अमेरिकी र चिनियाँ कम्पनीबाट ९० लाख डोज खोप ल्याउने सरकारको तयारी – Nepal Press

अमेरिकी र चिनियाँ कम्पनीबाट ९० लाख डोज खोप ल्याउने सरकारको तयारी

परराष्ट्रमन्त्री भन्छन् : मंसिर ३ गतेसम्म सबैलाई खोप लगाउँछौं

काठमाडौं । सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भएको जनाएको छ ।

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले बताए ।

‘जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज ल्याउन विश्व बैंकलाई भनेका छौं । यो खरिदमा सरकार सहभागि हुँदैन’ मन्त्री महासेठले भने, ‘सरकारले विश्व बैंकलाई रिक्वेस्ट गरेको छ ।’

४५ दिनभित्र खोप दिन सरकारले भनेको तर, जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको जानकारी समेत महासेठले दिए । साथै, नन-डिस्क्लोजर सहमतिअनुसार चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु हुन लागेको जानकारी समेत उनले दिए ।

प्रक्रिया सुरु गर्न स्वास्थ्य मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले चीनसँग खोप खरिदका लागि सहमति प्रस्तावलाई अनुमोदन गर्ने सम्भावना रहेको जनाइएको छ । मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।

सरकारले इजरायलसँग पनि खोप खरिदका लागि संवाद गरिरहेको महासेठले जानकारी दिए । आगामी मंसिर ३ गतेभित्र सबै नेपाली नागरिकलाई दुबै डोज खोप लगाउने सरकारको योजना रहेको महासेठले जनाए । सबै नेपाललाई खोप लगाउन अढाइ करोड खोज आवश्यक पर्न सक्ने र खरिद गर्नुपर्ने उनले जनाए ।

खोप खरिदमा केही सातामै ब्रेकथ्रु : राष्ट्रपति कार्यालय

राष्ट्रपति कार्यालयले पनि केही सातामै खोप खरिदबारे ब्रेकथ्रु हुने बताएको छ । राष्ट्रपतिका संचारविज्ञ टीका ढकालले केही साताभित्रै पत्राचार गरिएका मुलुकबाट खोप खरिदबारे निर्णय हुने सम्भावना रहेको नेपाल प्रेसलाई बताए ।

राष्ट्रपतिले यसअघि भारत, चीन, रुस र अमेरिकी समकक्षीलाई खोप आपूर्तिमा विशेष पहल गर्न आग्रह गरेकी छिन् । जसअनुसार चीनले १० लाख डोज उपलब्ध गराएको छ । राष्ट्रपतिले बेलायती महारानीलाई समेत पत्र लेखेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर