काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : करमा विशेष छुट (भिडियो) – Nepal Press

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : करमा विशेष छुट (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड- १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड -१९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोभिड – १९ प्रभावितलाई करमा छुट दिइने बताएका हुन् ।

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ ।

महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, करदाताहरू तथा सार्वजनिक नीजि साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

कोभिड – १९ बाट प्रभावित होटल, पर्यटन जस्ता व्यवसायलाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको काठमाडौं महानगर विशेष अस्पताल निर्माण गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिने पनि जनाइएको छ ।

त्यस्तै विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइने पनि प्रवक्ता डंगोलले बताए । कोभिड – १९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि उनले बताए ।

महानगरपालिकाले विद्युतिय सवारी करमा शतप्रतिशत छुट, महानगरबासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक नमुना विद्यालय कार्यक्रम, सम्पदा संरक्षणमा प्राथमिकता, नाकामा भेइकल क्लीनिङ सेन्टर स्थापना लगायतका कार्यक्रमहरु पनि ल्याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर