मुख्यमन्त्री असल हुनुहुन्छ तर विश्वासको मत दिन सकिँदैन : पृथ्वीसुब्बा गुरुङ – Nepal Press

मुख्यमन्त्री असल हुनुहुन्छ तर विश्वासको मत दिन सकिँदैन : पृथ्वीसुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवसरवादी गठबन्धनको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै गुरुङले सफल कार्यकालको शुभकामना दिएपनि विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । ‘मुख्यमन्त्रीजी गण्डकी प्रदेशसभाकै पाको, लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र शालीन व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगतरूपमा उहाँ असल भएपनि अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्छु’, गुरुङले भने । उनले तनहुँमा मुख्यमन्त्री पोखरेलको परिवारले राजनीतिक रुपमा गरेको योगदान उल्लेखनीय भएको बताए ।

संघीयता बलियो बनाउनकै लागि आफू मुख्यमन्त्री हुँदा काम गरेको भन्दै गुरुङले प्रदेश सरकारलाई आफूहरूले खबरदारी गर्ने बताए । ‘निरपेक्ष समर्थन वा निरपेक्ष विरोधको पक्षमा हामी छैनौं । सरकारले जनताको पक्षमा काम गरोस् हामी साथमा छौं । तर, गलत बाटोमा हिड्नुभयो भने हाम्रो झगडा पर्छ’, गुरुङले भने ।

उनले काठमाडौंको मानसिकता बोकेर प्रदेश सरकार चलाउन नसकिने भन्दै केन्द्रको ह्याङबाट मुक्त हुन मुख्यमन्त्रीलाई सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *