नेपाललाई हलिउडको सुटिङ गन्तव्य बनाउन पहल गर्छु : राजदूत खतिवडा – Nepal Press

नेपाललाई हलिउडको सुटिङ गन्तव्य बनाउन पहल गर्छु : राजदूत खतिवडा

लस-एन्जल्स । कोरोनाभाइरस महामारीको कारण नेपाल-अमेरिका फिल्म फेस्टिभल विहिबारदेखि भर्चुअलरुपमा सुरु भएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले भर्चुअलरुपमा फेस्टिभललाई शुभारम्भ गरे ।

नेपाल प्राकृतिक फिल्म स्टुडियो रहेको बताउँदै राजदूत खतिवडाले केही दिनअघि लस-एन्जल्स सहर भ्रमणमा जाँदा आफूले हलिउड फिल्म निर्माताहरुसँग भेट् गरेको स्मरण गरे ।

‘मसँगको भेटमा हलिउड फिल्म मेकरहरु नेपालमा छायांकनको लागि आकर्षित भएको पाएँ’ खतिवडाले भने, ‘नेपाललाई हलिउड फिल्मको छायांकन थलो बनाउन मैले पहल गर्नेछु ।’

आफू अर्थमन्त्री र संचारमन्त्री हुँदा नेपालमा फिल्म स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरेको बताउँदै राजदूत खतिवडाले अहिलेको बजेटमा पनि ती कार्यक्रमलाई समावेश गरिएको बताए ।

फेस्टिभलले नेपाली, भाषा, संस्कृति र सभ्यतालाई अमेरिकी डायस्पोरामा प्रवद्र्धन गर्न भूमिका खेल्ने आशा पनि राजदूत खतिवडाले व्यक्त गरे ।

मेरिल्यान्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले अमेरिकामा नेपाली संस्कृति र इतिहास जोगाउन आफू लागिपरेको बताउँदै नेपाली–अमेरिकी कथालाई समेटेर फिल्म बनाउन सुझाए ।

जुन १७ देखि २० सम्म चल्ने फेस्टिभलमा नेपालीसहित विभिन्न भाषाका ३० फिल्म प्रदर्शन हुने र प्रतिस्पर्धी फिल्ममध्ये उत्कृष्टलाई पुरस्कृत गरिने भएको छ ।

महामारीको समयमा पनि फिल्म संस्कृतिलाई जोगाउन फेस्टिभल महत्वपूर्ण हुने नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *