धितोपत्र बोर्डको विज्ञप्तिपछि बजारमा कस्तो पर्‍यो प्रभाव ? – Nepal Press

धितोपत्र बोर्डको विज्ञप्तिपछि बजारमा कस्तो पर्‍यो प्रभाव ?

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घट्यो । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भनी धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमको सूचीमा राखेपछि लगानीकर्ता त्रसित बनेका थिए ।

यसैले साना लगानीकर्तालाई सेयरसम्बन्धी जानकारी दिने सोसल ग्रुपहरूमा ‘पेनिक सेल’ (आत्तिएर गर्ने बिक्री) नगर्न धेरै नै सुझाएका पनि थिए । तर, पनि बुधबारको बजारमा ५२ अंकको गिरावट आयो । र, फाइनान्स र हाइड्रोपावर कम्पनीका अधिकांश कम्पनीमा नकारात्मक सर्किट नै लाग्यो । धेरै लगानीकर्ताको अनुमान थियो कि बिहीबार पनि बजारमा ठूलो अंकको गिरावट आउने छ । तर, धितोपत्र बोर्डले विशेषगरी हाइड्रोपावर, फाइनान्स र बीमा कम्पनीका सेयर किन्न लगाएको लगामलाई लगानीकर्ताको उच्च मनोबलका कारण धेरैको अपेक्षाविपरीत बिहीबार सेयर बजार सम्हाल्यिो ।

बोर्डले जोखिम भनेकमध्ये धेरै कम्पनीको सेयरमा उत्साहजनक नै बढ्न पुग्यो । बोर्डले हाइड्रोपावरका २१ बीमाका १० र फाइनान्सलगायतका कम्पनीलाई सूचीमा राखेको छ । तर, बिहीबारको बजारमा खानीखोला, रसुवागढी, नेपाल फाइनान्स, सोल्टी होटल, आईएमई जनरल इन्स्योरेन्स, बरुण हाइड्रोपावर, एचपीसी, नागरिक लगानी कोष, हुर्जा हाइड्रोपावर, लिबर्टी इनर्जी, राधी हाइड्रोपावर, रिलाइन्स लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य दुईदेखि करिब ७ प्रतिशतसम्म बढेका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल धितोपत्रको विज्ञप्तिका बाबजुद पनि सेयर बढ्नुमा लगानीकर्ताको उच्च मनोबल नै भएको बताउँछिन् । ‘धितोपत्र बोर्डले त नियमन गर्नुपर्छ तर यसरी बजार बढेर ३ हजार पुगेपछि गर्ने होइन । यदि कम्पनी जोखिममा छ भने त एक वर्षअघि नै सचेत गराउनुपर्थ्यो । अहिले निकालेर हुन्छ,’उनको प्रश्न छ ।

बिहीबार बजार सामान्य हुनुले लगानीकर्ताहरू सुझबुझपूर्ण निर्णय लिन सक्षम छन् भन्नेसमेत देखाएको छ । लगानीकर्ता आफू सचेत हुन आवश्यक छ तर, आत्तिनु पर्ने अवस्था अहिले नभएको पोखरेलले नेपाल प्रेससँग बताइन् ।

लगानीकर्ताको स्वतन्त्रतालाई लगाम लाउन खोजिएको भन्दै धितोपत्र बोर्डको विज्ञप्तिमा स्वतन्त्र ऊर्जा उत्पादक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ तथा लगानीकर्ता संगठनलगायतले विरोध जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर