१० महिनाको वैदेशिक व्यापारः सोयाबिन तेलले उकास्यो निर्यात – Nepal Press

१० महिनाको वैदेशिक व्यापारः सोयाबिन तेलले उकास्यो निर्यात

व्यापार घाटा भने उकालो लाग्दै

काठमाडौं । कोरोना कहरपछि सरकारले अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । यातायातसँगै सहर, बजार बन्द छन् । तर, देशमा उपभोग्य वस्तुको आयात तथा निर्यात भने बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.३४ प्रतिशतले निर्यात बढेको हो । अघिल्लो आर्थिक वर्षको चैतसम्ममा ४.८१ प्रतिशत निर्यात घटेको थियो । त्यस्तै योबीचमा आयात पनि बढेको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा अघिल्लो वर्षको तुलनामा ३२.१९ प्रतिशतले आयात बढेको छ ।

कोरोनाका कारण अघिल्लो वर्ष कडा लकडाउन भएको थियो । त्यसबेला वस्तुको आयात र निर्यातमा उल्लेख्य कमी आएको थियो । त्यसैले यसपालीको आँकडा पोहोरभन्दा उत्साहजनक देखिएको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख रूपैयाँ बराबरको वस्तु नेपालबाट विदेश गएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ८२ अर्ब ६ करोड रूपैयाँको मात्रै वस्तु निर्यात भएको थियो ।

उक्त समयमा नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको थियो । तथ्यांकअनुसार ३५ अर्बको सोयाविन तेल निर्यात भएको थियो । त्यसपछि ५ अर्ब ९८ करोड बराबरको कार्पेट र ५ अर्ब ९७ करोडको अलैँची विदेश पठाइएको थियो ।

गत आर्थिक वर्षको वैशाख सम्ममा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने १२ खर्ब ५४ अर्ब ११ करोडको वस्तु आयात भएको छ । अघिल्लो वर्षको तुलनामा २ खर्ब २८ अर्ब ९७ करोडबढीको सामान नेपाल भित्रिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा सबैभन्दा धेरै ७० अर्ब ५६ करोड रुपैयाँको डिजेल आयात भएको छ । डिजेल आयातबाट सरकारले ४२ अर्ब ९८ करोड राजस्व उठाएको छ ।

दोस्रोमा स्टिल र फलामका कच्चा पदार्थ आयात भएको छ । सो समयमा ५७ अर्ब ३१ करोड रुपैयाँ बराबरको स्टिल र फलामका कच्चा पदार्थ आयात भएको हो । तेस्रो नम्बरमा साढे ३८ अर्बको सोयाविन तेलको कच्चा पदार्थ आयात भएको छ । त्यस्तै ३२ अर्ब रूपैयाँको मोबाइल फोन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

व्यापार घाटा उकालो

आयात-निर्यात बढे पनि चालु आर्थिक वर्षको १० महिनामा २१ प्रतिशतले व्यापार घाटा बढेको छ । गत आर्थिक वर्षको १० महिनामा ९ खर्ब ४३ अर्ब रूपैयाँ व्यापार घाटा थियो । यो वर्षको सोही अवधिमा भने व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ ।

कोरोना कहरबीच पनि नेपालको उत्पादन वृद्धि भएका कारण निर्यात बढेको बताउँछन्, व्यावसायी पवन गोल्यान ।

‘यो समयमा नेपालको उत्पादन १० प्रतिशतले बढेको छ’, उनी भन्छन्, ‘उत्पादन बढेपछि निर्यात बढ्ने कुरा स्वभाविक नै हो ।’

उनका अनुसार अहिले विश्व बजारमा नेपाली उत्पादनको माग बढ्दो छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले सरकारको नीतिअनुसार नै निर्यात वृद्धि भएको बताए । ‘सरकारले निजी क्षेत्रको कुरा बुझेर काम गरिरहेको छ । यो सरकार व्यापार घाटा कम गर्ने विषयमा निकै गम्भीर छ’, उनले भने, ‘व्यापार घाटा कम गर्न सरकारले निर्यात हुने वस्तुको सूची नै बनाएर उत्पादन बढाइरहेको छ ।’

उनले निर्यात भइरहेका वस्तुको परिमाण वृद्धि गर्ने र रोकिएका वस्तु पनि खुलाउने तयारीमा सरकार रहेको बताए ।

यो अवधिमा नेपालले पहिलोपटक एक खर्बभन्दा बढीको सामान निर्यात गरेको छ ।


प्रतिक्रिया

One thought on “१० महिनाको वैदेशिक व्यापारः सोयाबिन तेलले उकास्यो निर्यात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर