भारतमा ८१ दिनपछि सबैभन्दा कम संक्रमित, १५ सयको मृत्यु – Nepal Press

भारतमा ८१ दिनपछि सबैभन्दा कम संक्रमित, १५ सयको मृत्यु

दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम संक्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।
त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको संख्या ८७ हजार ९१७ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड-१९ परीक्षण गरिएको छ । ती मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो ।

त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर