कर्ण थापाको दाबी- एमाले एकता हुन्छ तर माधव नेपाल र भीम रावल रहँदैनन् (अन्तर्वार्ता) – Nepal Press

कर्ण थापाको दाबी- एमाले एकता हुन्छ तर माधव नेपाल र भीम रावल रहँदैनन् (अन्तर्वार्ता)

कैलाली । नेकपा एमाले फुटको संघारमा छ । पहिलो तहका नेताहरूबीच ‘शीतयुद्ध’ चलिरहेको छ । तर, दोस्रो तहका नेताहरू भने विभाजन रोक्न निरन्तर वार्ता र संवादमा छन् । उनीहरुबीच भइरहेको संवादले एकताको आकार लिइसकेको छैन ।

नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ठोस सहमति नभई एमाले एक हुने सम्भावना कम रहेका नेपाल पक्षका अधिकांश नेता बताउँछन् । तर, एमाले एक भए पनि माधव नेपाल लगायतका केही नेता एमालेमा नरहन सक्ने संकेत एमाले नेता कर्ण थापाले दिएका छन् ।

नयाँ पार्टी गठन गर्ने योजनामा रहेको बताउँदै थापाले पार्टीको नीति र विधि नमान्नेहरूलाई एमालेमा ठाउँ नरहेको समेत बताए ।

एमालेका सुदूरपश्चिम अध्यक्ष थापासँग नेपालप्रेसकर्मी भानुभक्त आचार्यले एमालेको पछिल्लो घटनाक्रमबारे गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

पछिल्लो पटक मन्त्रिमण्डल बिस्तारमा नपरेपछि तपाइ पनि असन्तुष्ट हुनुभएको हो ?

होइन । त्यसमा म असन्तुष्ट हुनुपर्ने कुरा नै छैन । शुभचिन्तकहरूले चर्चा गर्नुभएको होला तर मैले पहिलेदेखिनै प्रतिनिधिसभाको अवधिभरि मेरो कुनै पनि माग छैन भन्दै आइरहेकै छु । मैले त्यस्तो माग गरेको पनि छैन चाहना पनि थिएन ।

फेरी मन्त्रीपरिषद् गठनको विषय माग गरेको हुने कुरा पनि होइन। यो प्रधानमन्त्रीको स्वविवेक अधिकार हो । उहाँले जे गर्नुहुन्छ त्यो नै सबै भन्दा उचित मान्नु पर्छ ।

अब एमालेको पछिल्लो घटनाक्रमतर्फ केन्द्रित बनौं । दोस्रो तहका नेताहरू छलफलमा जुट्न थालेपछि फेरि एमाले एक बन्ने दिशामा गएको हो ?

नेकपा एमालेमा रहनको लागि र एमालेलाई बलियो बनाएर लैजानको लागि कसैलाई बाधा अवरोध पनि छैन। एमालेमा रहन चाहने मान्छेहरू एमालेमा रहनु हुन्छ । केही मान्छेहरूमा नेकपा एमालेको नाममा एमालेलाई समाप्त पार्न चाहनेहरूको एउटा चिन्तन र प्रवृत्ति छ ।

तिनीहरूको बारेमा बहस जति गरे पनि छलफल जति गरे पनि कोसिस जति गरे पनि त्यो धेरै काम लाग्छ भन्ने मलाई लागेको छैन ।

नेतृत्व नमान्ने, नीति नमान्ने, विचार नमान्ने, निर्णय नमान्ने र आफूलाई केन्द्र बिन्दुमा राखेर आफ्नो स्वार्थ पूरा हुँदा समर्थन गर्ने र आफ्नो स्वार्थ पूरा नहुँदा पार्टी, नीति, विधि, निर्णय नमान्ने भएपछि हरेक व्यक्तिका सबै स्वार्थ त पार्टीले पुरा गर्न सक्दैन ।

त्यस कारणले जो जो मान्नेहरू बसेर जति छलफल गरे पनि सकारात्मक परिणाम निस्कन्छ भन्ने मलाई लाग्दैन ।

नीति विधि निर्णय नमान्ने भनेर कसलाई भन्न खोज्नु भएको हो ?

मैले कुनै व्यक्तिलाई भनेको होइन प्रवृत्तिको कुरा हो । एमाले र माओवादीकोबीचमा एकता भयो । त्यो एकता त त्यत्तिकै भएको होइन नि । त्यो धेरै ठूलो उपलब्धिको कुरा थियो । त्यसलाई टुटाउने र जुनसुकै अवस्थामा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई समाप्त पार्ने कसम खाएर हिँडेका मान्छेहरू देख्नु नै भएको छ नि।

केपी ओली त जनताबाट निर्वाचित हुनुहुन्छ । संविधानले ,कानूनले जनताको मतले प्रधानमन्त्रीमा निर्वाचित व्यक्तिलाई उल्टाउन रात दिन प्रयास गर्नेहरु को को थिए भन्ने कुरा त देश दुनियालाई थाहा छ नि । त्यहाँबाट उत्पत्ति भएको विषय हो यो । अनि यहाँ के अनेकता छन् र ? केपी ओली हटाउने मोर्चाबन्दीमा रहेकाहरूले त्यो मोर्चाबन्दी छोडे भइहाल्छ नि । त्यसपछि एकता त स्वतः भइहाल्छ नि ।

अहिले जेठ २ मै एमालेको मिलन र बिछोडको भविष्य देखिएको छ । एमाले जेठ २ मा फकिन्छ त ?

यी सबै प्राविधिक कुरा हुन् । त्यस सम्बन्धमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि जतिसुकै बेइमानी गरे पनि माफ गर्छौं । एमालेमा आएर आफ्नो जिम्मेवारी लिएर काम गर्नुस् भनेर सबैलाई भन्नुभएकै छ ।

मुख्य कुरा भनेको पार्टीलाई मान्ने हो । पार्टी मान्ने भनेको पार्टीका निर्णयहरू मान्नु पर्‍यो । नेतृत्वलाई मान्नु पर्‍यो । जसले मानेको छैन तिनले मान्न सुरु गरेपछि त पार्टी एकता भइहाल्छ नि त ।

त्यसो गर्दा त पार्टीमा विवाद हुँदैन । पार्टी विभाजनको कुरै हुँदैन। वैधानिक रुपमा भन्ने हो भने केन्द्रीय कमिटीको ४० प्रतिशत र संसद्‌को ४० प्रतिशत लिएर छुट्टै नहुँदा सम्म त पार्टी विभाजन त हुँदैन नि ।

अहिले एमाले फुट्न पनि सकेको छैन । जुट्न पनि सकेको छैन । यस्तै अवस्थामा रहन्छ त एमाले ? एमालेको भविष्य यहि हो ?

जसलाई फुट्न परेको छ । फुट परस्त गतिविधि गरेका छन् र एमालेलाई समाप्त पार्नको लागि सम्पूर्ण शक्ति लगाएका छन् । तिनले त्यो छोड्नासाथ यहाँ फुटको त केहि सम्भावना नै छैन ।

पटक पटक तपाई फुटाउन चाहनेहरू भन्दै हुनुहुन्छ । को हुन् त एमालेलाई फुटाउन चाहनेहरु ?

फुटाउन चाहनेहरु त देखिएकै छन् त माधव नेपाल,भीम रावल लगायतका मान्छेहरू । अहिले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नेहरू । आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरू । छुट्टै समूहको बैठक राखेर केपी ओली, हामी लगायतलाई कारबाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निकाल्नेहरू । यी नै त हुन् नि फुट परस्त भनेका ।

एमालेले पहिलो चरणमा १२ जनालाई कारबाही गरे पनि त्यसपछि कारबाहीको शृङ्खला रोकेको छ । यता दोस्रो तहका नेताहरू पनि घनिभूत छलफलमा छन् । पछिल्लो गतिविधिले त एमाले एक हुन्छ कि भन्ने पनि छन् । त्यो सम्भव छ ?

प्रवृत्तिमा परिवर्तन आउनु पर्‍यो मुख्य कुरा । केपी ओलीले मान्नु भएन भन्ने कतिपय आरोप छन् । हामीलाई पेल्नुभयो,कारबाही गर्नुभयो भन्ने गरिएको थियो ।

कारबाही के सामान्य अवस्थामा गरिन्छ ? पार्टीको विरुद्धमा दुस्मनीपूर्ण व्यवहार गरेपछि कारबाही हुन्छ । नत्र विधानमा व्यवस्था किन राखेको त ? अनुशासनहीन काम गर्नेहरूलाई कारबाही गर्ने कुरा त विधानमा राखिएकै त छ । जसले अपराधपूर्ण काम गर्‍यो, विधान विपरीतको काम गर्‍यो, निर्णय मानेन त्यसपछि कारबाही त हुन्छ ।

अहिले पार्टीलाई एकताबद्ध बनाउन मुख्य नेता भएको हुनाले केपी ओलीले ६ बुँदे प्रस्ताव अगाडि त सार्नुभएको छ । त्यसमा पनि निहुँ खोज्नुको त केहि पनि अर्थ छैन । मैले भनेको जस्तो भए पार्टीमा बस्छु नत्र फुट हुन्छ, विभाजन हुन्छ भनेर कसैले भन्छ भने त्यो मानेर हुने एकता नामको षडयन्त्रले आन्दोलनलाई नोक्सान गर्छ ।

पछिल्लो केहि छलफलले एकताको बाटो फराकिलो बनाउँदै लगेको पनि भनिन्छ नि ?

छलफल भइरहेको छ । केहि सकारात्मकतर्फ नै छलफल भइरहेको छ भन्ने मेरो अनुमान छ । त्यसमा भित्र भयङ्करै केही भइरहेको छ भन्ने मलाई लाग्दैन । त्यहाँ ठूलो सकस छ भन्ने पनि मलाई लाग्दैन ।

मैले भनिसके नि सरल कुरा छ । जसले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई कुनै पनि हालतमा समाप्त पार्ने भन्ने कसम खाएका छन् नि त्यो व्यवहार छोडे भइहाल्छ नि । अरू यहाँ रस्साकस्सी गर्नुपर्ने कुनै कुरै छैन ।

ढिलो चाँडो जेठ २ फर्किने कुरा लगभग तय भयो । अब माओवादीबाट एमाले आएका नेताहरूको त बिचल्ली हुने भयो है ?

त्यो सम्भव नै छैन । एमाले र माओवादीको एकता पछि भएको नेकपा, त्यसपछिको एमाले र केपी ओलीको नेतृत्वको निरन्तरतामा हिँडेका मान्छेहरू कसैको कुनै प्रकारको मागले त्यहाँ अन्यथा हुन सक्दैन ।

त्यही नेकपा एमालेको हो । कसैको पनि त्यहाँ भविष्य अन्धकार हुन सक्दैन । किनकि पार्टी एकता भयो त्यही एकता पक्षमै उभिएका हिजो माओवादी केन्द्रको नेताका रुपमा रहेका मान्छेहरू कसरी अलपत्र पर्छन् ? त्यो हुनै सक्दैन, हुँदै हुँदैन ।

अब अरू सच्चिनु पर्छ । एमालेको ढोका बन्द भएको छैन ।

दुवै पक्षबाट हुने आरोप प्रत्यारोप कम हुँदा एकताको मिलन बिन्दु नजिक भएको बुझ्न सकिन्छ ?

जुनसुकै अवस्थामा,जसले केपी ओलीलाई समाप्त पार्ने र उहाँलाई गलहत्याउने षडयन्त्र गरेका थिए । तिनले हामीले हिजो गल्ती गर्‍यौं, अब हामी नेकपा एमालेमै आउँदै काम गर्छौ भन्ने बित्तिकै स्वतः एकता हुन्छ ।

त्यो सम्भावना कति जगाएको छ पछिल्लो राजनैतिक घटनाक्रमले ?

एकदम त्यही दिशातर्फ अगाडी बढिरहेको छ । किनकि २ वर्ष अगाडिको घटनाक्रम सम्झनुस् न,त्यो बेला आज बेलुकी केपी ओलीलाई हटाउने बिहानै केपी ओलीलाई अटाउने योजना सुन्ने गरिएको थियो । अहिले त्यस्तो योजना त सुन्नमा आएको छैन । अब हामीलाई त्यहाँ भित्र स्पेस चाहियो भनेका छन् ।

इमानदारितापूर्वक लागेका सबैले यहाँ भित्र त ठाउँ त पाइहाल्छन् नि । शेरबहादुर तामाङ केहि दिन अघि कस्तो हुनुहुुन्थ्यो, अहिले हेर्नुहोस् त मन्त्री हुनु भएको छ । गणेश पहाडी अहिले मन्त्री हुनु भएको छ । पार्टीको पक्षमा उभिएकाहरूलाई त जिम्मा त दिने रहेछ नि पार्टीले ।

हिजो लेखराज भट्टले, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीले के को आधारमा जिम्मेवारी पाउनु भयो त ? पार्टीको पक्षमा उभिएका मान्छेहरूले जिम्मेवारी पाउँछन् ।

अब एमाले एकता भएमा त्यसको स्वरूप कस्तो हुन्छ ? हुबहु जेठ २ गतेको जस्तो ? वा केहि थपिने वा केहि घट्ने ?

केही मान्छेहरू जो हिजो नेकपा एमालेको विभिन्न समयमा विभिन्न तहका नेतहरू थिए ती सबै मान्छे नेकपा एमालेमा रहन्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।

को को रहँदैनन् त अब एमालेमा ?

हिजैदेखि फुट परस्त आत्मकेन्द्रित सोच भएका बहुमतको आधारमा पार्टी भित्र हालीमुहाली गरी आएका त्यो सम्भावना यहाँभित्र नदेखेपछि एउटा सानो पार्टी बनाएपछि त्यहाँको संस्थापन हुन पाइने भो नि त । त्यो सोच भएकाहरू यो पार्टीमा नरहन सक्छन् ।

नेपाल समूहभित्र पनि त एकता जोगाउनुपर्छ, एमाले बनाउनुपर्छ भन्नेहरू पनि त छ नि। सबै फुट बादी त होइनन् होला नि ?

हो । हिजो माधव नेपालको गुटमा रहेर केहि समयसम्म उहाँको पछि लागेका तमाम मान्छेहरूले पनि अर्काे पार्टी बनाउन सकिँदैन भनिरहेका छन् । अर्काे पार्टी बनाउँदा जनताले मान्दैनन् कार्यकर्ताले मान्दैनन् एमाले भित्रै रहेर बरु सैद्धान्तिक वैचारिक संघर्ष गरौं र केपी ओलीकै नेतृत्वमा हामी अघि बढ्नु पर्छ भन्नेहरूको संख्या अहिले एकदमै बढेर गएको छ ।

अर्काे कुरा केपी ओली ले त सबै कुरा मिलाउँछु भन्नु भएकै छ नि बाँकी के कुरा रह्यो र ? यति धेरै लचिलो ढंगले अगाडि बढ्दा पनि नमान्ने भएपछि जो फुटमा जान्छ त्यो फुटको पक्षमा हामी जाँदैनौँ भन्नेहरू बढेका छन् ।

त्यसैले पार्टीमै रहनेहरूको संख्या अधिकतम हुन्छ । पार्टी फोडेर जानेको संख्या अत्यधिक सानो हुन्छ । त्यो संख्या पनि भोलि विलीन भएर जान्छ । समाप्त भएर जान्छ । त्यसको कुनै पनि भविश्य देखिँदैन ।

तपाईंको निश्कर्षमा जे भएपनि एमाले पार्टी फुट्छ भन्ने नै हो ?

मैले त्यो प्रवृत्ति पनि देख्छु । त्यस्ता पात्र पनि देख्छु । त्यस्ता पात्र र प्रवृत्तिमा कुनै परिवर्तन नआएको हुनाले त्यो पात्र र प्रवृत्तिको लागि नेकपा एमालेका खासै स्थान पनि छैन ।

पार्टी फुटाउने अवस्थामा त संसदीय दल र पार्टीमा ४० प्रतिशत पुग्छ त ?

आफूले प्राप्त गरेको पद जोगाउनको लागि पो ४० प्रतिशत चाहिने हो । एउटा छुट्टै पार्टी बनाउनको लागि ४० प्रतिशत चाहिँदैन । तर त्यो गर्न सक्ने आँट पनि त छैन नि ।

त्यो गर्न सक्ने आँट नभएको हुँदा उहाँहरूले नेकपा एमाले भित्र कुनै घटनाहरू घटाएर, बबन्डर गरेर, मुद्दा बनाएर मान्छेलाई यहाँभित्र तिक्तता सृजना गर्ने त्यो हुँदा केहि मान्छे पक्षधर हुने उहाँहरूको बुझाइ छ ।

तिनै मान्छेहरूलाई लगेर हामी माथि अन्याय भयो भनेर केही समयमा लागि केही सजिलो हुन्छ भन्ने यहाँबाट मान्छे टुटाउन फुटाउन भन्ने ध्याउन्नमा हुनुहुन्छ उहाँहरू ।

तर, यसो गर्दा पनि उहाँहरूको पछाडि रहेका ८०/८५ प्रतिशत मान्छेहरू माधव नेपालसँग रहँदैनन् । भीम रावलहरु केही रहनसक्छन् ।


प्रतिक्रिया

One thought on “कर्ण थापाको दाबी- एमाले एकता हुन्छ तर माधव नेपाल र भीम रावल रहँदैनन् (अन्तर्वार्ता)

  1. यसको पनि किन अन्तरबार्ता लिएर बेकार मा समयको बर्बाद मात्र गर्नुहुन्छ ….
    अन्तरबार्ता त्यसको लिनुस जो सङ्ग के हि कुराको ज्ञान होस…..अनि हामी पाठकले पनि केही सिक्न पाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर