स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन – Nepal Press

स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन

एजेन्सी । विश्व फुटबलमा एउटा पावरहाउस हो स्पेन । युरोपेली लिगहरुमा सबैभन्दा धेरै खेलाडी आपूर्ति गर्ने देशमा पनि अग्रस्थानमा आउँछ । तर युरो २०२० मा स्पेनले निराशाजनक प्रदर्शनको शृंखला जारी राख्दा नकआउट चरण प्रवेशको सम्भावना कमजोर बन्दै गएको छ ।

लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो । उसले समूह ई को सुरुआती खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

तीनपल्टको युरो च्याम्पियन स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउन सके मात्र नकआउट चरणमा पुग्ने स्थितिमा आएको छ । यो खेल बुधबार हुनेछ ।

‘हामीलाई भाग्यले पनि साथ दिएको छैन,’ स्पेनिस डिफेण्डर जोर्डी अल्बाले भने, ‘हामीले राम्रो गरिरहेका छौं र त्यसको नतिजा सकारात्मक आएको छैन । मैले यसरी बुझेको छु ।’

अल्भारो मोराटाले २५ औं मिनेटमै स्पेनलाई अग्रता दिलाएका थिए । गोलको गतिरोध अन्त्य गरे पनि रक्षापंक्ति कमजोर देखियो । दोस्रो हाफको सुरुमै बार्यन म्युनिखका सुपरस्टार रोवर्ट लेवाण्डोस्कीले बराबरी गोल फर्काए । ५८ औं मिनेटमा जेरार्ड मोरेनो पेनाल्टीमा चुक्दा स्पेनले अग्रता लिने अवसर गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *