उपमेयरसहित कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कार – Nepal Press

उपमेयरसहित कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेको छ ।

महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियसभामा बोलाइएको थियो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्‍मा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

‘नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको छ । महानगरवासीलाई नि:शुल्क खोप दिने , कर घटाउने लगायतका हाम्रो प्रस्तावलाई बाइपास गरिएकोले नगरपरिषद् बहिष्कार गरेका हौं’, उपप्रमुख खड्गीले नेपाल प्रेससँग भनिन् ।

नगरपरिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ ।

‘कार्यपालिकाबाट पारित भएको कार्यक्रममात्रै नगरपरिषदमा पेश गर्ने कानूनी व्यवस्था उल्लघंन भएको छ । बहुमतको बलमा महानगरवासीलाई अपमान गर्ने काम भएकोले हामी बहिष्कारमा उत्रिएका हौं’, काठमाडौं महानगरको १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालले भने ।

कांग्रेसका जनप्रतिनिधिहरूले महानगरवासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्धको खोप खरिद गरेर उपलब्ध गराउनुपर्ने , वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाईमा क्रियाशील बनाउनुपर्ने , करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर