मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो – Nepal Press

मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

काठमाडौं । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको छ । उनीहरु दुवै चिनियाँ हुन् ।

बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण  पाेखरेलले नेपालप्रेसलाई बताए ।

उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको उनले जानकारी दिए ।

उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।

सीडीओ नेपालका अनुसार आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन छन् ।
उनले भने, ‘अझै पनि केही कामदार बेपत्ता भएको खबर आएकाले खोजी कार्य तीव्र पारिएको छ ।’

हेलम्बु गाउँपालिका- १ आम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली सम्पर्कविहीन भएका थिए । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी धुलिखेल र काठमाडौं अस्पतालमा राखिएकोे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

मंगलबार परेको अविरल वर्षाका कारण हेलम्बुको आयोजनाभन्दा माथि पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको संरचनामा क्षति पुगेको छ ।

आयोजना नजिकैको मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो भने आयोजनामै कार्यरत कामदारहरु बाढीमा फसेका थिए । बाढीका कारण मेलम्ची बजारको दुईसय भन्दा बढी घरहरु डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर