डोजर आतंकः विकासको नाममा विनाशको बाढी – Nepal Press

डोजर आतंकः विकासको नाममा विनाशको बाढी

‘डोजर आतंक’बाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव छ ?

चुरे, महाभारत क्षेत्रसँगै देशका विभिन्न ठाउँबाट ढुंगा, गिटी, बालुवा जस्ता प्राकृतिक स्रोत उत्खनन् तथा बिक्री गरी व्यापार घाटा घटाउने भन्ने सरकारी नीतिमाथि बहस भइरहेकै बेलाबीच नेपालमा बाढी तथा पहिरोले सताउन थालेको छ । मनसुनको सुरुवाती समयमै भएको बाढी पहिरो आतंकले आमनेपाली त्रस्त छन् । आगामी दिनमा हुनसक्ने क्षतिले देशबासी भयवीत छन् । यससँगै बाढी तथा पहिरोको कारणबारे पनि चर्चा सुरु भएको छ ।

पछिल्लो समयमा बढेको प्राकृतिक विपद्अन्तर्गत बाढी पहिरोको प्रकोप बढ्नुमा ‘डोजर आतंक’ प्रधान रहेको तर्क हुँदै आएको छ । हुन पनि दुई दशकदेखि विकासका नाममा प्रयोग भएको डोजरले अहिले आतंकको रुप लिएको छ ।

गाउँगाउँमा मनलाग्दी डोजर लगाएर भूबनोट नै खल्बलिने गरी सडक निर्माण भएका कारण बाढी तथा पहिरोको प्रकोपले उघ्र रुप लिएको हो । अहिले पानी धेरै परेर भन्दा पनि जमिन खल्बल्याएका कारण थोरै पानी पर्दा पनि धेरै पहिरो गएको हो ।

नेपालमा स्थापित विकासे अवधारणाले हिमालय क्षेत्रको अत्यन्त संवेदनशील धरातलीय स्वरुप, जटिल भू–बनोट, छरिएर रहेका बस्ती, जैविक विविधता र जीविकोपार्ननबीच स्थापित अन्योन्याश्रित सम्बन्धलाई आत्मासाथ गर्न सकेको छैन, जसकारण अहिलेको कहालीलाग्दो आएको हो ।

प्रकृतिलाई दोहन गरेर मात्रै प्रगति र समृद्धि पाइन्छ भन्ने गलत विकासे अवधारणा, भूकम्पले थिलथिलो पारेको जमिनमाथि चलाइएको डोजर आतंक, जलवायु परिवर्तनसंगै हिमालय क्षेत्रमा बढेको तापक्रम, परम्परागत जीवनयापनका तरिकालाई विस्थापित गरी भूमी, जंगल र नदी तटीय क्षेत्रमा फस्टाउँदो दलाल अर्थतन्त्रका माध्यमबाट ल्याइएका नकारात्मक परिवर्तन र अव्यवस्थित रुपमा जताततै भएको सहरीकरणका कारण नेपालमा बाढी पहिरोको खतरा झन् बढेको हो ।

नेपालमा स्थापित विकासे अवधारणाले हिमालय क्षेत्रको अत्यन्त संवेदनशील धरातलीय स्वरुप, जटिल भू–बनोट, छरिएर रहेका बस्ती, जैविक विविधता र जीविकोपार्ननबीच स्थापित अन्योन्याश्रित सम्बन्धलाई आत्मासाथ गर्न सकेको छैन, जसकारण अहिलेको कहालीलाग्दो आएको हो । प्राकृतिक स्रोत दोहनमा आधारित दलाल पुँजीवादी विकासलाई निरन्तरता दिने हो भने नेपालले झनै कठिन दिन भोग्नुपर्ने निश्चित छ ।

प्रकृतिको दोहन गरेर धन सिर्जना गर्नु नै विकास हो भन्ने अवधारणा युरोपियन सभ्यताको पछिल्लो चरणले गरेको हो । त्यहीं बेलादेखि प्राकृतिक स्रोतमा कब्जा जमाइ शक्तिशाली हुने नियतले संसारभर उपनिवेशको सुरुवात गरेका थिए । यसैलाई आधार बनाएर दास युगको सुरुवात गरे र धनले धन कमाउने उद्देश्यका साथ पुँजीवादको उदय भयो । त्यसकारण गरिब जनता र प्राकृतिक स्रोतको दोहनबाट नै पुँजविादी विकास हुन्छ भन्ने विचार विकसित हुन पुग्यो । यही अवधारणालाई हालसम्म विकास भन्ने बुझिएको छ ।

प्रकृतिको पूजा गर्ने, डाँडापाखा, खोलानालालाई नै देवता मान्ने आदिबासीहरु को बसोबास भएको देश पनि हो यो । तर त्यस्ता मान्छेहरुले आफ्नो समाज विकासका लागि भने प्राकृतिक दोहनलाई रोज्नु आश्चर्यको विषय हो ।

प्राकृतिक स्रोतलाई कच्चा पदार्थको रुपमा मात्रै बेच्ने अथवा प्राकृतिक स्रोतको विनास हुने गरी विकासका गतिबिधि गरेका कुनै पनि देशमा शुख, शान्ति, समृद्धि हासिल भएको छैन ।

प्रकृतिको दोहनलाई प्राथमिकता दिएका देशमा कि लडाईं भएका छन्, कि कसैको अर्ध–उपनिवेश अवस्थामा बस्नु परेको छ । वा, गरिबी बढेर गएको छ, भोकमरी र पराधिनता चुलिएको छ । नेपालले त्यस्ता देशबाट सिक्न ढिला गर्नु हुँदैन ।

नेपालमा भने अनौठो भएको छ । सांस्कृतिक रुपमा प्रकृतिसँगै हिमालय शृंखलालाई नै आफ्नो मुख्य केन्द्र ठान्ने र प्राकृतिक छँटालाई स्वर्गको उपमा दिने हिन्दू संस्कारवालाहरुको बाहुल्य रहेको देश हो, नेपाल । प्रकृतिलाई ज्ञानको स्रोत मान्ने र प्रकृतिको नियमबाट चल्नु र प्रकृतिमा समाहित हुनु नै मोक्ष हो भन्ने बुद्ध जन्मेको देश हो, नेपाल । प्रकृतिको पूजा गर्ने, डाँडापाखा, खोलानालालाई नै देवता मान्ने आदिबासीहरु को बसोबास भएको देश पनि हो यो । तर त्यस्ता मान्छेहरुले आफ्नो समाज विकासका लागि भने प्राकृतिक दोहनलाई रोज्नु आश्चर्यको विषय हो ।

प्राकृतिक दोहन गरेर पुँजीवादी विकास गर्ने कुरा भौगोलिक रुपमा मात्रै होइन, संस्कृतिक र जीवनशैलीका हिसाबले उपयुक्त होइन । तर दिनभर डोजरले पिपलको रुख लडाउने अनि बेलुका बुद्धको फोटोमा धूप बाल्ने दलाल सँस्कारमा पुगेका कारण विनास पनि बढ्दो छ ।

राणाकालदेखिकै समस्या

प्रकृतिलाई दोहन गर्ने पश्चिमा विकासे अवधारणा राणाकालदेखि भित्रिन थालेको हो । पश्चिमालाई धपाएर नेपाललाई मौलिक ढंगको विकासबाट अघि बढाउनु पर्छ भन्ने पृथ्वी नारायण शाहको दिव्य उपदेशबाट निर्देशित नेपालमा बेलायतीहरुका लागि सुराकी अथवा चाकरी गर्ने जंगबहादुर राणालाई सत्तामा पुगेको केही समयभित्रै बेलायत घुमाएर नेपालमा पश्चिमा विकास भित्र्याउने कुराको थालनी भएको थियो । चारकोशे झाडीको दोहन त्यहीं बेलादेखि सुरु भएको हो ।

२००७ सालदेखि २०४६ सालसम्मको अवधिमा नेपाललाई विकासे सहयोगको कालखण्ड भन्दा पनि हुन्छ र यो बेला नेपाली जनतालाई पश्चिमा विकासको अवधारणामा अभ्यस्त बनाउने र यो खाले विकासलाई धर्म जसरी नै सबैले मानुन् भन्ने ढंगले विकास गरियो ।

तर २०४६ सालपछिको राजनीतिक परिवर्तनलाई आधार बनाएर उदार अर्थतन्त्रको नाममा नेपालमा अहिलेको कालखण्डलाई दलाल पुँजिवादी विकासे कालखण्ड भन्न सकिन्छ । प्राकृतिक स्रोतको दोहनलाई पहिलो प्राथमिकतामा राखेर निजी अथवा पुँजीपति दलालको हातमा अर्थतन्त्र रहने गरी यो विकासको कालखण्ड अघि बढेको छ । यो दोहन कालखण्डले तलदेखि माथिसम्म जरा गाड्न सफल भएको छ । र, प्राकृतिक स्रोत र वातावरणलाई भन्दा तिनीहरुको दोहनलाई मुख्य उद्देश्य राखेर विकास योजनाहरु बन्ने गरेका छन् ।

आतंका मतियार जनप्रतिनिधि

यहीं कालखण्डमा डोजर आतंक शक्तिशाली भएको हो । यो आतंकको नेतृत्व डोजर कम्पनी, ठेक्केदार, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षहरु, वडा अध्यक्षहरु, पालिका पधाधिकारी सबैको जालो मिलेर बनेको छ । यो अवस्था सिर्जना गर्ने र निरन्तरता दिने काम चाहिँ छिटो भन्दा छिटो प्रगति देखाउनु पर्ने मन्त्रीहरु, प्रदेश सरकारहरु र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले गरेका छन् । र यो विशाल सञ्जालको रुपमा स्थापित भइसकेको छ ।

राजनीतिकर्मीहरुमा डोजर कुदाएपछि मात्रै भोट पाइन्छ भन्ने भ्रम छ । सँगसँगै डोजर चलाउँदा आएको फाइदाले नै अर्को चुनाव लड्ने आकांक्षा पनि छ । यो आतंकले वातावरण विनास मात्रै होइन, सामाजिक, राजनीतिक र आर्थिक रुपमा दलालतन्त्रलाई नै स्थापित गरिदिएको छ । सामाजिक बिखण्डन बढाएर नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा ठूलो खाडल निर्माण गरिदिएको छ ।

हामीले विकास योजनाहरु निर्माण गर्दा नदी तथा जलाधार क्षेत्र एवम् उत्तर दक्षिण कोरिडोरको आधारमा गर्ने चलनको सुरुवात हुन आवश्यक छ । अन्यथा माथिल्लो क्षेत्रमा भत्किने र तल्लो क्षेत्र पुरिने क्रम जारी रहन्छ ।

डोजर आतंकले दिर्घकालीन निर्माण कहिल्यै गरेन, भत्काउने मात्रै काम गरेकोले सरकारी बजेट ‘बालुवामा पानी’ हाले सरह भएको छ ।

अब नेपालले वैकल्पिक विकासको बाटो रोज्नै पर्छ । अरु देशले जे गरे, त्यस्तै हामीले गर्नुपर्छ भन्ने होइन । नजिकैको भुटानले भने अलि फरक ढंगको विकासको अवधारणा अघि सारेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा दलालतन्त्र, डोजर आतंक र प्रकृतिको दोहनले प्राप्त हुँदैन । यो नारा भित्र वैैकल्पिक विकासको अवधारणा लुकेको छ तर त्यो व्यवहारतः लागू भएको छैन ।

हामीले विकास योजनाहरु निर्माण गर्दा नदी तथा जलाधार क्षेत्र एवम् उत्तर दक्षिण कोरिडोरको आधारमा गर्ने चलनको सुरुवात हुन आवश्यक छ । अन्यथा माथिल्लो क्षेत्रमा भत्किने र तल्लो क्षेत्र पुरिने क्रम जारी रहन्छ । जैविक क्षेत्र अथवा ‘इको रिजन’का आधारमा विकासे योजना बनाए वातावरणमा पर्ने असर कम गर्न सकिन्छ ।

त्यस्तै निश्चित भूगोलका आधारमा विकासका योजनाहरु अघि बढाउनु पर्छ । जस्तै, भिरालो जग्गा भएको ठाउँमा सडकभन्दा केवुलकार प्रभावकारी हुन्छ । जसले क्षति कम गर्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराको आशय एकोहोरो पैसा आर्जन गर्ने पश्चिमा प्रणालीको पुँजीवादभन्दा समग्र हिसाबले सद्भावयुक्त, वातावरणमैत्री र साँस्कृतिक एवम् प्राकृतिक हिसाबले सुसम्पन्न नेपालको परिकल्पना गरेको छ । जुन डोजर आतंकको अन्त्यपछि मात्रै सम्भव छ ।

त्यसैगरी नेपाल जस्तो देशले जमिन फुटाएर खानीजन्य कच्चा पदार्थ (ढुंगा, गिटी) भारत निकासी गर्नु आत्मघाती हुन्छ । चुरेदेखि महाभारतसम्म त्यस्ता चलाउने कुरा क्षणिक फाइदाका लाई दीर्घकालीन असर निम्त्याउनु हो ।

माथिल्लो भेगमा जमिनको सतह खनेर ढुंगा खानी संचालन गर्दा ठूलो परिणाममा माटो निकाल्नुपर्ने हुन्छ । जुन माटोलगायत अन्य बस्तु बगेर भित्री मधेस तथा तराईमा जम्मा हुन्छ । पहाडमा ठूलाठूला पहिरो जाने, खेतीयोग्य जमिन बग्ने र जलाधारलाई क्षति पुग्नुका साथै तराईमा जमिन पुरिने समस्या उत्पन्न हुन्छ ।

र, ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराको आशय एकोहोरो पैसा आर्जन गर्ने पश्चिमा प्रणालीको पुँजीवादभन्दा समग्र हिसाबले सद्भावयुक्त, वातावरणमैत्री र साँस्कृतिक एवम् प्राकृतिक हिसाबले सुसम्पन्न नेपालको परिकल्पना गरेको छ । जुन डोजर आतंकको अन्त्यपछि मात्रै सम्भव छ ।

हामीले अब विकासको मोडेल परिवर्तन नगर्ने हो भने ठूला झन् ठूला विपत्तिको सामना गर्नुपर्ने निश्चित छ । अब पनि डोजर आतंकलाई निरन्तरता दिनु आत्माघाती हुनेछ ।

प्रतिक्रिया

One thought on “डोजर आतंकः विकासको नाममा विनाशको बाढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *