किन चाहियो बस्ती बगाउने विकास ? – Nepal Press

किन चाहियो बस्ती बगाउने विकास ?

नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । मनसुन सुरुवातसँगै देशका विभिन्न भुगोलमा बाढी, पहिरोसँगै डुबान भएको छ । बाढी तथा पहिरोका कारण धेरैको मृत्यु भयो भने सयौं घरवारविहीन भएका छन् । वर्सेनि नै बर्षायाम सुरु भएसँगै यो प्रकारको समस्या नेपालीले झेल्दै आएका छन् ।

हुनतः प्राकृतिक विपत्तिलाई मान्छेले रोक्न सक्ने कुरा होइन, तर सावधानी अपनाउने हो भने क्षतिलाई कम गर्न सकिन्छ ।

नेपालको भूबानोटका कारण पनि बर्षातको समयमा धेरै बाढी, पहिरो र डुबानको प्रकोप हुने गरेको छ । यहाँको अधिकांश भूगोल भिरालो भएकाले बर्षायाममा जमिन गल्ने पहिरो जाने गर्छ ।

बर्षायामको सुरु र मध्येतिर जमिन गल्ने र अन्त्यतिर झन् धेरै पहिलो जाने जोखिम हुन्छ । पहाडमा गएको पहिरोले नदीहरु थुनिन्छन् र ठूलो बाढीका रुपमा तराईमा पुग्छ । जसकारण तराई क्षेत्र डुबानमा पर्छ ।

पछिल्ला वर्षहरुमा बर्षायाम सुरु हुनेबित्तिकै बाढी पहिरो जान थालेको छ । यसको प्रमुख कारण देशको पहाडी भुगोलमा मनलाग्दी खनिएको सडक र पूर्वाधार विकास गर्दा वातावरणीय प्रभावको सही मूल्यांकन नहुनु नै हो ।

देशमा अहिले सडकसँग धेरै भौतिक पूर्वाधारहरु निर्माण भइरहेका छन् । एक हिसाबमा यसलाई विकास पनि मान्न सकिन्छ । तर यस्ता विकासले प्राकृतिक विपद् बढाइरहेको सत्यालाई नकार्न सकिँदैन ।

अहिले वर्सेनि तीनै तहका सरकारले देखिने विकासका नाममा मनलाग्दी सडक खनेका छन् । डोजर अपेटर नै इन्जिनियर भएर पहाड फोरिएको छ । जथाभावी डोजरको प्रयोगले जमिन थिलथिलो पारिएको छ । सडक खनेको माटो मनलाग्दी जंगलमा फालिएको छ ।

जसोतसो सडक खनिन्छ, तर न नाला काटिन्छ, न आवश्यक ठाउँमा पर्खाल लगाइन्छ । अनि जब बर्षा लाग्छ, पानीले माटो बगाउँछ, सडकमा पहिरो खस्छ । पहिरो र बाढीले खेतीयोज्य जमिन पुर्छ, बगाउँछ । बस्तीहरु नै खतरामा पर्छन् ।

जसकारण नदीमा बाढी आउँछ । बाढीपछि झन् ठूला पहिरो जान्छन् । नदी थुनिन्छन्, खोलिन्छन् । अनि समथर भूगागको जमिन र बस्ती डुबानमा पर्छ । आमनेपालीले वर्सेनि भोगिरहेको नियति हो यो ।

नेपालमा सडक निर्माणका लागि सय वर्षअघि भित्र्याइएको प्रविधिकै प्रयोग भइरहेको छ । त्यतिबेलाको परिस्थिति र अहिलको जमिनको स्थिति फरक छ । तर, सडक खन्ने प्रविधि र शैली उस्तै छ । अब नेपालले अहिलेको परिस्थिति सुहाउँदो प्रवधि र शैली अपनाउनु पर्छन । नत्र विकासका नाममा झन् धेरै विनाश हुने निश्चित छ ।

मान्छेहरु अनेक सुविधाका लागि पहाड छाडेर बेसी वा तराईतिर बसाई सर्ने क्रम बढ्दो छ । बसाई सर्दा नदी आसपासका क्षेत्रलाई अबरजस्त आवादी बनाइएको छ । नदी अतिक्रमण गरी घर बनाउनु वा बस्ती बनाउनुलाई उपलब्धी मानिन्छ । र, जब बर्षायाम सुरु हुन्छ, तब त्यहीं क्षेत्र डुबानमा पर्छ । नदी बस्तीमा भन्दा पनि बस्ती नदीमा पसेका कारण समस्या बढेको तर्क पनि भइरहेकै छ, जसमा धेरै हद सत्यता छ । नदीलाई आफ्नै बहावमा बग्न नदिएका कारण पनि समस्या भएको छ ।

बस्ती बसाउँदा वा सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा धरातल एवम् वातावरणमैत्री हुनु आवश्यक छ । यसका लागि राज्यस्तरबाट नीति नियम बनाएर नियमन हुन जरुरी छ । सँगै नागरिक पनि सचेत हुनु पर्दछ । नत्र बाढी, पहिरो र डुबानको समस्या झन्पछि झन् बढ्नेछ ।


प्रतिक्रिया

5 thoughts on “किन चाहियो बस्ती बगाउने विकास ?

  1. सत्य प्रकाश पार्नु भयो । हाम्रो नेेेेेेेपालमा जन उत्तरदायी सरकार कहिल्यै नबन्नु, जनताको पनि चेतनाको स्तर न्यून हुनुजस्ता कारणले हरेक वर्ष जनताले नै प्राकृतिक विपद् सहनुपरेको छ । थाहा छैन, यो परिस्थितिबाट हामी नेपालीले कहिले उन्मुक्ति पाउँने हो !

    1. we have to incorporate proper geological and engineering studies before we intervene with nature, current practise of our work especially from local bodies is a deceiving development. nice article.

  2. we have to incorporate proper geological and engineering studies before we intervene with nature, current practise of our work especially from local bodies is a deceiving development. nice article.

Leave a Reply to Govinda ojha Cancel reply

Your email address will not be published. Required fields are marked *