’

एक दिन बन्द हुँदा सिमेन्ट उद्योगले ५० करोड घाटा व्यहोर्नुपर्ने थापा बताउँछन् । यस हिसाबले हाल जारी निषेधाज्ञाका क्रममा मात्रै सिमेन्ट उद्योगलाई २५ अर्ब घाटा भइसकेको उनको भनाइ छ ।

यातायात

लकडाउनको समयमा सबैभन्दा धेरै मारमा परेको क्षेत्र यातायात पनि हो । बन्दको कारण सबै सार्वजनिक यातायात साधनहरु थन्किएर बसेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष योगेन्द्र कर्माचार्यले पहिले र अहिलेको लकडाउनमा सबैभन्दा धेरै समस्या यातायात क्षेत्रलाई भएको बताए ।

उनले भने, ‘बस, माइक्रो बस, ट्याक्सीलगायत सबै जोड्दा ३ लाख छन् । बस र अन्य साना गाडीको १ हजारको दरले नै हिसाव गर्ने हो भने दैनिक ३० करोड घाटा हुन्छ । त्यस हिसाबले यो ५० दिनको बन्दमा १५ अर्ब घाटा भइसकेको छ ।’

पहिलेको लकडाउनमा पनि दैनिक ३० करोडको घाटा भएका कर्माचार्यलेले बताए ।

निर्माण क्षेत्र

लकडाउनको समयमा केही ठूला निर्माण आयोजनाबाहेक अरु बन्द नै छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दैनिक २३ करोड घाटा भइरहेको बताए । निर्माण क्षेत्रको काम निरन्तर नहुँदा विकास निर्माणमा पछि पर्ने र बेरोजगार पनि बढेको उनको भनाइ छ ।

होटल व्यवसाय

कोरोनाको कारणले सबैभन्दा धेरै समस्यामा परेकोमध्ये होटल व्यवसाय पनि हो । बन्दमा सबैभन्दा धेरै मार परेको क्षत्र यातायात र होटल हो ।

होटल संघ नेपालका (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा दैनिक ६ करोड ६६ लाख घाटा भइरहेको बताए ।

‘पछिल्लो पटक ५० दिन बन्द हुँदा ३ अर्ब ३३ करोड घाटा भइसकेको छ,’ उनले भने ।

नेपालका दशौं हजार होटलमध्ये हानमा ४ हजार होटल जोडिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर