२५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड – Nepal Press

२५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को समूह चरण अन्तर्गत शुक्रबार राति तय भएको इङ्ल्यान्ड र स्कटल्यान्डबीचको भेट ठूला प्रतियोगितामा २५ वर्षपछि हुन लागेको हो । गारेथ साउथगेटको नेतृत्वमा रहेको इङ्ल्यान्ड स्कटल्यान्डलाई पराजित गर्दै एक खेल अगावै नकआउटमा स्थान सुरक्षित गर्न चाहन्छ ।

अर्कातिर स्कटल्यान्ड इङ्ल्यान्डलाई हराउँदै प्रतियोगितामा समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न चाहन्छ । इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० को नतिजामा पराजित गरेको थियो । स्टिभ क्लार्कको नेतृत्वमा रहेको स्कटल्यान्डले भने पहिलो खेलमा चेक रिपब्लिकसँग २–० को पराजय भोगेको थियो ।

नेपाली सयमअनुसार शुक्रबार राति १२ः ४५ बजे वेम्ब्लीमा हुने ११५औं भेटमा २२ हजार ५ सय समर्थकको उपस्थिति रहने छ । यद्यपि, प्रतिस्पर्धात्मक खेलमा भने यो १००औं भेट हुनेछ ।

ठूला प्रतियोगितामा यी दुई टोलीको अन्तिम भेट १९९६ को समूह चरणमा भएको थियो । उक्त खेलमा इङ्ल्यान्डलाई २–० गोलको नतिजामा जित दिलाउन एलेन सेरर र पौल ग्यासकोइग्नेले एक÷एक गोल गरेका थिए । उक्त खेलमा अहिले इङ्लिस टोलीका मुख्य प्रशिक्षक साउथगेट पनि खेलेका थिए ।

आजको खेल स्कटल्यान्डले लागि जित्नै पर्ने दबाब भने छैन । वेम्ब्लीमा पराजित भए पनि स्कटिस टोलीको समूह चरण पार गर्ने सम्भावना बाँकी रहने छ । पहिलो चरणबा समूह विजेता र उपविजेतासँगै राम्रो नतिजा भएका तेस्रो स्थानमा रहेर समूह चरण कटाएका ६ टोलीले पनि नकआउटमा स्थान बनाउने छन् ।

यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई पराजित गर्न सकेन तर क्रोएसियासँग तीन अंक बटुल्न सक्यो भने तेस्रो स्थानमा रहँदा अर्को चरणमा जान सक्ने सम्भावना बाँकी नै रहन्छ ।

इङ्ल्यान्डले थप तीन अंक हासिल गर्‍यो भने एक खेल अगावै अन्तिम–१६ मा स्थान सुरक्षित गर्नेछ । यदि इङ्ल्यान्डले जित निकाल्यो र क्रोएसियाले चेक गणतन्त्रलाई हराउन सकेन भने उनीहरू समूह विजेता बन्ने पनि निश्चित हुनेछ ।

दुवै प्रशिक्षकलाई खेलाडी छनोटमा द्वुविधा छ ?

चोटका कारण क्रोएसियाविरुद्धको पहिलो खेल गुमाएका म्यानचेस्ट युनाइटेडका डिफेन्डर ह्यारी म्यागुएर स्कटल्यान्डविरुद्धको खेलका लागि तयार रहेको बताइसकेका छन् । पहिलो खेलमा एस्टन भिल्लाका टायरोन मिङ्गस र जोन स्टोन्सले इङ्ल्यान्डको रक्षापंक्ति सम्हालेका थिए ।

यस्तै, लेफ्ट ब्याकमा केइरोन ट्रिपियरले स्थान बनाएका थिए । ‘योर्कशायरका पिर्लो’ अर्थात् लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सले क्रोएसियाविरुद्धको खेलमा सम्झनलायक प्रदर्शन गरेका थिए । उनले मिडफिल्डमा म्यासन माउन्ट र डेक्लान राइससँगै सुरुआती ११ मा स्थान बनाएका थिए ।

तर, एस्टन भिल्लाका प्लेमेकर ज्याक ग्रेलिस र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले स्कटल्यान्डविरुद्धको खेलमा स्थान बनाउने सम्भावना देखिन्छ । यस्तै, स्कटल्यान्डविरुद्ध फाइनल थर्डमा मार्कोस रासफोर्ड र जाडोन सान्चोले पनि स्थान बनाउन सक्नेछन् ।

अर्कातिर आर्सनलका केइरन टिर्ने टोलीमा फर्किएसँगै स्कटल्यान्डको टोलीमा ऊर्जा थपिएको छ । यद्यपि, स्कटिस गोलकिपर डेभिड मार्सलले चेक फरवार्ड प्याट्रिक शिकलृ गरेको दोस्रो गोलपछि सर्वव्यापी आलोचना बेहोरिरहेका छन् ।

शिकले गोलकिपर अगाडि बढेको अवस्थामा मैदानको बीचभागबाट प्रहार गरेका बलले सोझै जाली चुमेको थियो । उनलाई प्रशिक्षक क्लार्कले खेलाउनेमा धेरै शंका नभए पनि उनको स्थान क्र्याग गोर्डनले स्थान बनाउँदा आश्चर्य हुनेछैन ।

चेक टोलीविरुद्ध स्कटल्यान्डले १९ पटक गोलपोस्टमा प्रहार गरे पनि गोल गर्न असफल भएको थियो । चेक गणतन्त्रविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेर प्रभावशाली प्रदर्शन गरेका चे आडम्सले सुरुआती ११ मा स्थान बनाउने प्रवल सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर